बंगालको खाडीमा विकसित अम्पुन नामको शक्तिशाली समुद्री आँधी (चक्रवात) का कारण अहिले पूर्वी भारत र बंगलादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ।
भारतीय मौसमविद्का अनुसार अब केही घण्टामा भारत र बंगलादेशबीचको तटीय क्षेत्रको जमिनमा त्यो चक्रवात ठोक्किनेवाला छ।
चक्रवात आउने सम्भावित क्षेत्रमा दुवै देशले लाखौं मानिसलाई सारिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अम्पुन अहिले दिउँसोदेखि साँझसम्ममा जमिनमा बज्रिने भारतको मौसम विभागले अनुमान गरेकाे छ।
यसै पनि कोरोना भाइरसकाे महामारीका कारण सास्ती पाइरहेका बेला यो समुद्री आँधीले भारत र बंगलादेशमा ठूलाे विपद् निम्त्याएकाे छ।
अम्पुन दशकयताकै सबैभन्दा ठूलो चक्रवात भएको भारतीय मौसमविद्ले बताएका छन्। यसले प्रतिघण्टा १ सय ८५ किलोमिटर वेगमा जमिनमा प्रहार गर्ने माैमसविद्काे अनुमान छ।
प्रभावित क्षेत्रमा उद्धारका लागि २० टोली खटाइएकाे भारतीय अधिकारीले जनाएका छन्। यस्तै बंगलादेशका विपद् व्यवस्थापन मन्त्रीले झन्डै २० लाख मानिसलाई स्थानान्तरण गर्ने योजना रहेकाे बताएका छन्।
अम्पुनकाे अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिसकेकाे यहाँका माैसमविद्ले बताएका छन्। त्यसका लागि याे समाचार पढ्नुहाेस्: शक्तिशाली अम्पुन चक्रवात जमिनमा प्रवेश गर्दै, तीन दिन वर्षा र हिमपातकाे सम्भावना

प्रतिक्रिया