झण्डै डेढ वर्षअघि नै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले नेपालका टेलिकम अपरेटरहरूले 'रिस्क' नलिने हो भने व्यापार ध्वस्त हुने चेतावनी दिएका थिए।
व्यापारको रणनीति नफेर्ने हो भने एनसेलसँगै सरकारी स्वामित्वको नेपाल टेलिकमको व्यावसायिक भविष्य पनि दीगो बन्न नसक्ने उनको भनाइ थियो।
समग्र दूरसञ्चार क्षेत्रको विस्तार ज्यादै सुस्ताएको भन्दै कायुमोभले 'बिजनेस स्ट्र्याटेजी' तत्काल बदल्ने जोखिम लिन प्रतिस्पर्धी टेलिकमलाई समेत उनले आग्रह गरेका थिए।
नेपालका टेलिकम अपरेटरहरू दिनानुदिन असफलतातर्फ उन्मुख भइरहेको भन्दै लोकप्रिय बनेर व्यापार निरन्तर गुमाउने हो कि अप्रिय बनेर व्यवसाय जोगाउने उनको प्रश्न थियो।
दूरसञ्चार कम्पनीहरूको घट्दो ओजलाई जोगाउन राज्यले अपेक्षाकृत हस्तक्षेप नगरेको अनुभूति गर्दै उनकै नेतृत्वमा एनसेलले भारतमा सफल हुँदै गएको 'सब्स्क्रिप्सन मोडल' लागू गर्ने निधो गरेको थियो। झण्डै डेढ वर्षपछि सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि प्रिपेड ग्राहकहरूका लागि सब्स्क्रिप्सन बेस्ड मोडलअन्तर्गत अब विभिन्न प्याकेज उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारको १०० दिने कार्यसूचीको बुँदा नम्बर २ अन्तर्गतको डेलिभरी-बेस्ड गभर्नेन्ससम्बन्धी प्रतिबद्धताअनुसार नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीसहितका लागि सब्स्क्रिप्सन बेस्ड मोडलअन्तर्गत विभिन्न प्याकेज उपलब्ध गराउने घोषणा गरेका छन्।
‘यस व्यवस्थाअन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय (सब्स्क्राइभ) गरिरहनुपर्ने आवश्यकता रहने छैन’, मन्त्री तिम्सिनाले भने।
भारतका टेलिकम अपरेटरहरूको कुल आम्दानी सन् २०२४ को तुलनामा सन् २०२५ मा १०.७२ प्रतिशतले वृद्धि भएको छ। टेलिकम उद्योगको ग्रस रेभिन्यु (एजीआर) सन् २०२४ मा ३९ अर्ब २२ करोड अमेरिकी डलर रहेकामा सन् २०२५ मा वृद्धि भएर ४३ अर्ब ४२ करोड डलर पुगेको भारतीय दूरसञ्चार क्षेत्रको नियामक टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डियाले जनाएको छ।
सन् २०१९ देखि २०२३ सम्म भारतीय अपरेटरहरूको मोबाइल बजार ११२ प्रतिशतले वृद्धि भएको थियो। जसमा मुख्यगरी भारतका तीन ठूला अपरेटरहरूको योगदान थियो। भारतले लामो अवधिको प्लान भएका प्याकेजमा आधारित सब्स्क्रिप्सन मोडल सञ्चालन गरिरहेको छ। प्याकहरूको मूल्य मुद्रास्फीतिमा आधारित रहने भएकाले यसले भारतका टेलिकम अपरेटरको दीगो विकासमा टेवा पुर्याइरहेको छ।
२८ दिनभन्दा बढीका प्याकेजमा आधारित सब्स्क्रिप्सन मोडल सञ्चालन गर्दा यसले भारतका टेलिकम अपरेटरहरूको प्रतिग्राहक औसत आम्दानी (एआरपीयू) बढाउन भूमिका खेलेको छ। प्राप्त जानकारीअनुसार भारतीय बजारमा टेलिकम कम्पनीहरूले ३०० नेपाली रुपैयाँबाट सुरु हुने प्याकेज बिक्री गर्दा नेपालमा भने औसत नेपाली प्रयोगकर्ताको मोबाइलमा हुने खर्च जम्मा १८० रूपैयाँ छ।
विद्युत्, खानेपानी, फोहोरदेखि फाइबर इन्टरनेटको शुल्क मासिकदेखि वार्षिक तिर्ने गरिएको छ। यदि बिल भुक्तानी नगरे निश्चित जरिवाना लाग्नेदेखि सेवाबाट वञ्चित हुनुपर्छ। यदि नेपालको टेलिकम बजार जोगाउने हो भने यही किसिमको निरन्तर आम्दानी हुने ‘सब्स्क्रिप्सन प्लान’ अपरिहार्य हुने अपरेटरहरूले महसुस गरिरहेका छन्।
एनसेलले सब्स्क्रिप्सनमा आधारित साप्ताहित वा मासिक प्याक मोडलले मोबाइल उद्योगको दीगो विकासमा सहयोग पुर्याउँदै फाइभजीमा लगानी गर्न अपरेटरहरूलाई सघाउ पुग्ने बताउँदै आएको छ।
एनसेलले साप्ताहिक वा मासिक सब्स्क्रिप्सनमा आधारित मोडलको प्रभावकारी कार्यान्वयन गर्न सके टेलिकम उद्योगको वार्षिक आम्दानी ४० प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिसकेको छ। हाल एनसेल र नेपाल टेलिकमको वार्षिक आम्दानी निरन्तर ओरालो लागिरहेको छ। अझ टेलिकम त निरन्तर सञ्चालन घाटामा चलिरहेको छ।
यस्तोमा सब्स्क्रिप्सन मोडलले मोबाइल उद्योगकै वित्तीय पुनर्संरचनामा सहयोग गर्ने र फाइभजी लगानीमा अपरेटरहरूलाई सघाउ पुग्ने अपेक्षा छ।
फाइभजीका लागि प्रत्येक मोबाइल अपरेटरलाई आगामी तीनदेखि पाँच वर्षसम्म वार्षिक २० अर्ब रुपैयाँ चाहिने अनुमान छ। एनसेलले सब्स्क्रिप्सनमा आधारित मोडल कार्यान्वयन सन्तोषजनक हुन थालेपछि कम दिनहरू जस्तै १ वा ३ दिनका प्याकेजलाई हटाएर साप्ताहिक वा मासिक प्लान मात्रै सञ्चालन गर्ने रणनीति बनाएको छ।
हाल इन्टरनेट सेवा प्रदायकहरूले बिक्री गरिरहेको इन्टरनेट सेवा जस्तै, मोबाइल अपरेटरहरूले पनि त्यही मोडलमा सेवा बिक्री गर्न खोजिरहेका छन्।
यस्तो छ टेलिकमको सब्स्क्रिप्सन बेस्ड प्याकेज
टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्स्क्रिप्सन बेस्ड मोडलअन्तर्गतका विभिन्न प्याकेज आइतबारबाट सञ्चालनमा ल्याएको छ।
यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय गरिरहनु पर्दैन। सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटकदेखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुने टेलिकमले जनाएको छ।
टेलिकमले यसका लागि ३० दिन समयावधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ। यस अन्तर्गत २९९ रुपैयाँमा ‘नमस्ते रिकरिङ २९९’ प्याक उपलब्ध हुनेछ। यसमा ३०० मिनेट सबै नेटवर्कमा कल गर्न सकिने अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने चार जीबी डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने दुई जीबी नाइट डेटा तथा कम्पनीको नेटवर्कमा मात्र पठाउन सकिने २० वटा अन–नेट एसएमएस उपलब्ध हुने टेलिकमले जनाएको छ।
त्यसैगरी ४९९ रुपैयाँमा ‘नमस्ते रिकरिङ ४९९’ प्याक उपलब्ध हुनेछ। यसमा ५०० मिनेट अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने आठ जीबी डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने चार जीबी नाइट डेटा तथा सबै नेटवर्कमा पठाउन सकिने १०० वटा अल–नेट एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ।
७९९ रुपैयाँमा ‘नमस्ते रिकरिङ ७९९’ प्याक उपलब्ध हुनेछ।
यसमा सबै नेटवर्कमा असीमित रुपमा कल गर्न सकिने सुविधा भएको अल–नेट भ्वाइस, प्रतिदिन प्रयोग गर्न सकिने १० जीबी अर्थात मासिक ३०० जीबी डेटा र ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ।
यसैगरी, उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकता अनुसार एड–अन प्याकेज समेत उपलब्ध गराउने टेलिकमले जनाएको छ। सो प्याकेज अन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी र ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डेटा उपलब्ध हुनेछ।
एनसेलले भने महिनाभर झन्झटरहित अनलिमिटेड मोबाइल कनेक्टिभिटीका लागि उत्तम विकल्प भन्दै रिन्यूअल प्याक सधैं अन सञ्चालन गरिरहेको छ।
Shares

प्रतिक्रिया