स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा केही औषधिको अभाव देखिएको भन्दै औषधि आपूर्तिको व्यवस्थालाई सहज बनाउन निर्देशन दिएकी छन्।
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको अवलोकनपछि छलफलका क्रममा मन्त्री मेहताले औषधि आपूर्तिलाई सहज बनाउन निर्देशन दिएकी हुन्। उनले हाल बजारमा अभाव देखिएका औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइन्।
त्यस्तै, हालसम्म औषधि आपूर्ति र वितरणको अनुमति प्राप्त गरेका तर नियमित आपूर्ति नगरेका आपूर्तिकर्ताको नियमन कार्य तत्काल अगाडि बढाउन, औषधी आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन र कागजात पेश गरेका तर अनुमति प्रदान गर्न नसकिएका कम्पनीहरूको स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएकी छन्।

उनले औषधि व्यवस्था विभागको नियमन क्षमता अभिवृद्धि गर्न सबै प्रकारका कदम चाल्ने गरी तयारी गर्न पनि भनेकी छन्। छलफलका क्रममा अन्य औषधी आपूर्ति र व्यवस्थापनलाई सहज र गुणस्तरीय बनाउन आपूर्ति अनुमति प्रदान गर्ने कार्यलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरणसहित रिपोर्ट तत्काल पेश गर्न पनि निर्देशन दिएकी छन्।
यससँगै नेपाल सरकारबाट निःशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएकी छन्।
Shares

प्रतिक्रिया