अभ्यास फायरिङका क्रममा एक्कासि ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक जना हुद्दाको मृत्यु भएको छ भने एक जना सहसेनानी घाइते भएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतका अनुसार कैलालीको मोहन्याल गाउँपालिका-७ स्थित जंगलमा अभ्यासका क्रममा घटना भएको हो। हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको बस्नेतले जानकारी दिए।
उनको दाहिने हात तथा शरीरमा छर्रा लागेका थिए। गम्भीर घाइते उनलाई तत्कालै लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो। उपचारका क्रमै उनको मृत्यु भएको सेनाले जनाएको छ।
सुदूरपश्चिम पृतना तालिम शिक्षालय गाराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोली अभ्यास रहँदा घटना भएको हो। घटनामा परी सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनी विस्फोट भएको स्थान नजिकै थिए।
प्रवक्ता बस्नेतका अनुसार लम्की अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल पुर्याइएको छ।
Shares

प्रतिक्रिया