बानेश्वर बस्ने सीमा चन्द चिकित्सा शिक्षा अध्ययन गर्न चाहन्थिन्। कक्षा १२ को परीक्षा लगत्तै उनी एमबीबीएस प्रवेश परीक्षा तयारीमा जुटिन्। रत्नराज्य माध्यमिक विद्यालयमा विज्ञान सङ्काय अध्ययन गरेकी सीमाले कक्षा १२ को परीक्षा राम्रो भएकोले सो तयारी गरेको बताइन्।
तर, राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते निकालेको नतिजाले सीमाको सपना भताभुंग भयो। चिकित्सक बन्ने सपना देखेकी सीमाको गणित र भौतिकशास्त्र विषयमा ननग्रेड आयो। अर्थात् यी २ विषयमा उनको ३५ नम्बरभन्दा कम आयो।
परीक्षा राम्रो भएको भन्दै चिकित्सक बन्ने तयारीमा जुटेकी सीमा अब के गर्ने भनेर भौतारिँदै बिहीबार माइतीघर मण्डल आएकी थिइन्। राष्ट्रिय परीक्षा बोर्डले छिटो नतिजा निकाल्न खोज्दा उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको उनको गुनासो छ।
‘रातदिन नभनी मेहनत गरेर पढेँ। परीक्षा पनि राम्रो भएको थियो। दुई विषयमा एनजी आयो। ए प्लस ल्याउने गरेर परीक्षा दिएको थिएँ। ए प्लस आएन भने ए, वा बी प्लस त आउनुपर्थ्यो नि, एनजी कसरी आयो मेरो?’ उनको प्रश्न छ।
सीमा २ विषयमा एनजी आउनै नसक्ने दाबी गर्छिन्। अन्य विषयमा पनि सोचेजस्तो नम्बर नआएको भन्दै उनी आफ्नो उत्तरपुस्तिका निःशुल्क पुनः परीक्षण हुनुपर्ने माग राख्छिन्।
‘अन्य विषयमा पनि सोचेजस्तो नम्बर आएको छैन। सबै विषयको ‘रिचेकिङ’ गराउन धेरै पैसा लाग्छ,’ उनी भन्छिन्, ‘म जस्ता मारमा परेका धेरै विद्यार्थी छन्। त्यसकारण सरकारले सबैको निःशुल्क रूपमा रिचेकिङ गराउनुपर्छ।’
सीमा जस्तै कक्षा १२ को परीक्षा दिएका धेरै विद्यार्थी नम्बर कम आएको भन्दै आन्दोलित छन्। सामाजिक सञ्जालबाट सरकार र विशेष गरेर शिक्षामन्त्रीमाथि प्रश्न गरिरहेका छन्। बिहीबार भने माइतीघर मण्डलमा भेला भएर उनीहरुले विरोध प्रदर्शन नै गरेका थिए।
उदयपुरकी एसिका कार्की नम्बर कम आएको भन्दै काठमाडौँ आएकी छिन्। माइतीघर आएकी एसिका परीक्षामा मेहनतअनुसार नतिजा नआएको गुनासो गर्छिन्।
‘होटल म्यानेजमेन्ट लिएर पढेको थिएँ। परीक्षा राम्रो भएको थियो, सोचेजस्तो नम्बर आएन। कम नम्बर आएपछि पुनः परीक्षण, रिटोटलिङ गराउन जाँदा एउटै विषयको चार हजार ५०० पर्ने रैछ,’ उनी निराश हुँदै भन्छिन्, ‘नतिजा राम्रो नआएपछि घरमा पनि गाली गर्नुभयो, पुनः परीक्षण गराउने पैसा पनि दिनुभएन, अब मैले सोचेजस्तो विषय पढ्न नपाउने भएँ।’
एसिका सरकारले निःशुल्क उत्तरपुस्तिका हेर्न दिनुपर्ने र परीक्षण गराउनुपर्ने माग राख्छिन्।
काठमाडौँका साहेब शाह पनि परीक्षामा मेहनत गरेअनुसारको नतिजा नआएको बताउँछन्।
‘निकै मेहनत गरेर पढेर परीक्षा दिएको थिएँ। निकै कम ग्रेडिङ आएको छ। त्यति कम नम्बर त मेरो आउनै सक्दैन। नतिजा चित्त नबुझेर परीक्षण गराउन खोज्दा निकै महँगो पर्ने रैछ,’ उनी थप्छन्, ‘सरकारले छिटो नतिजा ल्याएर आफू चर्चामा आउन खोज्दा हामीजस्ता विद्यार्थीले दुःख पाउनुपर्यो।’
उनी शिक्षामन्त्री सस्मित पोखरेलले कुनै त्रुटिबिना नतिजा प्रकाशन गरेको भनेर गलत हल्ला फैलाएको आरोप लगाउँछन्।
‘राम्रो पढेको विद्यार्थीको एनजी आएको छ। नम्बर केही कम हुन सक्छ, एनजी नै त आउँदैन, यो सम्मको लापरवाही हुँदा पनि त्रुटि भएको छैन भनेर भन्ने?’ उनको प्रश्न छ।
उनले शिक्षामन्त्रीले आफूहरूको मागबारे सामाजिक सञ्जालबाट दिएको स्पष्टीकरणबाट चित्त नबुझेको कारणले यसविरुद्ध बोल्नुपर्छ भने इन्स्टाग्राम, डिस्कोर्ड र रेडिटबाट शिक्षामन्त्रीविरुद्ध अभियान चलाएको बताए।
‘छिटो रिजल्ट निकाल्न खोज्ने अनि विद्यार्थीको भविष्य बर्बाद पार्ने? यसैको लागि जेनजी आन्दोलन भएको हो र?’ उनको प्रश्न थियो।
राष्ट्रिय परीक्षा बोर्डको नतिजाअनुसार कक्षा १२ को नतिजामा १ लाख ४७१ विद्यार्थीको ननग्रेड आएको छ। बोर्डले नतिजा आफूले सोचेअनुसार नआए उत्तरपुस्तिका हेर्न, पुनः परीक्षण गर्न र पुनर्योग गर्न पाउने व्यवस्था गरेको छ। तर त्यसको शुल्क बढी भएको विद्यार्थीहरूको गुनासो छ।

