रामेछापमा सुत्केरी व्यथाले थलिएकी एक महिलालाई ज्यान जोगाउन नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। रामेछाप नगरपालिका–४ हिमगंगा टोलकी ३५ वर्षीया बेलिमाया तामाङलाई प्रसूतिमा जटिल समस्या देखिएपछि मंगलबार साँझ आकस्मिक उद्धार गरिएको हो।
पारिवारिक स्रोतका अनुसार बेलिमायाको गर्भमा रहेको शिशु विगत चार दिनदेखि समस्यामा थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई सुरुमा उपचारका लागि रामेछाप अस्पताल पुर्याइएको थियो। त्यहाँबाट उनलाई तत्कालै मन्थली अस्पताल रिफर गरियो। मन्थलीका चिकित्सकले पनि यहाँ उपचार सम्भव नभएको र ढिलाइ भए आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने भन्दै काठमाडौं लैजान सल्लाह दिएका थिए।
बेलिमायाको अवस्था गम्भीर भएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्कीले सक्रियता देखाएकी थिइन्। उनीहरुकै विशेष पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर झिकाएर उनलाई काठमाडौं पठाइएको हो।
'मन्थली अस्पतालले यहाँ सम्भव छैन भनेर काठमाडौं लैजान भनेपछि हामीले तत्काल उद्धारको प्रक्रिया अगाडि बढायौँ,' उपप्रमुख कार्कीले नेपालखबरसँग भनिन्, 'साँझपख हेलिकप्टरमार्फत उहाँलाई काठमाडौं पठाइएको छ।'
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरू स्वास्थ्य सेवाको अभावमा जोखिममा नपरून् भन्ने उद्देश्यले सरकारले हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। बेलिमायाको अहिले काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया