स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न नाममा हुने आन्दोलन जुलिसका क्रममा नारा लगाउँदा कोरोना भाइरस धेरै निस्कने भएकाले खतरा हुनसक्ने जनाएको छ।
मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले नारा लगाउँदा कोरोना भाइरस धेरै निस्कने हुँदा धेरै जना संक्रमित हुनसक्ने र त्यसले खतरा हुनसक्ने बताए।
पछिल्लो समय पीसीआर परीक्षण बढाउँनुपर्ने माग राख्दै युवाहरुले आन्दोलन गर्दै आएका छन।
त्यसतर्फ संकेत गर्दै गौतमले भने, हामीले पीसीआर परीक्षण दयरा बढाउँदै लगेका छौं। असार १५ सम्ममा दैनिक १० हजार परीक्षण गर्नेछौं,' प्रवक्ता गौतमले भने, 'भीडभाडले संक्रमित बढ्दै गए यो संख्या अपुग हुनसक्छ। जुलिसमा सामाजिक दूरी कायम नहुने, नारा लगाउँदा कोरोना भाइरस धेरै निस्कने हुँदा धेरै जना संक्रमित हुनसक्ने र खतरा हुनसक्छ।'
पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको उनले जनाए। हालसम्म मन्त्रालयले १ लाख २७ हजार २ सय नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म स्वास्थ्य मन्त्रालयले कोरोना प्रतिकार्य तथा व्यवस्थापनका लागि २ अर्ब ७२ करोड २९ लाख रुपैयाँ निकासा प्राप्त गरेको बताउँदै गौतमले जसमध्ये १ अर्ब ५८ करोड ५२ लाख खर्च भएको र त्यसको विस्तृत विवरण मन्त्रालयसँग सुरक्षित रहेको बताए।

प्रतिक्रिया