लापरवाही भएको छैन : परीक्षा बोर्ड
राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षणमा लापरवाही नभएको दाबी गरेको छ। कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा छिटो नतिजा प्रकाशन गरे पनि अन्तर्राष्ट्रिय अभ्यासमा कुनै सम्झौता नगरिएको बताए।
‘छिटो नतिजा निकाल्न अन्तर्राष्ट्रिय अभ्यासमा कुनै सम्झौता गरिएको छैन। गत वर्षसम्म सम्परीक्षण बोर्डमा ल्याएर गरिन्थ्यो। तर अहिले सम्परीक्षणलाई शाखा, कार्यालय, प्रदेश कार्यालयमा गरियो। नयाँ प्रविधि प्रयोग गरियो,’ उनले थपे, ‘केहीमा मानवीय त्रुटि हुन सक्छ तर त्यो पनि विद्यार्थीले हेर्न पाउने कानुनी व्यवस्था गरिएको छ।’
उनी उत्तरपुस्तिका हेर्न, नम्बर पुनर्योग, र परीक्षण गर्न पाउने कानुनी व्यवस्था भएको बताउँछन्।
‘विद्यार्थीमैत्री कानुन छ। कानुनी प्रावधानलाई पनि मान्नुपर्यो। विद्यार्थी आफ्नो उत्तरपुस्तिका हेर्न पाउँछन्,’ उनी भन्छन्, ‘तर विगतमा पनि पुनर्योगमा २ प्रतिशतभन्दा बढी परिवर्तन भएको छैन। केही मानवीय त्रुटि हुन सक्छन्, त्यो भएको रहेछ भने विद्यार्थीले आफ्नो कपी हेर्न पाउँछन्, कपी हेरेर पनि पुगेन भने कपी पुनः परीक्षण गराउन पाउने कानुनी बाटो छ।’
परीक्षा नियन्त्रक शर्मा शिक्षकलाई तालिम, ओरियन्टेसन गराएर उत्तरपुस्तिका परीक्षण गराएको बताए।
उनले कसैलाई उत्तरकुञ्जिकाबिना उत्तरपुस्तिका परीक्षण गर्न पनि नदिइएको जनाए।
‘हरेक विषयको उत्तरकुञ्जिका बनाएका थियौँ। उत्तरकुञ्जिका बिना कुनै शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न दिएनौँ। एउटा शिक्षकले दुईभन्दा बढी प्याकेज उत्तरपुस्तिका परीक्षण गरेका छैनन्,’ उनी थप्छन्, ‘छिटो नतिजा निकाल्न बढी मेहनत गरेका छौँ, त्यसबीचमा केही मानवीय त्रुटि हुन सक्छन् तर लापरवाही भएको छैन।’
बोर्डले रिटोटलिङ गर्न एक हजार रकम तोकेको छ। उत्तरपुस्तिका हेर्न एक हजार ५ सय, पुनः परीक्षण गराउन दुई हजार रकम तोकेको छ।
परीक्षा नियन्त्रक शर्मा विज्ञलाई बोलाउनुपर्ने हुँदा शुल्क लिनुपर्ने बताउँछन्।
‘विज्ञको पारिश्रमिक दिनुपर्छ। कपी हेर्दा १ जना विद्यार्थीको १ घण्टा समय लाग्छ। पुनः परीक्षण गराउनुपर्यो भने ३ जना विज्ञलाई बोलाउनुपर्छ। त्यसका लागि रकम लिने गरेका हौँ,’ उनले नेपालखबरसँग भने।
बोर्डका अनुसार हालसम्म २५ हजार विद्यार्थीले ‘रिटोटलिङ’ गर्न फाराम भरेका छन्। रिटोटलिङका लागि बोर्डले शुक्रबारसम्म समय तोकेको छ।
गत वर्ष ४० हजार विद्यार्थीले रिटोटलिङ गरेका थिए।

नतिजा प्रकाशनमा हतार गरिएको छैन : शिक्षामन्त्री
नतिजामा असन्तुष्टि जनाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले बोर्डले नतिजा प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्।
नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नहरूको निष्पक्ष परीक्षणका लागि मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने समिति गठन गरिएको छ। उक्त समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण गर्नुका साथै परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्ने बताएका छन्।
मन्त्री पोखरेललेसामाजिक सञ्जालमार्फत पनि आवश्यक जनशक्ति थपेर तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताएका हुन्।
‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु। यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ। नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,’ मन्त्री पोखरेलले भनेका छन्।
मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्ने अधिकारको सम्मान गरिनुपर्ने उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया