इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना बुबा अयातोल्लाह अली खामेनीको रगतको बदला 'कुनै हालतमा लिइने' बताएका छन्।
मोज्तबाको नाममा जारी लिखित सन्देशमा युद्धको पहिलो दिन फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा मारिएका अली खामेनीको खुनको बदला लिइने उल्लेख गरिएको छ।
पूर्वसर्वोच्च नेता अलि खामेनीको अन्त्येष्टिमा उपस्थित सबैलाई धन्यवाद दिँदै उनले आफ्नो सन्देशमा भनेका छन्, 'हामी तपाईंको शुद्ध रगत र यी दुई युद्धका सबै सहिदहरूको रगतको बदला यी अपराधी र कुख्यात हत्याराहरूबाट लिने प्रतिज्ञा गर्छौं। यो बदला हाम्रा जनताको माग हो र यो कुनै पनि हालतमा लिइनेछ।'
आफ्नो पछिल्लो सन्देशमा मोज्तबा खामेनीले भनेका छन्, 'हामीसँग यी अपराधीहरूको पूर्ण सूची छ। तितिनीहरूले बुझ्नुपर्छ- यो कुरा केवल म वा अन्य अधिकारीमा निर्भर गर्दैन। हामी बाँचौँ वा नबाँचौँ, यो काम गरिनेछ। चाँडै नै विश्वभरका स्वतन्त्रताप्रेमी मानिसहरूले यो जिम्मेवारीको आफ्नो हिस्सा लिनेछन्।'
यस्तै उनले इरानी जनताले इमाम हुसेनको रगतको बदला लिने पनि उल्लेख गरेका छन्।
आफ्ना बुबाको मृत्युपछि इरानका सर्वोच्च नेता बनेका मोज्तबा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्।
उनी न त अली खामेनीको अन्त्येष्टिमा उपस्थित भए न त कुनै भिडिओ वा अडिओ सन्देशमा स्वयं उपस्थित भएका छन्।
अहिलेसम्म उनको नाममा केवल अरूले लिखित सन्देश जारी गरिरहेका छन्।
Shares

प्रतिक्रिया