मंगल ग्रहमा यही महिना तीन देशले अन्तरीक्षयान पठाउने भएका छन्। अमेरिका, चीन र यूएईले अनुसन्धानका लागि मानवरहित यान पठाउन लागेका हुन्।
एकै पटक यी तीन देशले यान पठाउनुको कारण हो– मंगल र पृथ्वी सबैभन्दा नजिक आउँदै छन्। जसले गर्दा समय र इन्धनको बचत हुन्छ। यस्तो मौका २६ महिनापछि मात्र आउने गर्छ।
यूएईले अमाल नामक यान पठाउँदैछ, जसको अर्थ हो–आशा। बुधबार जापानबाट प्रक्षेपण गरिने सो यान यूएई स्थापनाको ५० औँ वर्षगाँठमा मंगलको कक्षमा पुग्नेछ र त्यसलाई परिक्रमा गर्नेछ। यद्यपि यो अवतरण भने गर्नेछैन।
त्यसपछि जुलाई २३ तिर चीनले एउटा रोभर मंगल ग्रहको सतहमा पठाउँदैछ। यो मिसनलाई तियानवेन नाम दिइएको छ– अर्थात् स्वर्गलाई प्रश्न।
नासाले भने जुलाई ३० मात्र ६ चक्के रोभर पठाउँदैछ, जसको नाम छ– पर्सभेरेन्स, अर्थात् दृढता। सो रोभरले मंगलबाट चट्टानका नमुना संकलन गरेर करिब एक दशकपछि पृथ्वीमा ल्याउनेछ।
यी तीन वटै यान ४८.३ करोड किलोमिटर यात्रा गरेर २०२१ को फेब्रुअरीमा मंगलमा पुग्नेछ। वैज्ञानिकहरु यी अभियानका माध्यमबाट अर्बौँ वर्षअघि मंगलग्रह कस्तो थियो भन्ने जान्न चाहन्छन्। त्यसबेला मंगलमा नदी, ताल र समुद्र थिए। त्यसबेला सूक्ष्म जीवको अस्तित्व भएको हुनसक्ने आकलन गरिएको छ। तर, पछि सो ग्रह मरुभूमिमा परिणत भयो।
पर्सभेरेन्स मिसनका लागि अमेरिकाले करिब ३ अर्ब डलर खर्च गर्दैछ। यूएईले आफ्नो प्रक्षेपणका लागि मात्र करिब २० करोड डलर खर्चिंदैछ। चीनले भने खर्च विवरण सार्वजनिक गरेको छ। यसपटक युरोप र रुसले पनि यान पठाउने योजना थियो। तर, समयमै परीक्षण सम्पन्न हुन नसकेका कारण र त्यसपछि कोरोना महामारीका कारण सो योजना स्थगित गरिएको छ।
मंगल ग्रहबारे बुझ्ने चाहना मानिसमा धेरै पहिलेदेखि देखिन्छ। तर, त्यहाँसम्म पुग्ने धेरैजसो अभियान असफल भएका छन्। कतिपय यानहरु विस्फोट भएका, आगलागी भएका र दुर्घटनामा परेका छन्। रुस र चीनले २०११ मा पठाएको यान असफल भएको थियो।
हालसम्म अमेरिका मात्रै मंगलमा सफलतापूर्वक यान उतार्न सफल भएको छ। त्यो पनि ८ पटक। उसले सन् १९७६ मा पहिलो पटक यान पठाएको थियो। नासाका दुई ल्यान्डर अझै मंगल ग्रहमा छन्। ६ वटाले मंगललाई परिक्रमा गरिरहेका छन्। तीमध्ये तीन वटा अमेरिका, दुई युरोपेली र एउटा भारतीय हुन्।
अब चीन र यूएई पनि यो क्लबमा सामेल हुनेछन्। एपी
Shares

प्रतिक्रिया