स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको रिपोर्ट नेगेटिभ/पोजिटिभ जे आए पनि सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन दिएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसअघि नेगेटिभ आए मात्रै व्यक्तिलाई दिइने गरेकोमा अबबाट जे आए पनि सम्बन्धित व्यक्तिलाई नै दिन सबै प्रयोगशालालाई आग्रह गरेका हुन्।
‘योभन्दा अगाडि रिपोर्ट नेगेटिभ आएको खण्डमा व्यक्तिलाई र पोजिटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा पठाउने गरिएको थियो’, प्रवक्ता गाैतमले भने, ‘अब आइन्दा पोजिटिभ/नेगेटिभ जे आए पनि उक्त रिपोर्ट सम्बन्धित व्यक्ति वा बिरामीलाई नै दिन आग्रह गर्दछौँ।’
उनले पहिला सबै संक्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका र अहिले निर्देशिकामा होम आइसोलेसन पनि थप गरेपछि र धेरै संक्रमित पनि घरमै आइसोलनमा बसेका कारण ल्याबले सिधै जानकारी गराउने निर्णय भएको जानकारी दिए।
उनले ल्याबले सम्बन्धित बिरामीलाई सिधै जानकारी गराउने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित बिरामीलाई सम्पर्क गरेर थप व्यवस्थापन गर्ने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया