मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार नाघिसेको छ भने ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।
कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारले चैत १२ देखिे लकडाउन घोषणा गरेको थियो। लकडाउनका कारण दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा विपन्न परिवार थप समस्या परेका छन्। संक्रमितको उपचार र भारत लगायतका देशबाट आउने नेपालीलाई राख्ने भनिएका क्वारेन्टिन व्यवस्थित हुन सकेका छैनन्।
स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरुले स्वास्थ्य सामग्री वितरण, क्वारेन्टिन व्यवस्थापनमा सहयोग पु¥याउनका साथै तथा राहत वितरण कार्य गरिरहेको छन्। डेनमार्कस्थित गैरसरकारी संस्था डीसीएले स्थानीय संस्थाहरुको सहकार्यमा दुई चरण गरेर विभिन्न जिल्लामा लगभग २ करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ।
हालसम्म कञ्चनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली, डोटी, अछाम, धादिङ र गोरखा जिल्ला गरी ४ हजार १ सय ३४ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामग्री वितरण गरिसकेको छ भने २ हजार ८८ घर परिवारलाई थप स्वच्छता सामग्री सेट (हाईजिन किट) पनि हस्तान्तरण गरेको संस्थाले जनाएको छ।
त्यस्तै कञ्चनपुर जिल्लामा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि छुट्टै पौष्टिक आहारहरु जस्तै घिउ, सुजी, अण्डा, बदाम, काजुजस्ता सामग्री पनि सहयोग गरेको छ।
त्यस्तै विभिन्न पालिकाहरुको समन्वयमा ३३ वटा क्वारेन्टिन व्यवस्थापनका लागि बासस्थान तथा बन्दोबस्तीको सामग्री, तथा स्वास्थ्य सरसफाई सामग्री पनि वितरण गरेको जनाएको संस्थाले जनाएको छ।
त्यस्तै सो संस्थाले जनस्वास्थ्य संस्था तथा जिल्ला अस्पताल गरी २७ वटा स्वास्थ्य केन्द्रहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरेको छ।

विभिन्न जिल्लामा रहेका स्थानीय संस्थाहरुको समन्वयमा डीसीए नेपालले हाल सम्म १ सय ७५ पीपीई सेट, ८४ पीपीई गाउन, ९९ थर्मल गन, ८ सय ६५ लिटर ‘स्यानिटाइजर’, २ सय ६५ प्याकेट चिकित्सा ग्लोभ्स, १९ हजार ६ सय सावुन, २५ हजार ८ सय ४५ सर्जिकल मास्क, १ हजार ४ सय ३५ एन ९५ मास्क लगायत सामग्री वितरण गरिसकेको जनाएको छ।
यी सामग्रीसँगै दैलेख र अछामका केही क्वारेन्टिनहरुमा खानाको व्यवस्था पनि गरिएको डीसीएले जनाएको छ।
‘हामीले स्थानीय सरकारको नेतृत्वमा तत्काल आवश्यकताका क्षेत्रहरू पहिचान गरी मानवीय सहयोगको लागि यी सामग्रीहरु हस्तारण गरेका छौं,’ डीसीएको नेपालस्थित कार्यलयका मानवीय सहायता तथा विपद् जोखिम न्युनीकरण व्यवस्थापक, दिनेश गुरुङले भने, ‘पछिल्लो सहयोगभन्दा यसपाली लम्बिँदै गरेको लकडाउनले गर्भवती तथा सुत्केरीहरुलाई पर्न गएको अप्ठेरोलाई मध्यनजर गरेर हामीले पौष्टिक आहारहरुको पनि व्यवस्था गरेका थियौँ।’
डीसीएले थप सहयोगका लागि पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ।
‘यो विषम परिस्थितिमा गैरसरकारी संस्थाहरुको सहकार्य अपरिहार्य छ,’ बेलडाँडी गाऊँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने, ‘आवश्यकता अनुसार समन्वय गर्दै सहयोग अगाडि बढाइरहेका छौं।’
राहत तथा स्वास्थ्य सामग्रीका साथै डीसीएले कोरोना भाइरस बारे तयार गरेको जानकारी मुलक पुस्तिका पनि वितरण गरेको थियो भने स्थानीय १० रेडियोसँगको सहकार्यमा साझेदारी नामको रेडियो कार्यक्रम पनि उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ।
जसमा स्थानीय सरकारसँग जनताका गुनासाहरु, मनोसामाजिक परामर्स, लैगिक संरक्षणजस्ता कार्यक्रम प्रसारण भइरहेका छन्।
Shares

प्रतिक्रिया