समाज


परीक्षा प्रणालीमा सुधार: समयमै नतिजा प्रकाशनदेखि अनलाइनबाटै एनओसी

परीक्षा प्रणालीमा सुधार: समयमै नतिजा प्रकाशनदेखि अनलाइनबाटै एनओसी

नेपालखबर
असार ११, २०८३ बिहिबार १७:५२, काठमाडौँ

शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ। 

मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा १२ तथा विश्वविद्यालय स्तरीय परीक्षाका नतिजा विगतको तुलनामा निकै छिटो प्रकाशन हुन थालेका छन्। जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको देखिएको मन्त्रालयको दाबी छ। 

सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया र परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्नेदेखि डिजिटल सुशासनको अवधारणलाई प्रभावकारी कार्यान्वयनमा लगेको मन्त्रालयले जनाएको छ। विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको हो।

सरकारका शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. २ समेटिएको शिक्षा मन्त्रालयअन्तर्गतको मुख्य काममा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षा सम्पन्न भएको मितिले दुई महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको थियो। उच्च शिक्षातर्फ विश्वविद्यालय तथा सीटीईभीटीले पनि परीक्षा सम्पन्न भएको करिब दुई महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार काम गरिरहेका छन्। केही विश्वविद्यालयमा पदाधिकारी रिक्तताका कारण निर्णय कार्यान्वयनमा चुनौती देखिए पनि अधिकांश शैक्षिक संस्थाले कार्यपालिका अनुसार काम गरिरहेको मन्त्रालयको भनाइ छ ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. २ बमोजिमको मुख्य १० कार्यको प्रगति विवरण मन्त्रालयले अद्यावधि गरेको छ। त्यसैअनुसार, २०८२ सालको एसईईको नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको छ। यसअघि नतिजा प्रकाशनमा लामो समय लाग्दा विद्यार्थी र अभिभावक अन्योलमा पर्ने गरेका थिए।

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४५ दिनमै सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूमा नतिजा प्रकाशन गर्न करिब तीन महिना लाग्ने गरेको थियो। यसलाई परीक्षा व्यवस्थापनमा आएको सकारात्मक परिवर्तनको उदाहरणका रूपमा मन्त्रालयले प्रस्तुत गरेको छ।

डिजिटल सुशासन प्रवर्द्धनअन्तर्गत वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रक्रियालाई थप सहज बनाउन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपीआई लिंक स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसबाट विद्यार्थीको भौतिक उपस्थितिको आवश्यकता घट्ने अपेक्षा गरिएको छ। हाल काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्यांक प्रणालीसँग एपीआई लिंक स्थापना गरिएको छ। 

यससँगै समकक्षता प्रमाणपत्रको भेरिफिकेसन प्रक्रिया पनि छिटो बनाइएको छ। आवश्यक कागजात पूरा भएका आवेदकलाई आवेदन दिएको दिनमै प्रमाणपत्र उपलब्ध गराउन थालिएको मन्त्रालयले जनाएको छ। यसका लागि पहिले दुईदेखि तीन दिन लाग्ने गरेको थियो।

शिक्षकको क्षमता विकासका लागि ‘सिकाइ चौतारी’ मोबाइल एप सञ्चालनमा आएको छ। एपमार्फत शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण प्राप्त गरिरहेका छन्। 

परीक्षा प्रणाली, डिजिटल सेवा तथा प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाउन सहयोग पुगेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad