समाज


सातौं शताब्दीको प्रविधिबाटै काष्ठमण्डप पुनःनिर्माण हुँदै

सातौं शताब्दीको प्रविधिबाटै काष्ठमण्डप पुनःनिर्माण हुँदै

शर्मिला पाठक
साउन ११, २०७७ आइतबार २:३१,

ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ। विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको काष्ठमण्डपमा शनिबार धलिं (मुख्य दलिन) राखिएको छ।

धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ। श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजासम्पन्न भएको हो।

धलिं पूजामा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको सहभागिता रहेको थियो। सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित हुने र निर्माण/पुनःनिर्माणको काम तीव्रगतिका साथ अघि बढाउने जानकारी दिए।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट विनियोजन गरेको छ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनःनिर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। विसं २०७५ वैशाखबाट काष्ठमण्डप पुनःनिर्माणको शुरु भएको हो । अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने बताए।

महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै काष्ठमण्डप पुनःनिर्माण भइरहेको छ। ‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ,’ शाक्यले भने, ‘जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ।’

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनःनिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड दिएको छ।

२०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ। यो ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ। निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्छ। सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको हो।

किम्बदन्ती अनुसार बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएका थिए। सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad