दार्चुलाको लिपुलेक क्षेत्रको छाङरुमा सशस्त्र प्रहरीले केही दिनमै भवन निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ।
बिहीबार सशस्त्र प्रहरी बलका इन्जिनियरले भवन बन्ने स्थानको अनुगमन गरी नाप नक्सा लिएका छन्।
छाङरुमा १५ रोपनी जग्गामा सशस्त्रले भवन निर्माण गर्न लागेको हो। करिव ९ करोडको लागतमा बन्ने भवनमा १ सय ६५ जना रहन सक्ने गरी भवन निर्माण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।
भवन निर्माण सम्बन्धी अध्ययन गर्दै सशस्त्रको इन्जिनियरको टोली
भवन निर्माणको प्रक्रिया केही दिनमै अगाडि बढ्ने सशस्त्रले जनाएको छ। सोही गुल्म मातहत रहने गरी त्यसक्षेत्रमा बोर्डर आउट पोस्ट बीओपी स्थापना गर्ने तयारी भइरहेको छ।
यसअघि बुधबार २५ जना सशस्त्र प्रहरीको टोली छाङरुमा पुगेको छ। तत्कालका लागि टोली व्यक्तिको घर भाडामा लिएर बसेको छ। भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि तत्काल सशस्त्र त्यसक्षेत्रमा खटाइएको हो।

सशस्त्रको बीओपी लिपुलेकभन्दा १३ किलोमिटर तल पर्ने सशस्त्रका दार्चुलास्थित गुल्मका डीएसपी डम्बरबहादुर बिष्टले बताए।

Shares

प्रतिक्रिया