नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् सहयोग लिने सम्झौता अघि बढाउँदा चीनको संशय बढेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले एमसीसीकै कारण अमेरिका पनि अहिलेको सरकारसँग सन्तुष्ट हुन नसकेको बताए।
‘एससीसी, एमसीसी भनेको छ। त्यसले चीनको संशय बढेको छ। एमसीसीको विषयमा उता अमेरिकासँग पनि राम्रोसँग कुरा गर्न सकिएको छैन,’ खनालले सो कार्यक्रममा भने।
अमेरिकाको एमसीसी कार्यक्रममार्फत् सहयोग लिने सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ नेकपाभित्र चर्को विवाद भएको छ। महिनौंदेखि सो विवाद जारी छ।
विवादकै कारण माघमा भएकोे केन्द्रीय कमिटी बैठकले खनालकै संयोजकत्वमा पार्टीले एउटा कार्यदल गठन गरेको थियो। सो कार्यदलले एमसीसीलाई संशोधनसहित पारित गर्न सुझाव दिएको थियो।
एक वर्षअघि अनुमोदनका लागि संसद पुगेको एमससीसी सम्झौता नेकपाभित्रको विवादकै कारण सदनमा प्रस्तुत हुन सकेको छैन।
सोमबारको कार्यक्रममा खनालले छिमेकी देशहरु (भारत र चीन) सँग सम्बन्ध सुमधुर बनाउनुपर्ने औंल्याए।
‘छिमेकी देशसँग सम्बन्ध सुमधुर राख्नुपर्छ, अन्य देशसँग पनि सम्बन्ध राम्रो बनाउनु पर्छ। असंलग्न नीति छाड्नु हुँदैन,’ खनालले भने, ‘छिमेकीसँग सम्बन्ध बिगार्न थालियो भने ठूलो समस्या आउँछ।’
खनालले आफ्नै पार्टीको सरकारले अहिले मित्रराष्ट्रहरुसँग सम्बन्ध राम्रो बनाउन नसकेको आरोप लगाए।

प्रतिक्रिया