समाज


जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नी कोरोना

जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नी कोरोना

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १२:५०,

पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने देखिन्छ।

मन्त्रालयले लकडाउनका समयमा अनावश्यकरुपमा भीडभाड नगर्न तथा प्रदर्शन नगर्न र नगराउनसमेत आग्रह गरेको छ। पछिल्ला दिनमा सङ्क्रमणको मात्रा बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा कूल २७३ जनामा नयाँ सङ्क्रमण देखिएको छ। उक्त सङ्ख्यासहित कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ। यस्तै क्वारेन्टिनमा रहेकाको सङ्ख्या एक लाख ५० हजार बढी रहेका छन्।

लकडाउनका समयमा समाजिक दूरी कायम गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने भए पनि विभिन्न नाममा भइरहेको प्रदर्शनले थप जोखिम बढाएको छ। शान्तिपूर्णरुपमा भेला हुन पाउने र विरोध प्रदर्शन गर्न पाउने नागरिकको हक भए पनि विपद्को समयमा सरकारको आग्रहलाई लत्याएर गरिने व्यवहारले थप त्रास र भय सिर्जना गरेको पाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कोरोनाको जोखिम रहेको समयमा अनावश्यकरुपमा गरिने प्रदर्शनले थप समस्या निम्त्याउँछ। उनले विपद्का समयमा सामाजिक दूरी कायम राख्न र अनावश्यकरुपमा प्रदर्शन नगर्नसमेत आग्रह गरे।

सरकारले आगामी असारको १५ गतेदेखि पिसिआर परीक्षणको दायरा बढाएर दैनिक १० हजार बराबरको पु¥याउने तयारी गरेको छ। त्यसका लागि पिसिआर किट तथा मेशिनकोसमेत प्रबन्ध गरिरहेको छ। यस्तै निजी क्षेत्रको विद म्यानेजमेन्टले समेत थप २५ थान पिसिआर मेशिन एक सातामा भित्र्याउने तयारी गरेको छ।

अनावश्यकरुपमा भीडभाड गर्दा वा नारा जुलुस गर्दा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा सरकारले बढाउने भनेको परीक्षणको सङ्ख्या र मात्रासमेत अपुग हुने सम्भावना रहन्छ। प्रदर्शनमा एक जना मात्रै सङ्क्रमित व्यक्ति उपस्थित भए त्यसले सयौँलाई सार्ने सम्भावना रहन्छ।

प्रवक्ता गौतमले भने, 'नारा लगाउँदा कोरोना भाइरस एकैपटक धेरै निस्कने र सङ्क्रमणको मात्रा बढी हुन्छ, त्यसका कारण सामाजिक दूरी कायम गर्नु नै पहिलो आवश्यकता हो।' उनले आज आयोजित पत्रकार सम्मेलनमा विशेष जोड दिएर भने, 'भीडभाड जुलुस गर्दा सावधानी नपनाउँदा सङ्क्रमण बढ्छ।'

परिवारका एक सदस्यमा सङ्क्रमण भएका खण्डमा ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, बालबालिकालाई पनि बढी जोखिम हुनसक्छ। रोग सरेको खण्डमा त्यसले परिवार, समाज र राष्ट्रलाई पार्ने जोखिम असाध्यै ठूलो मूल्य चुकाउनुपर्ने हुन जान्छ।

शहरी क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा बस्ती पूरै सिल गर्नुपर्ने र त्यसले आर्थिक तथा सामाजिक क्षेत्रमा समेत ठूलो प्रभाव पर्ने जानकारी दिँदै प्रवक्ता डा गौतमले परिस्थितिलाई विशेष ख्याल गर्नसमेत आग्रह गरे।

उनले सामाजिक दूरी कायम नगर्दा वा लापरवाही गर्दा निम्तने परिणाम भयावह हुने भएकाले अनावश्यकरुपमा भीडभाड नगर्न अनुरोध गर्दै विशेष सावधानी अपनाउन आग्रह गरे। कूल ७२ जिल्लामा फैलिएको सङ्क्रमणका कारण जनजीवन सामान्य बनाउन ठूलो मेहनत गर्नुपरेको छ।

भीडभाड वा जुलुसका कारण अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी बढी सङ्क्रमति हुनसक्ने मन्त्रालयको भनाइ छ। 'भीडभाड गर्दा त्यसले उत्पन्न गर्ने परिणाम आत्मघाती हुन सक्छ,' प्रा डा गौतमले भने।

हाल कायम रहेको बन्दाबन्दीलाई थप व्यवस्थित बनाउँदै दैनिक सामाजिक क्रियाकलापलाई सञ्चालन गर्न मन्त्रालयद्वारा ‘कोभिड–१९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड’ तयार गरी लागू गरिएका कारण त्यसलाई पूर्णरुपमा पालना गर्नु नागरिकको कर्तव्य हो। पछिल्ला दिनमा भइरहेका प्रदर्शनले सो मापदण्डकोसमेत बर्खीलाप गरेको छ।

भौतिक दूरी दुई मिटर बढी हुनुपर्ने, मेडिकल वा तीन तह भएको मास्क अनिवार्यरुपमा लगाउनुपर्ने भए पनि भीडभाड र प्रदर्शनमा त्यसको कुनै ख्याल गरिएको छैन।

यस्तै मन्त्रालयलाई हालसम्म रु दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार बराबरको बजेट प्राप्त भएकामा कूल रु एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो । सम्पूर्ण विवरण आफूहरुसँग सुरक्षित रहेकोसमेत प्रा डा गौतमको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad