आज (मंगलबार) देशका धेरै ठाउँमा ठूलो (भारी) वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश ५ को गुल्मीदेखि पूर्व अधिकांश स्थानमा सोमबार रातिदेखि नै वर्षा भइरहेको छ भने आज भारी वर्षाको समेत सम्भावना छ।
‘आज गुल्मीदेखि पूर्वका सबैजसो क्षेत्रमा वर्षा तथा ५ नम्बरदेखि पूर्व सबै प्रदेशका एक–दुई स्थान एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् कँडेलले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘त्यसैले यी क्षेत्रमा आज बाढी आउने, पहिरो जाने, यातायात अवरुद्ध हुने खतरा छ, सतर्कता अपनाउन आवश्यक छ।’
यस्तै काठमाडौं उपत्यकामा पनि सोमबार रातिदेखि नै वर्षा भइरहेको छ भने आज दिउँसो यहाँ पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्को अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहानै ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः
देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
हेरौं मौसम पूर्वानुमान महाशाखाको ट्विट पनिः
प्रदेश नं ५ को गुल्मी देखि पूर्वका अधिकांश भु-भागहरुमा पूर्ण बदली भई वर्षा भईरहेको छ। आज भारी वर्षाको समेत संभावना रहेकोले सतर्क रहनुहोस्। तपाईको क्षेत्रमा वर्षा भईरहेको छ कि छैन त? कमेन्ट गर्नुहोस्।https://t.co/c3kD3I2jjF मा हेरेर मौसम सम्बन्धि जानकारी लिनुहोस्। pic.twitter.com/wiONtTqGQO
बाढी पूर्वानुमान शाखाले पनि बिहानै ट्विटमार्फत सूचना जारी गरी बाढीकाे खतरा रहेकाे जानकारी दिएकाे छ।
असार २ विहान ६बजे
प्रदेश २ र १ को तराईको अधिकांश भू-भागमा बर्षा भईरहेको
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 16, 2020
कन्काई,कमला,बागमती नदीमा केहि बढ्दो छ,तर सतर्कता तह भन्दा तलै हुने
प्रदेश १ र २ को चुरे र तराई भई बहने स-साना खहरे खोलामा बहाव बढ्ने,केहिमा आकस्मिक बहाव पनि हुन सक्छ, साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाईराखौ pic.twitter.com/4cAZRNWubh
मौसमविद् शान्ति कँडेलका अनुसार पूर्वबाट फैलिँदै मनसुनले प्रदेश ५ छोइसकेको छ। तसर्थ यस प्रदेशको गुल्मीदेखि भारी वर्षाको सम्भावना बढेको हो। कर्णाली र सुदूरपश्चिममा भने अहिलेसम्म मनसुन पुगेको छैन। त्यहाँ पश्चिमी वायुकै प्रभाव छ। त्यस प्रदेशका पनि थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्।

प्रतिक्रिया