कला


निफ अध्यक्ष पाठक : स्पोन्सर्स जुटाउनै कठिन छ, नयाँ सरकारले ५-१० करोड बजेट छुट्याउला भन्ने आश छ

निफ अध्यक्ष पाठक : स्पोन्सर्स जुटाउनै कठिन छ, नयाँ सरकारले ५-१० करोड बजेट छुट्याउला भन्ने आश छ

केपी पाठक। सबै तस्बिर: सरोज नेपाल/नेपालखबर


लक्ष्मी बलायर
चैत १९, २०८२ बिहिबार ११:५, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करण चैत १९ देखि सुरू हुँदैछ। पाँच दिनसम्म चल्ने महोत्सवमा ४० देशका ८८ फिल्महरू प्रदर्शन हुँदैछन्। ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ महोत्सव हुँदैछ।

नेपालबाट फिचर, सर्ट र डकुमेन्ट्रीसहित ३५ वटा फिल्म देखाइनेछ। यो महोत्सव अरु संस्करणभन्दा के फरक छ? नवौँ संस्करणसम्म आइपुग्दाको अनुभव र फरकपनबारे निफका अध्यक्ष केपी पाठकसँग गरिएको कुराकानी:

निफको नवौँ संस्करणसम्म आइपुग्दा यस पटक विगतका वर्षहरूभन्दा के फरक पाउन सकिन्छ?

‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा भएकाले उत्सव मनाउने तरिकाले नै लागिरहेका छौँ। जसकारण यसपटकको महोत्सव युवामैत्री र प्रविधिमैत्री बनाउन खोजेका छौँ। त्यसका लागि हामीले युवा फिल्ममेकरहरूको लागि एआई फिल्म कार्यशाला पनि राखेका छौँ।

नयाँ फिल्ममेकरहरू, जसले सर्ट फिल्म बनाउन खोज्नु भएको छ, जोसँग आइडिया छ, तर लगानी गर्न पैसा छैन, निर्मातासँग भेटघाट गर्नको लागि स्टोरी पिचिङ कार्यक्रम राखेका छौँ।

त्यस्तै, नेपाल र रुसबीच सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको छ। जसमा चार वटा रसियन फिल्म देखाइनेछन्। त्यस्तै, ६ वटा चाइनिज फिल्महरू पनि प्रदर्शन हुनेछन्।

यस पटक निफमा ४० देशका ८८ फिल्महरू प्रदर्शन हुँदैछन्, फिल्महरूको छनोट प्रक्रिया कत्तिको चुनौतीपूर्ण रह्यो?

फिल्म फ्री वे भन्ने अमेरिकाको एउटा पोर्टल छ। जसमार्फत हामीले विश्वव्यापी रूपमा फिल्म आव्हान गर्छौं। त्यसमा नै दसवटा क्राइटएरिया दिएको हुन्छ। त्यसैअनुसार मापदण्ड पुगेका फिल्महरूलाई जुरीले हेर्नुहुन्छ। त्यसमा धेरै नम्बर आएका फिल्म उहाँहरूले हामीलाई दिनुहुन्छ।

यसपटक ९० देशबाट झण्डै ८ सय फिल्महरू आएका थिए। जसमध्येबाट हाम्रो टिमले राम्रा ८८ वटा राम्रा फिल्म छानेको हो। राम्राराम्रा फिल्महरू धेरै मिस गरेका छौँ। पाँच दिनभित्र जति देखाउन सकिन्छ, त्यतिअनुसार संख्या छानेका हौँ।

नेपाली मौलिक कथाहरूलाई विश्वव्यापीकरण गर्ने सवालमा यस पटकको महोत्सवले कस्तो एजेन्डा बोकेको छ?

सामान्यतया फिल्म फेस्टिबलहरूमा मौलिक फिल्मले नै प्राथमिकता पाउँछन्। आर्टहाउसहित मौलिक र आफ्नै पहिचान भएकाले फिल्मलाई छानिएको हुन्छ। हाम्रो फिल्म अन्तर्राष्ट्रिय बजारमा जाने एउटा प्लाटफर्म निफ हो।

यहाँ विभिन्न देशका ४० बढी फिल्ममेकर आउनुहुन्छ। उहाँहरूका फिल्म हाम्रा फिल्ममेकरले हेर्नुहुन्छ। हाम्रो फिल्म उहाँहरूले हेर्नुहुन्छ। चिनजान र छलफल हुँदा सम्भावनाका ढोकाहरू खुल्ने हुनसक्छ। पर्यटनका क्षेत्रमा सम्भावना हुन्छ। त्यसले गर्दा नेपाली मौलिक कथाका फिल्महरू अन्तर्राष्ट्रिय बजारमा जान सक्ने यो ठूलो प्लाटफर्म हो।   

विदेशी फिल्ममेकरको सहभागिताले नेपाली युवा निर्देशकहरूलाई कस्तो लाभ पुग्ला?

यो पटक निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास छ। युवा मेकरलाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौँ। त्यस्तै, विद्यार्थीहरूले बनाएको फिल्मलाई यसपालि अलग्गै अवार्ड नै दिइनेछ। साउथ एसियन फेस्टिबल पनि प्रतिस्पर्धा राखेका छौँ।

युवाले बनाएका फिल्मलाई बढी प्राथमिकतामा राखेका छौँ। अन्तबाट पनि युवा फिल्ममेकर नै आउनुहुन्छ। जसले गर्दा सोच मिल्छ। अनुभव आदानप्रदान गर्नेदेखि सहकार्य गर्ने सम्भावना बढी हुन्छ। समग्र नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने हो।

महोत्सवमा प्रदर्शनबाहेक विभिन्न प्यानल डिस्कसन र कार्यशालाहरू पनि हुन्छन्। यो पटक मुख्य आकर्षणको रूपमा के छ?

मुख्य आकर्षण भनेको युवाहरूको लागि एआई फिल्म प्रदर्शन नै हो। एआई प्रविधिले धेरै फड्को मारिसकेको छ। हामी कुन अवस्थामा छौँ? हामीले एआईसँग घुममिल हुनुपर्ने बेला भयो कि भएन? यदि हुन्नौँ भने हामीले के मिस गर्छौं? एआई कसरी प्रयोग गर्ने, कुनकुन टुल प्रयोग गर्ने? विश्वभर के प्रयास भइरहेको छ भन्नेबारे पाँचदिने उच्चस्तरीय कार्यशाला सञ्चालन गर्दैछौँ।

त्यसैगरी, यसपालि सिनेमा संवादमा बलिउडका दिग्गज फिल्ममेकर रमेश सिप्पीसँग हाम्रा महानायक राजेश हमालले सिनेमा संवाद गर्दै हुनुहुन्छ। त्यो पनि निकै महत्त्वपूर्ण छ।

त्यस्तै, हामीले नेपालको पहिलो रंगीन चलचित्र र पहिलो अन्तर्राष्ट्रिय फेस्टिबलमा गएको चलचित्र ‘कुमारी’ को नलेखिएका कथाहरू खोतल्दैछौँ। निर्देशक, अभिनेत्री र क्यामेरामेन ल्याएर उहाँहरूको अनुभव सुन्दैछौँ।

त्यसैगरी, डिजिटल पाइरेसीका बारेमा बहस गर्नेछौँ। एआईले बनाएका कुराहरूको कानुनी प्रावधान र जटिलताको बारेमा विभिन्न वक्ताहरूसँग बहस गर्दैछौँ। यो लगायत हामीसँग १० वटा फोरम छन्।

यसबाहेक जो युवा फिल्ममेकर हुनुहुन्छ, जो सर्ट फिल्म बनाउन चाहनुहुन्छ तर निर्माताहरू भेटाउनुभएको हुन्न, उहाँहरूलाई लक्षित गर्दै एउटा प्लाटफर्म चाहिँ फिचर पिच भनेर राखेका छौँ। यो नयाँ प्रोगाम हो।

एउटा सफल महोत्सव आयोजना गर्न आइपर्ने मुख्य चुनौतीहरू के-के हुन्?

चुनौतीहरू त धेरै नै छन्। मुख्य चुनौती चाहिँ आर्थिक व्यवस्थापन नै हो। स्पोन्सर्स जुटाउनै गाह्रो हो। निजी क्षेत्रबाट दुई लाख, पाँच लाख र दस लाख हात जोडेर माग्नुपर्ने र फिल्म फेस्टिबल टिकाउनुपर्ने अवस्था छ।

यसको लागि अरु देशमा सरकारले कम्तीमा वार्षिक बजेट आठदस करोड छुट्याइदिन्छन्। उनीहरूकोमा राम्रा फिल्म फेस्टिबललाई राज्यले सहयोग गरिदिने अवस्था छ। तर, हाम्रोमा यस्तोमा कुनै लगानी छैन।

अब नयाँ सरकार आएको छ। कलाक्षेत्रकै प्रधानमन्त्री हुनुहुन्छ। यस वर्षको बजेटमा यस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल गर्नका लागि पाँचदस करोड बजेट छुट्याइयो भने काम गर्न सजिलो हुन्छ। कुनै एनजीओ वा आईएनजीओको मुख ताक्नुपर्दैन।

हामीलाई फिल्मको समस्या छैन, ९० देशमा हाम्रो फिल्मको अन्तर्राष्ट्रिय नेटवर्क छ। फिल्ममेकरको पनि समस्या छैन। जुरी ल्याउन समस्या छैन, मिडियाहरूले साथ दिनुभएको छ। नभएको भनेको आर्थिक पाटो हो। नवौँ संस्करणसम्म पुग्दा धेरैले स्वयंसेवकका रूपमा काम गरिरहनुभएको छ। उहाँहरूलाई पारिश्रमिक दिन सकिने अवस्था छैन।

अहिले त ७५ प्रतिशत समय स्पोन्सर्स र फन्डिङ खोज्नलाई जान्छ। जसले गर्दा सिर्जनात्मक पाटोमा समय दिन सकिएको छैन। यदि आर्थिक पाटो बलियो हुन्थ्यो भने सिर्जनशीलतालाई बढी ध्यान दिएर फेस्टिबललाई धेरै माथि लान सकिन्थ्यो।

महोत्सव उत्साहका साथ आयोजना भए पनि दर्शकको भने अभाव नै हुन्छ, यस्तो किन भएको होला?

एक त महोत्सव भन्नेबित्तिकै अलिकति क्वालिटी फिल्महरू आउँछन्। संसारभरि नै आर्ट फिल्म हेर्ने दर्शक कमै हुनुहुन्छ। महोत्सवमा आउने फिल्महरूमा स्टार भएका फिल्महरू कम हुन्छन्। आर्टिस्टिक भ्यालु भएका फिल्महरू बढी हुन्छन्। त्यसले गर्दा यस्तोमा रुचि राख्ने दर्शक अलिकति कम हुन्छन्। भएका दर्शकहरू पनि बढी प्रोफेसनल भएकाले व्यस्त हुने र आउन नभ्याउने भएकाले अलि कम दर्शक देखिन्छ।

तर, हाम्रो फेस्टिबलमा दर्शकको त्यस्तो कमी पनि म देख्दिनँ। ६० प्रतिशत नै अकुपेन्सी हुन्छ। अहिले चाहिँ दर्शकले विश्वास गरेको फेस्टिबलमध्ये हामी पनि पर्छौं। अडियन्स त्यस्तो कम पनि हुँदैन। तर, हुनुपर्ने जस्तो पनि हुँदैन। किनकि स्टार भएका फिल्महरू अगाडि हलमा रिलिज गरिसकेका हुन्छन्। विदेशका कलाकारलाई नेपाली दर्शकले चिन्न पनि गाह्रो हुन्छ। कि कान्स, भेनिस जितेका फिल्महरूलाई ल्याउन सक्नुपर्‍यो। त्यसको लागि पैसा दिनुपर्छ। स्रोतकै कारण त्यो ल्याउन सक्दैनौँ। आर्ट फिल्म छान्ने हो। यस्ता फिल्मका दर्शकहरू अलि कम हुन्छन्। आम दर्शकभन्दा पनि विशेष दर्शकले बढी हेर्न भएकाले फेस्टिबलमा अलि दर्शक कमजस्तो देखिन सक्छ।

महोत्सवको ‘भेन्यु’ धेरै ठाउँमा भएर पनि दर्शक बाँडिएको हो?

भेन्यु चार ठाउँमा छन्। गतिविधि बढी भएकाले त्यस्तो देखिएको हो। कसलाई के बहस सुन्नुपरेको हुन्छ, कसलाई के वर्कसप। मल्टी भेन्यु, मल्टि एक्टीभिटी हुने भएकाले विभिन्न रुचि अनुसार दिन खोजिरहेका छौँ। नत्र एकै ठाउँमा फिल्म देखाएको भए त हल हाउसफुल हुन्थ्यो होला!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad