ad ad

समाज


प्रदेश २ मा कुन जिल्लामा कति संक्रमित?

प्रदेश २ मा कुन जिल्लामा कति संक्रमित?

नेपालखबर
जेठ ११, २०७७ आइतबार २:५२,

पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या १७१ पुगेको छ।

२१ मध्ये भारतबाट भित्रिएका २० व्यक्तिमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले बताए।

बाराको सिमरौनगढ नगरपालिकाका कोरोनाबाट सङ्क्रमित सातजना केही दिनअघि भारतबाट फर्केका थिए। उनीहरुलाई स्थानीय कङ्कालिनीमाई माविस्थित क्वारेन्टाइनमा राखिएको थियो।

करैयामाई गाउँपालिका-५ की एक ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ। केहीदिन अघि भारतबाट फर्किएका उनका ३८ वर्षीय श्रीमानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आफन्त, सम्पर्कमा आएका व्यक्तिका साथै श्रीमतीको पनि स्वाब सङ्कलन गरिएको थियो। परीक्षणबाट ती व्यक्तिकी श्रीमतीमा कोरोना सङ्क्रमण देखिएको हो।

सर्लाहीका १३ मध्ये १२ जना सङ्क्रमित भारतको गुजरात, महाराष्ट्र र दिल्लीबाट आएको बताइएको छ। सर्लाहीको कविलासी नगरपालिका–१ की ३७ वर्षीया कोरोना सङ्क्रमित महिलाको काठमाडौँमा उपचार भइरहेको छ।

यस्तै सर्लाहीको गोडैता नगरपालिकामा विभिन्न मितिमा भारतबाट फर्केका १२ सङ्क्रमितलाई मलङ्गवा–२ स्थित अल्पमाई अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको सचिव घिमिरेले बताए।

सप्तरीको बलानविहुल गाउपालिकाका ३५ वर्षीय पुरुष वैशाख २९ गते भारतको हरियाणाबाट फर्केका थिए। उनको गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ।

सप्तरीमा दुई, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा ३३, रौतहटमा २२, बारामा १२, तीन भारतीयसहित पर्सामा ९० गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १७२ पुगेको छ।

यसैबीच प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ। शनिबार ४०९ जनाको समेत गरी अहिलेसम्म यस प्रदेशमा सात हजार ९४५ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ।

सोमध्ये पाँच हजार ५४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार २३४ जनाको रिपोर्ट आउन बाँकी छ। प्रदेशको २४८ वटा क्वारेन्टाइनमा आठ हजार ११९, होम क्वारेन्टाइनमा पाँच हजार २२० र आइसोलेशनमा १७० जना बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .