समाज


स्वास्थ्य मन्त्रालयको लापर्बाहीः सर्लाहीका एक संक्रमित चार दिनदेखि ‘बेपत्ता’

स्वास्थ्य मन्त्रालयको लापर्बाहीः सर्लाहीका एक संक्रमित चार दिनदेखि ‘बेपत्ता’

नेपालखबर
जेठ १२, २०७७ सोमबार १०:५३,

सर्लाहीमा अहिलेसम्म कूल संक्रमितको संख्या ३३ भन्ने कि ३४, अन्योल छ। कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पठाएको संक्रमितको सूचीमा उल्लेख एक व्यक्ति सर्लाहीमा कतै भेटिएनन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार शुक्रबार मन्त्रालयले १५ संक्रमितको सूची पठाउँदा सर्लाहीमै नभएका एक व्यक्तिको नाम पनि परेको हो। मन्त्रालयले गोडैता नगरपालिका वडा नम्बर ४, राेहुवा ठेगाना उल्लेख गरेर जुन व्यक्तिको नाम पठाएको छ, त्यस्तो नाम गरेको व्यक्ति त्यहाँ कोही छैनन्।

गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवका अनुसार शुक्रबार सर्लाहीमा थपिएका १५ संक्रमितमध्ये एक जना रामनगर गाउँपालिकाको र बाँकी १४ जना गोडैताको भनेर सूची पठाएको थियो। तर गोडैतामा त्यस दिन नगरपालिकाबाट परीक्षणका लागि स्वाब पठाइएको सूचीअनुसार १३ जनाको मात्र नाम मिलेको थियो, एक जनाको नाम नचिनिएको व्यक्तिको थियो।

‘आफ्नो नगरपालिकाका रहेका सबै क्वारेन्टिनमा खोज्यौं, मैले ती व्यक्तिको ठेगाना उल्लेख गरिएको वडाध्यक्षलाई पनि सोधें,’ सोमबार दिउँसो वडाध्यक्ष शिवकुमार राउतको भनाइ उधृत गर्दै गोडैताका मेयर यादवले नेपालखबरसँग भने, ‘यहाँ जम्मा चौधरीका दुई घर छन्, तर उनको नाम गरेको व्यक्ति यहाँ कोही छैन।’ 

यसले गर्दा अहिलेसम्म सर्लाहीमा मन्त्रालयले पठाएको सूचीअनुसार संक्रमितको संख्या ३४ देखिए पनि ती व्यक्ति पत्ता नलागेकाले ३४ भन्ने कि ३३ भन्ने अन्योल भइरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए।

यसबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीसँग आइतबार जिज्ञासा राख्दा ‘त्यस्तो त नहुनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भेरिफाइ गरेर दिएको सूची हामीले पठाएका हौं, ठीकै छ यसबारे म बुझ्छु’ भनेका थिए। आज सम्पर्क गर्न खोज्दा उनको फोन उठ्दै उठेन।

त्यस दिन मन्त्रालयले गोडैता नगरपालिकाको हुँदै नभएको १३ र १४ वडा नम्बर उल्लेख गरेको थियो भने रामनगर गाउँपालिकाको नाम पनि रामनगर बहुअर्वा लेखेको थियो।

यसरी सर्लाहीमा ‘बेपत्ता’ संक्रमितको आज ४ दिन बितिसक्दा पनि मन्त्रालयले वास्तविकता सार्वजनिक गर्न चासो दिएको देखिन्न। यसले गर्दा ती संक्रमित कहाँका छन् र तिनको कन्ट्याक्ट ट्रेसिङ पनि सुरु हुन पाएको छैन। कोरोनाजस्तो घातक महामारीका विषयमा पनि मन्त्रालयले यस्तो लापर्बाही गर्दा संक्रमण फैलिने जोखिम बढ्दैन र!

याे पनि: सर्लाहीमा थप १५ संक्रमितको सूचीमा यस्ताे गडबड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad