समाज


कोरोनाविरुद्धको खोपका लागि शक्तिराष्ट्रबीच होडबाजी, नेपालमा कहिले आउला?

कोरोनाविरुद्धको खोपका लागि शक्तिराष्ट्रबीच होडबाजी, नेपालमा कहिले आउला?

नेपालखबर
असार २८, २०७७ आइतबार १०:१६,

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ। कडा लकडाउन, व्यापक परीक्षण गरी भाइरस नियन्त्रण गरिएका मुलुकमा समेत महामारीको दोस्रो, तेस्रो लहर चल्ने भय व्याप्त छ। जबसम्म भाइरसलाई रोक्ने खोप उपलब्ध हुँदैन, तबसम्म जनजीवन पूर्ववत् बन्न नसक्ने विज्ञहरु बताउँछन्। त्यसैले खोप निर्माणका लागि विभिन्न मुलुकबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल २१ वटा खोप ‘क्लिनिकल’ परीक्षणको चरणमा प्रवेश गरिसकेका छन्। त्यसबाहेक पनि १ सय ३९ वटा खोप परीक्षणमा छन्।

कोरोनाविरुद्धको खोप विकासमा खासगरी चीन, अमेरिका र बेलायतबीच प्रतिस्पर्धा देखिएको छ। जसमध्ये चीन सबैभन्दा अगाडि छ। मानिसमा परीक्षण थालिएका १९ खोपमध्ये ८ वटा चीनका हुन्। तीमध्ये सबैभन्दा अगाडि सिनोभाक र क्यानसिनोका खोप छन्।

हाल तेस्रो चरणको परीक्षणमा दुई वटा खोप मात्रै छ। एउटा चीनको सिनोफार्मको खोप र अर्को अस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले संयुक्त रुपमा विकास गरेको खोप।

सिनोभाकको खोप यही महिना अन्तिम चरणको परीक्षणमा प्रवेश गर्ने तेस्रो खोप बन्नेछ। चाँडो खोप तयार गर्न चीनले सिनोफार्म र सिनोभाकको पहिलो र दोस्रो चरणलाई एकीकृत गर्ने अनुमति दिएको छ।

विश्वभर ५ लाख बढीको ज्यान लिइसकेको कोरोनाको खोप तयार गर्न चीनमा राज्य, सेना र निजी क्षेत्रले हातेमालो गरेका छन्। खोप विकास गर्न अमेरिकामा पनि राज्यले निजी क्षेत्रसँग सहकार्य बढाएको छ। तर, राज्यको नियन्त्रण बलियो रहेकोले चीनमा छिटो नतिजा देखिएको हो। उदाहरणका लागि चीनमा राज्यको स्वामित्वमा रहेको एउटा संस्थाले दुई महिनाभित्र दुई वटा खोप उद्योग निर्माण गरिसकेको छ। हाल कोरोना नियन्त्रणमा रहेकाले ठूलो संख्यामा परीक्षणका लागि संक्रमित छैनन्। तर, राज्यका संस्था तथा सेनाले आफ्ना स्टाफमा परीक्षणको अनुमति दिएको छ।

अहिले परीक्षणका चरणमा अग्रपंक्तिमा रहेका अन्य खोप निर्माताहरुमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको मोडेर्ना र जर्मनीको क्योरभाक छन्।

प्रविधि
खोप निर्माणमा चीनले अपनाएको प्रविधि पुरानो हो भने पश्चिमा मुलुकले अपनाएको प्रविधि बिल्कुल नयाँ। चीनमा मानव परीक्षणमा रहेका ८ मध्ये ४ वटा ‘इनएक्टिभेटेड’ खोप हुन्। अर्थात्, कोरोना भाइरसलाई नै निष्क्रिय बनाएर खोपका रुपमा शरीरमा पठाउने तरिका हो यो।

यो तरिका विगतमा धेरै वटा खोप बनाउन प्रयोग भइसकेको छ। हेपाटाइटिस ए, इन्फ्लुएन्जा र पोलियोको खोप यही प्रविधिबाट बनेका हुन्। यसलाई सरल प्रविधि मानिन्छ। प्रयोगशालामा भाइरस हुर्काइन्छ। ताप अथवा रसायनको प्रयोग गरेर भाइरसको वृद्धि हुने क्षमता नष्ट गरिन्छ र शरीरमा लगाइन्छ।

तर, अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको जोनसन एन्ड जोनसनले एडेनोभाइरस खोप विकास गरिरहेका छन्। अर्कोतर्फ अमेरिकाको मोडेर्ना कम्पनीले एमआरएनए खोप बनाइरहेको छ। यी प्रविधि नयाँ हुन्, जसबाट उत्पादित कुनै पनि खोप हाल बजारमा उपलब्ध छैनन्।

अमेरिकाको अर्बौँ लगानी
अमेरिकाले खोप विकासकै लागि सरकारी तहबाट ठूलो पहल गरिरहेको छ। ‘अपरेसन वर्प स्पिड’ नाम दिइएको अभियानमार्फत सरकारले हालै खोप विकासमा लागेका कम्पनीहरुलाई सहयोग उपलब्ध गराएको छ। जसमध्ये नोभाभ्याक्स नामक कम्पनीले १.६ अर्ब डलर सहयोग पाउने भएको छ। अर्को वर्षको सुरुवातसम्म १० करोड खोप निर्माणका लागि सो सहयोग गरिएको हो। नोभाभ्याक्स मेरिल्यान्डस्थित कम्पनी हो, जसले हालसम्म कुनै पनि उत्पादन बजारमा ल्याएको छैन। यसले पनि देखाउँछ, खोप निर्माणका लागि अमेरिका कति आतुर छ।

यससँगै अमेरिकाको संघीय सरकारले कोरोनाविरुद्धको खोपको खोजीमा विभिन्न कम्पनीमा ४ अर्ब डलर खर्च गरिसकेको छ। यो रकम जम्मा ६ कम्पनीमा गएको छ। बेलायती औषधि निर्माता अस्ट्राजेनेका, जो अक्सफोर्डसँग मिलेर खोप बनाइरहेको छ, लाई अमेरिकाले १.२ अर्ब डलर दिएको छ। त्यस्तै मोडेर्ना थेराप्युटिक्सले ५० करोड डलर पाएको छ। अमेरिकी संसदले खोपको विकासमा करिब १० अर्ब डलर खर्च गर्ने अनुमति दिएको छ। तर, ट्रम्प प्रशासनले त्यो भन्दा बढी रकम खर्च गर्ने अनुमान गरिएको छ। यद्यपि, कसरी र कसलाई रकम दिने भन्ने निर्णय पारदर्शी नभएको केहीले आरोप लगाएका छन्।

कोरोनाविरुद्धको खोप बनिसकेपछि पनि केही महत्वपूर्ण प्रश्नहरु बाँकी नै रहनेछन्। के खोप सबैको पहुँचमा हुनेछ? के नेपालजस्ता विकासशील वा गरिब मुलुकले त्यसलाई किन्ने हैसियत राख्नेछन्? अथवा, यो खोप औषधि कम्पनीहरुको नाफा कमाउने माध्यम मात्रै बन्नेछ?

कोरोनाविरुद्धको खोपमा औषधि कम्पनीहरुको एकाधिकार कायम हुन नदिन युरोपेली युनियनले प्रस्ताव अघि सारेको छ। मार्चमा भएको विश्व स्वास्थ्य संगठनको भेलामा युरोपेलीसहित अनेकौँ मुलुकले खोप सबैका लागि हुनुपर्ने बताए। सो भर्चुअल सभामा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो देशमा निर्मित खोप उपलब्ध भएपछि त्यो सार्वजनिक सम्पत्ति बन्ने बाचा गरे। तर, अमेरिका र बेलायतले भने यसविपरीत कदम चालेका छन्।

ट्रम्प प्रशासनले खोप बनेपछि सबैभन्दा पहिले आफूहरुलाई दिइनुपर्ने भन्दै थुप्रै कम्पनीसँग सम्झौता गरिसकेको छ। औषधि कम्पनीहरुले पनि आगामी अनुसन्धानलाई खर्च जुटाउन खोपको महंगो मूल्य तोकिनुपर्ने तर्क गरेका छन्। 

(एजेन्सीहरुको सहयोगमा)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad