समाज


पहिरोमा परेर दुवै खुट्टा भाँचिएका जीवनको उपचारमा भैरहवाका संघ-संस्थाको सहयोग

पहिरोमा परेर दुवै खुट्टा भाँचिएका जीवनको उपचारमा भैरहवाका संघ-संस्थाको सहयोग

प्रकाश न्यौपाने
भदौ ९, २०७७ मंगलबार ६:५०,

आर्थिक अभावमा उपचार नपाएर अस्पतालको बेडमा छट्पटाइरहेका प्यूठान नौबहिनी गाउँपालिका–८, फप्ली गौराचोकका १३ वर्षीय जीवन कुमार पुनको उपचारका लागि भैरहवामा क्रियाशील सामाजिक संघ-संस्थाले सहयोग गरेका छन्।

पहिरोमा परेर दुवैखुट्टा भाँचिएका जीवनको आर्थिक अभावकै कारण भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा १२ दिनदेखि उनको खुट्टाका अपरेसन हुन सकेको छैन।

यस विषयमा सोमबार नेपालखबरमा नयाँ लुगा फेर्ने धोकोसँगै दुवै खुट्टा लग्यो पहिरोले, आर्थिक अभावमा अस्पतालमा छट्पट्याउँदै जीवन   समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशित भएलगत्तै सामाजिक संस्थाहरुले आर्थिक सहयोग गरेका हुन्।

जीवनको अब दुबै खुट्टाको अपरेसन हुने भएको छ। जीवनको उपचारका लागि भन्दै तीन वटा लायन्स क्लबले १ लाख २१ हजार रुपैयाँ पीडित परिवारलाई सहयोग गरेका छन्।

मंगलबार बिहान लायन्स क्लब अफ सिद्धार्थनगरले ५१ हजार, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस र लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले ३५÷३५ हजार रुपैयाँ अस्पतालमा पुगेर जीवनका बाबु कर्णबहादुरलाई सहयोग गरेको हुन्।

‘करिब दुई हप्तादेखि आर्थिक अभावमा उपचार नपाएको थाहा पाएपछि हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका हौं’, लायन्स क्लब अपफ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने, ‘पैसाकै कारण कलिला बालबालिकाको ज्यान नजाओस् भन्नेमा हामी सचेत छौं।’

आचार्यले आफूहरुले भैरहवा क्षेत्रका सामाजिक संघसंस्थासँग सहकार्य गरेर उनको उपचारको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने जनाए। ‘अहिले सहयोगी हातहरु बढीरहेका छन्। यदि अझै पनि उपचारमा रकम अभाव भयो भने हामीले थप सहयोग गर्छौं’, उनले भने, ‘जीवनको उपचारका आर्थिक अभाव हुन दिँदैनौं।’

जीवनको उपचारमा अस्पतालले करिब ४ लाख रुपैयाँ लाग्ने जनाएको छ। आर्थिक अभाव भए पछि उनको लामो समय अपरेसन हुन सकेको छैन। अब भने अपरेसन गरिने अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए। बाबु कर्णबहादुरले गरिबीकै कारण आफ्नो छोराको उपचार हुन नसकिरहेका बेला सामाजिक संघसंस्थाको सहयोगले छोराले नयाँ जीवन पाउने बताए।

‘अब छोराको उपचार हुन्छ भन्नेमा ढुक्क भए। लामो समय बगीरहेका आँसु थामिए’, नेपालखबरसँग कुरा गर्दै उनले भने। साउन ३० गते घरबाट तीजका लागि नयाँ कपडा खरिद गर्न भन्दै बाबुछोरा प्यूठानको बाहाने बजार जाने क्रममा बाटोमाथिको लम्पुक भीरबाट पहिरो खस्दा ढुंगाले लागेर जीवनको दुईवटा खुट्टा भाँच्चिएका हुन्।

यस्तै, जीवनको उपचारमा जेसीआई सिद्धार्थ नेपाल, स्व। कमलापति–गंगादेवी स्मृति प्रतिष्ठान, लिलाराम माविका भूपू विद्यार्थी (२०४४) समूहले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। देशैभरबाट सहयोगको प्रतिबद्धता आइरहेको कर्णबहादुरले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .