समाज


‘मूल्यकै कारण क्यान्सरको औषधिको चरम अभाव भयो’

‘मूल्यकै कारण क्यान्सरको औषधिको चरम अभाव भयो’

नेपालखबर
असार १७, २०८३ बुधबार १२:३१, काठमाडौँ

औषधिको मूल्यका कारण क्यान्सरको औषधिको चरम अभाव भएको औषधि व्यवस्था विभागले जनाएको छ। 

विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले मूल्यकै कारण केही समयअघि क्यान्सर उपचारमा प्रयोग हुने औषधिमा चरम अभाव देखिएको बताइन्। हाल पनि क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव नै रहेको उनको भनाइ छ। 

‘कतिले पैठारी नगर्दा बजारमा अभाव भएको पनि अवस्था छ। कहिलेकहीँ मूल्यको कारणले पनि औषधि अभाव हुने गरेको छ,’ उनले भनिन्, ‘अहिले मूल्यकै कारणले क्यान्सरको औषधीहरूमा एकदमै चरम अभाव पुग्यो।’

बजारमा बेला-बेलामा देखिने औषधि अभाव समाधान गर्न विभागले औषधि मौज्दात राख्नेगरी तयारी थालेको हो। विभागकी निमित्त महानिर्देशक खड्गीका अनुसार औषधिको उत्पादन, आयात र मूल्य निर्धारणसँग सम्बन्धित विभिन्न कारणले बजारमा अभाव देखिने गरेको छ। 

विभागमा दर्ता भएका सबै औषधि नियमित रूपमा उत्पादन वा आयात नहुँदा कहिले कहीँ अभाव सिर्जना हुने उनको भनाइ छ। ‘कोभिडकै बेलामा सिटामोलकै अभाव देखियो, जीवनजलकै अभाव देखिने यो सबै विषय भनेको एकदमै प्राइमरी मूल्यसँग नै जोडिएको विषय हो। त्यस्तै कुनै कुनै औषधि एकदमै कर्मसियल्ली भ्यालु नहुँदा खेरि पनि पैठारीकर्ता वा उत्पादकहरुले उत्पादन गरिदिँदैनन्,’ उनले भनिन्।

केही दुर्लभ रोगमा प्रयोग हुने ‘अर्फन ड्रग्स’ व्यावसायिक रूपमा कम लाभदायक हुने भएकाले उत्पादक वा आयातकर्ताले उत्पादन तथा आयातमा रुचि नदेखाउँदा पनि अभाव हुने गरेको उनको भनाइ छ। यस्ता औषधि नियमित रूपमा आवश्यक नपर्ने तर आवश्यक समयमा उपलब्ध नभए बिरामीको ज्यान जोखिममा पर्ने खालको औषधिलाई विभागले स्वास्थ्य सेवा विभाग, अस्पताल र अन्य सरोकारवाला निकायसँग समन्वय गरी न्युनतम मौज्दात राख्ने योजना अघि बढाएको उनले जानकारी दिइन्। 

‘जुन बेलामा चाहिने त्यही बेलामा हामीले उपलब्ध गर्न सकेनौँ भने एकदमै ज्यान जोखिममा हुने तर रेगुलरली नचाहिने त्यस्तो औषधिहरू पनि छन्। यस्ता औषधिहरू मिनिमम स्टक मेन्टेन गर्नुपर्छ,’ उनले भनिन्, ‘आगामी दिनमा अभावमा हुने औषधिहरूको मिनिमम स्टक राख्नेगरी काम गर्ने तयारीमा छौँ।’

उनले विभागको विशेष सिफारिसमार्फत आयात भइरहेका वा नेपालमा अत्यन्त कम दर्ता भएका जीवनरक्षक औषधिको सूची तयार गरी ती औषधिको स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad