आज (शुक्रबार) देशका थोरै स्थानमा वर्षा भए पनि धेरै स्थानमा घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा घाम लाग्ने सम्भावना छ।
‘वर्षा हुने ठाउँमा पनि दिनभर भइरहने हुँदैन, बीचबीचमा घाम पनि लाग्ने सम्भावना छ,’ शुक्रबार बिहान मौसमविद् पौडेलले नेपालखबरसँग भने, ‘आज दिउँसो वर्षाको सम्भावना खासै छैन।’
उनका अनुसार प्रदेश १, २, गण्डकी, ५ र सुदूरपश्चिम प्रदेशमा एक वा दुई स्थानमा भने अहिले बिहान हल्का वर्ष भइरहेको छ। रातिदेखि जारी वर्ष अब कम हुँदै गएको छ।
‘आज दिउँसो काठमाडौं उपत्यका पनि हल्का वर्षा हुने सम्भावना छ, तर त्यो सम्भावना कमै छ,’ उनले भने, ‘पानी परिहाले पनि दिनभर पर्दैन, घाम पनि लाग्छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भने भारी वर्षा हुने सम्भावना पनि छ।

प्रतिक्रिया