समाज


सोमबार रातिदेखि ४ दिन ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सोमबार रातिदेखि ४ दिन ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

नेपालखबर
साउन ११, २०७७ आइतबार १:३७,

भोलि अर्थात् सोमबार रातिदेखि कम्तीमा चार दिन फेरि ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबारट जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको हो।

‘साउन १२ गते (सोमबार) रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ,’ महाशाखाले शनिबार नै जारी गरेको विशेष मौसमी बुलेटिनमा भनिएको छ, ‘त्यसैले ती स्थानका नदी खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

अघिल्लो हप्ता पनि देशभर लगातार झरी तथा भारी वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो। तर न्यून चापीय रेखा नेपालबाट केही टाढा दक्षिण सरेपछि केही दिनयता वर्षा केही कम भएको थियो।

तर सोमबार रातिदेखि त्याे रेखा पुनः नेपाल नजिक रहने भएकाले वर्षा बढ्ने सम्भावना देखिएको मौसमविद् गंगा नगरकोटीले बताइन्।

अझ यसपटक अरब सागरबाट जलवाष्पयुक्त हावासमेत प्रशस्त मात्रामा भित्रिने भएकाले वर्षा निकै हुने अनुमान गर्न सकिन्छ।

आजचाहिँ कस्तो छ, वर्षाको सम्भावना?
मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले (आइतबार बिहान) बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। तर काठमाडौंमा उपत्यकामा भएको छैन।

आज दिउँसो पूर्वदेखि पश्चिमसम्मै सबै प्रदेशका थोरै थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

‘आज दिउँसोलाई भारी वर्षाको भने सम्भावना देखिएको छैन,’ आइतबार बिहान मौसमविद् नगरकोटीले नेपालखबरसँग भनिन्, ‘राति भने प्रदेश १ र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad