समाज


अस्ट्रेलियाको भिसा शुल्कमा भारी वृद्धि: नेपाली विद्यार्थीलाई पर्नेछ यी ५ असर

अस्ट्रेलियाको भिसा शुल्कमा भारी वृद्धि: नेपाली विद्यार्थीलाई पर्नेछ यी ५ असर

नेपालखबर
असार १७, २०८३ बुधबार २२:२, काठमाडौँ

अध्ययन र भ्रमणको लागि अस्ट्रेलिया जाने तयारी गरिरहेका नेपालीका लागि भिसा शुल्क महँगो भएको छ। उतै अध्ययन सकेर अस्ट्रेलियामै काम वा बसोबास गर्ने योजना बनाइरहेका विद्यार्थीका लागि पनि थप लागत पर्ने भएको छ।

अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले भिसा आवेदन शुल्क पुर्नसंरचना गर्दै विद्यार्थी, भ्रमण, पार्टनर, अभिभावकसहित अधिकांश शीर्षकका भिसा आवेदन शुल्क वृद्धि गरेको हो।

नयाँ व्यवस्थापछि अहिले जस्तो नेपाली विद्यार्थीको प्रथम रोजाइ अष्ट्रेलिया नहुन पनि सक्छ।
एबीसी न्यूजका अनुसार यो शुल्क वृद्धि सन् २०२६–२०२७ को बजेट योजना अन्तर्गत अध्यागमन नियमहरु संशोधन गर्दै कार्यान्वयनमा आएको हो।

भिसा आवेदन शुल्कमा २५ प्रतिशतसम्म वृद्धि गरिएको छ। अध्ययन भिसा शुल्क २ हजार अष्ट्रेलियन डलरबाट २ हजार ५ सय पुर्याइएको छ। 
अस्थायी स्नातक भिसा आवेदन शुल्क ४ हजार ६ सय डलरबाट बढाएर ५ हजार ७ सय ५० डलर पुर्‍याएको छ। 

बढेको भिसा शुल्क जुलाई १ अर्थात् बुधबारदेखि लागू भएको हो।

भिसा आवेदन शुल्क बढ्दा नेपाली विद्यार्थीलाई पर्नेछ यी ५ असरः

१. थपियो बोझ
तुलनात्मक रुपमा अस्ट्रेलियाको भिसा तथा विश्वविद्यालय शुल्क सस्तो होइन। अस्ट्रेलियाले फरक–फरक किसिमका भिसामा गरिएको यो वृद्धिले अस्ट्रेलिया जान चाहने, अध्ययन गरिरहेका, बस्ने र काम गर्ने सोच बनाएका वा छोराछोरी भेट्न जाने नेपालीलाई असर पर्नेछ। 

धेरै जति नेपाली विद्यार्थीले अध्ययन र त्यसपछि काम गर्दै अष्ट्रेलियामै सेटल हुने लक्ष्य राख्छन्।

२. जोखिममा पाैने ४ लाख रूपैयाँ
आवेदन गर्नें सबैले अस्ट्रेलियाको भिसा पाउँछन् भन्ने निश्चित छैन। 'आएल्स' वा 'पीटीई' तयारी कक्षा र परीक्षाका लागि पहिलै ठूलो रकम खर्च भइसकेको हुन्छ। भिसा नपाए पनि भिसा आवेदन गर्दाको पैसा विद्यार्थीले फिर्ता पाउँदैनन्। अब पहिलेको तुलनामा नेपालीले ठूलो रकम गुमाउने जोखिम बढेको छ। अब एक जना नेपाली विद्यार्थीले अस्ट्रेलियाको अध्ययन भिसा आवेदन गर्दा २ हजार ५ सय अष्ट्रेलियन डलर तिर्नुपर्छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार यो भनेको ३ लाख ८२ हजार रुपैयाँ हो। डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर रहेकाले यो रकम थप बढ्न पनि सक्छ।

३. 'इन्टर्नसीप' भयो महँगो
अस्ट्रेलियामा पढाई सकेर उतै काम गर्ने सोच बनाइरहेका नेपाली विद्यार्थीका लागि अहिलेको यो निर्णयले असर पार्नेछ। पढाई पूरा गरेर 'इन्टर्नसीप' गर्ने अवधिका लागि अस्ट्रेलियाले अस्थायी स्नातक भिसा (सबक्लास–४८५) प्रदान गर्छ। यो भिसा आवेदन शुल्क पनि २५ प्रतिशत बृद्धि गरिएको छ। यो शीर्षकको भिसा शुल्क चार महिनामा दोस्रो पटक वृद्धि गरिएको हो।

 ४. महँगो बन्यो अंग्रेजी भाषा:
कतिपय नेपाली विद्यार्थी पहिला अंग्रेजी भाषा पढ्ने र पछि अन्य व्यवसायिक कोर्समा सर्ने उद्देश्यले पनि अस्ट्रेलिया जाने गरेका छन्। यो संख्या धेरै नभए पनि अब इंग्लिस ल्यांग्वेज इन्टेन्सिभ कोर्स फर ओभरसिज स्टुडेन्ट (एलिप्स) पढ्नेहरुले छुट्टै भिसा आवेदन गर्नुपर्नेछ। यसका लागि छुट्टै २ हजार ५० अष्ट्रेलियन डलर तिर्नुपर्नेछ। 

अपार्टमेन्टको भाउ बढेको छ, पाउन पनि सजिलो छैन।

५. मानसिक तनाबको जोखिम
अस्ट्रेलिया पुगेका धेरै नेपाली विद्यार्थी नयाँ परिवेशमा एकै पटक अध्ययन, काम, एक्लोपन र तनाव सामना गर्न नसक्दा मानसिक रोगबाट पीडित भइरहेछन्। नयाँ परिवर्तनले अब यो दवाब भिसा आवेदन गर्दाको समयदेखि नै सुरु हुनेछ। विद्यार्थीलाई अत्यधिक मानसिक तनाब र चिन्तामा धकेल्नेछ।

यो पनि: अस्ट्रेलियाले दोब्बर बनायो ‘टेम्पोररी ग्राजुएट भिसा’ शुल्क, नेपाली विद्यार्थीलाई थपियो आर्थिक भार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad