नेपालमा वर्षा गराउने मौसमी प्रणाली मनसुनले बिस्तारै गति लिइरहेको मौसमविद्ले बताएका छन्।
देशको पूर्वी क्षेत्रबाट शुक्रबार अपराह्न प्रवेश गरेको मनसुनले वर्षा गराउन थालेकाे हाे।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार राति पूर्वका कही स्थानमा भारी वर्षासमेत भएको छ। धरानमा १२१.८ मिलिमिटर वर्षा भएको हो।
शुक्रबार राति खासगरी पूर्वका ओखलढुंगा, ताप्लेजुङ, इलाम, सुनसरीलगायत क्षेत्रमा मनसुनी वर्षा भएको उनले जानकारी दिए।
मौसमविद् प्रधानांगका अनुुसार अहिले मनसुनी प्रणाली पूर्वमा मात्र सीमित छ र यो बिस्तारै देशभर फैलिनेछ।
‘अबको ३ दिनभित्र देशको मध्य क्षेत्रसम्म फैलिसक्ने अनुमान गरेका छौं,’ शनिबार बिहान नेपालखबरसँग उनले भने।
यसको अर्थ काठमाडौं उपत्यकालगायत क्षेत्रमा अहिले मनसुन भित्रिसकेको छैन। पूर्वी क्षेत्रबाहेक अन्य स्थानमा भने अहिले प्रिमनसुनअन्तर्गत स्थानीय वायु तथा पश्चिमी वायुकै प्रभावले मौसम बदली तथा वर्षा गराइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्य बदली भई प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
माैमसविद्का अनुसार मध्यम वर्षा हुनु भनेकाे ठूलै पानी पर्नु हाे। त्याे भन्दा पनि ठूलाे वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। यस्ताे वर्षा पनि पूर्वका केही स्थानमा शुक्रबारदेखि नै सुरु भइसकेकाे छ।

प्रतिक्रिया