समाज


उपत्यकाका चारै यातायात कार्यालयमा चालक अनुमतिपत्र वितरण राेकियाे

उपत्यकाका चारै यातायात कार्यालयमा चालक अनुमतिपत्र वितरण राेकियाे

नेपालखबर
साउन २०, २०७७ मंगलबार १०:६,

काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन। कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो। कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गारो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताए।

उनका अनुसार काठमाडौं उपत्यकामा संक्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभर्‍याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन्।
उनले भने, ‘उपत्यकामा कोभिड कम नभएसम्म तत्काल सञ्चालन गर्ने अवस्था छैन।’

कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो। त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो। चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उनको भनाइ छ।

नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ। कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ।

उनले भने, ‘सामान्य अवस्थामा ५०० को नवीकरण भएकामा अहिले त्यसको आधा गरिएको हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad