समाज


कोरोना खोप : कहिलेसम्म बजारमा आउला र मूल्य कतिसम्म पर्ला?

कोरोना खोप : कहिलेसम्म बजारमा आउला र मूल्य कतिसम्म पर्ला?

नेपालखबर
भदौ २१, २०७७ आइतबार ३:१२,

सबभन्दा पहिले गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना भाइरस तीव्र गतिमा विश्वभर फैलियो।

जसले अहिलेसम्म संसारका २ करोड ६६ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ भने तीमध्ये ८ लाख ७५ हजारभन्दा बढी बिरामीको त ज्यानै लिइसकेको छ। तर अहिलेसम्म यसलाई निर्मूल पार्ने कुनै खोप उपलब्ध भइसकेको छैन।

यही वर्ष अगस्ट ११ मा रुसले कोरोनाविरुद्ध विश्वमै पहिलो खोप दर्ता गराएको छ। जसको नाम  स्पुत्निक-५ राखिएकाे छ। खोप अत्यन्त प्रभावकारी रहेको भन्दै रुसले विश्वको पहिलो सफल खोप यही भएको दाबी पनि गरेको छ।

तर कतिपय देशका विज्ञले रुसले अगाडि हुन तेस्राे चरणकाे परीक्षण नै नगरी हतारहतार खाेप घोषणा गरेको भन्दै यसको प्रभावकारितामा शंका व्यक्त गरिरहेका छन्। तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खाेप स्वास्थ्य सुरक्षाका सबै मानकमा खराे उत्रिएकाे र आफ्नी छाेरीलाई समेत लगाउँदा परिणाम राम्राे प्राप्त भएकाे दाबी गरिरहेका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अहिले विश्वका ३४ कम्पनीले कोरोनाविरुद्ध खोप निर्माण गरिरहेका छन्।

जसमध्ये ७ वटा खोप तेस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल) मा पुगेका छन् भने तीनवटा खोप दोस्रो चरणको परीक्षण तहसम्म पुगेका छन्। डब्लूएचओका अनुसार अन्य १४२ कम्पनीले पनि कोरोना खोप बनाइरहेका छन् र ती अहिले प्रि-क्लिनिकल चरणसम्म मात्र आइपुगेका छन्।

डब्लूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनका अनुसार अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको तथा एस्ट्रजेनेका कम्पनीले ठूलो मात्रामा उत्पादन गरिरहेको खाेप नै अहिलेसम्मको सबैभन्दा उन्नत खोप हो।

स्वामिथानले सन् २०२१ को मध्यसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताएका छन्। तर कतिपय वैज्ञानिकसमेत आम सर्वसाधारणले केही महिनाभित्रै खोप उपलब्ध हुने आशा गरेका छन्। 

तर अर्काे चिन्ता के भइरहेको छ भने खोपको मूल्य कति पर्ला? उता वैज्ञानिकलाई चिन्ता छ- कोरोना भगाउन खाेप कतिपटक लगाउनुपर्ला?

खोपको मूल्यबारे अहिलेसम्म प्राप्त जानकारी 

एस्ट्रजेनेकाले उत्पादन गरेको खोप
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप उत्पादन गरिरहेको एस्ट्रजेनेका कम्पनीले नाफा नकमाईकन सकेसम्म कम मूल्यमा खोप उपलब्ध गराउने प्रयास भइरहेको बताएको छ। गत महिना कम्पनीका प्रमुखले ल्याटिन अमेरिकामा खोपको मूल्य प्रतिडोज ४ डरलभन्दा कम नै हुने जानकारी दिएका थिए।

भारतमा यो खोप ठूलो मात्रामा उत्पादन गरिरहेको सिरम इन्स्टिच्युटले भारतलगायत विकासशील मुलुकका लागि खोपको मूल्य तीन डलर (नेपाली ३५२ रुपैयाँ) जति पर्ने जानकारी दिएको छ।

यस्तै इटलीको स्वास्थ्य मन्त्रालयले युरोपमा यसको मूल्य प्रतिडोज २.५ युरोसम्म पर्ने बताएको छ।

यो खोप उपलब्धताका लागि अस्ट्रेलियाले पनि उत्पादक कम्पनी एस्ट्रजेनेकासँग गत अगस्टमै सम्झौता गरिसकेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले खोप आफ्ना सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।

सनोफीकाे खोप
फ्रान्सको सनोफी कम्पनीका प्रमुख ओलिवियर बोगिलोटले शनिबार आफ्नो कम्पनीले विकास गरेको कोरोना खोपको मूल्य प्रतिडोज १० युरो (नेपाली रुपैयाँ १४४०) भन्दा कम हुने जानकारी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार बोगिलोटले फ्रान्स इन्टर रेडियोसँग भनेका छन्, ‘अन्तिम मूल्य निर्धारण भइसकेको छैन। हामी आगामी महिना खोप उत्पादनमा लाग्ने लागतको आकलन गर्दै छौं। खोपको मूल्य १० युरोभन्दा कम नै हुने अनुमान गरेका छौं।’

चिनियाँ कम्पनी साइनोफार्मको खोप
चीनको औषधि कम्पनी साइनाफार्मका प्रमुख लिउ जिङगजेनले गत महिना आफ्नो कम्पनीले विकास गरेको खोपको तेस्रो चरणको परीक्षण पूरा भइसकेको जानकारी दिएका थिए। उनले खोप छिट्टै एक दिन बजारमा आउने र यसको दुई डोजको मूल्य १००० चिनियाँ युआन (नेपाली रुपैयाँ १६ हजार) भन्दा कम पर्ने बताएका थिए।

जानकारका अनुसार स्वास्थ्यकर्मी र विद्यार्थीलाई भने खोप निःशुल्क दिने तयारी छ। यो खोपको दुई डोज कम्पनीका प्रमुख लिउले नै लिइसकेको र यसको कुनै साइडइफेक्ट नदेखिएको उनले जानकारी दिएका छन्।

मडर्नाको खोप
गत अगस्टमा क्याम्ब्रिजस्थित मडर्ना कम्पनीले आफूले उत्पादन गरेको खोप महामारीलाई विचार गरी प्रतिडोज ३३ देखि ३७ डलरसम्म (नेपाली रुपैयाँ ४ हजार) सम्म पर्ने जानकारी दिएको छ।

कम्पनीका कार्यकारी प्रमुख स्टिफन बान्सेलले खोपको मूल्य सकेसम्म कमभन्दा कम गर्ने बताएका छन्। उनले भनेका छन्, ‘यो महामारीका बेला सबैले खोप पाउनुपर्छ। यसकारण मूल्य बाधक बन्नु हुँदैन।’

फायर्सफार्मामा प्रकाशित खबरअनुसार फाइजर र बायोएनटेक कम्पनीले आफूले उत्पादन गरेको खोप अमेरिकी सरकारलाई प्रति डोज १९.५० डलरमा बिक्री गर्ने योजना छ, जसमा ६० देखि ८० प्रतिशतसम्म फाइदा हुन सक्छ।

यो खोपको दुई सुरुवाती डोज र एक बुस्टर डोज दिन आवश्यक हुन्छ र यसका लागि सर्वसाधारणले ४० डरलसम्म तिर्नुपर्ने हुन सक्छ। 

याे पनिचीनले विकास गरेको कोरोना खोपको अन्तिम परीक्षण गराउन थप चार देश सहमत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad