हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव छ भने यतिबेला (शनिबार बिहान) देशभरको आकाशमा आंशिकदेखि साधारणतयासम्म बादल लागेको छ। अनि कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया र तराईको आकाशमा आंशिक बादल लाग्नेछ। अनि कोसी, लुम्बिनी, कर्णाली प्रदेशसहित देशका हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका उच्च पहाडी-हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा भने आज तातो दिन हुने सम्भावना छ।
यस्तै राति कोसी प्रदेशसहित देशका हिमाली र पहाडी भेगमा साधारणतया तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईको आकाशमा आंशिक बादल लाग्नेछ। बाँकी तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै देशका बाँकी हिमाली भू-भागका थोरै स्थान, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा थप वर्षाको सम्भावना
गएरातिदेखि बिहानसम्म पानी परेको काठमाडौँ उपत्यकामा थप वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सरोज पुडासैनीका अनुसार बिहान ५ बजेदेखि काठमाडौँ उपत्यकामा पानी पर्न रोकिएको हो।
‘अहिले आंशिक बादल लागेको छ’, उनले नेपालखबरसँग भने, ‘तर दिउँसोपछि बादल बढ्दै गएर अपराह्न वा साँझपख फेरि हल्का वर्षा हुने सम्भावना देखिएको छ।’
मौसमविद्का अनुसार विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मध्यमसम्म वर्षा भएको छ।
उनका अनुसार चन्द्रागिरिमा १२.६, नागार्जुनमा १३.६, बुढानीलकण्ठमा १०.२, सुन्दरीजलमा ८.६, कीर्तिपुरमा ८.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया