गत साता चितवनकी १७ वर्षीय किशोरीले जब आफ्नै भिडियो पोर्न साइटमा देखिन्। उनी छाँगाबाट खसेजस्तै भइन्। आफ्नो यस्तो भिडियो कसरी पुग्यो त्यो साइटमा? अपलोड कसरी भयो?
ती किशोरी अत्तालिँदै प्रहरीको साइवर ब्युरोमा पुगिन्।
नेपालमा पोर्न साइटहरु कानुनी रुपमा बन्द छन्। तर प्राविधिक रुपमा पूर्ण बन्द भने हुन सकेको छैन। केही साइटहरु अहिले पनि खुल्छन्।
पोर्न साइट दर्ता गर्न नेपालमा प्रतिबन्ध रहेको अवस्थामा नेपालीले चलाएको साइटमा भिडियो अपलोड कसरी भयो? प्रहरी पनि छक्क परे। ती किशोरीको जाहेरीपछि प्रहरीले अनुसन्धान गर्दै गयो, साइट दर्ता अमेरिकामा तर सञ्चालन भने नेपालबाटै भएको पाइयो।
ती किशोरीसँग सोधपुछ, र साइबर ब्युरोको प्राविधिक अनुसन्धानपछि खुल्यो, साइट नेपालबाटै सञ्चालन भइरहेको छ।
जाहेरी परेको एक सातापछि काठमाडौंको गोंगबुमा पोर्न साइट चलिरहेको प्रहरीले पत्ता लगायो। गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई प्रहरीले पक्राउ गर्यो।
श्रेष्ठले अमेरिकामा डोमेन दर्ता गरेर नेपालबाटै भिडियोहरु अपलोड गरेको प्रहरीले पत्ता लगाएको छ।
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले भने, ‘साइटमा धेरै भिडियोहरु अपलोड छन्, केही सक्कली, कोही कपि गरेका भिडियोहरु अपलोड गरेको देखिन्छ, थप अनुसन्धान गर्दैछौं।’
‘साइटमा अपलोड भएका पोर्न भिडियोहरु धेरैजसो नेपाली नै छन्’, उनले भने, ‘प्रविधिको प्लेटफर्म नेपाल बाहिर, पीडित र पीडक नेपाली नै छन्।’
डोमेन सञ्चालनका लागि सर्भरको रकम क्रेडिट कार्डबाटै तिर्ने गरेको पाइएको छ।
‘कतिपयले आफ्नो भिडियो अपलोड भएको थाहा नपाएका होलान्, तर पीडित हुन सक्छन्’, अर्यालले भने।
श्रेष्ठ पक्राउ परेसँगै थप प्रमाणहरू खुल्दै जाने एसएसपी अर्यालले बताए।
श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
Shares

प्रतिक्रिया