अत्यावश्यकीय सेवा दिने पेसाकर्मी नै कोरोनाबाट संक्रमित हुन थालेपछि भाइरस समुदायमा फैलिने जोखिम झनै बढेको छ।
नेपालमा हालसम्म ३ जना स्वास्थ्यकर्मी, ६ जना सुरक्षाकर्मी र ३ जना सञ्चारकर्मी तथा २ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ। फ्रन्टलाइनमा खटिने यी पेसाकर्मी धेरै बढी मानिसको सम्पर्कमा रहने भएकाले समुदायमा फैलिने जोखिम बढेको चिकित्सकहरु बताउँछन्।
‘फ्रन्टलाइनमा खटिनेबाट धेरै मानिसलाई सर्नसक्छ। त्यसैले भाइरस समुदायमा छिटो भन्दा छिटो सर्नसक्छ,’ नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल भन्छन्।
अझ स्वास्थ्यकर्मीमा संक्रमण बढ्दा कोरोना संक्रमितको उपचारमा समेत समस्या उत्पन्न हुनसक्ने उनले बताए।
‘स्वास्थ्यकर्मी संक्रमित भए उनीहरुसँग सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मी पनि क्वारन्टिनमा राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसबाट भविष्यमा स्वास्थ्यकर्मी अभाव हुनसक्छ।’
बिहीबार मात्रै त्रिवि शिक्षण अस्पतालको न्युरो सर्जरी वार्डमा उपचाररत एक बालिकामा कोरोना संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जनालाई क्वारन्टिनमा पठाइएको छ। अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार १३ जना डाक्टरहरुले घरमै छुट्टै बस्छौं भनेको र बाँकी नर्स तथा कर्मचारीलाई अस्पतालकै क्वारन्टिनमा राखिने भएको छ।
याे पनि: शिक्षण अस्पतालका ३८ जना क्वारेन्टिनमा, १३ डाक्टर घरमै बस्ने
गत मंगलबार कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत नर्समा पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो। कुनै लक्षण नदेखिएकी उनी संक्रमण पुष्टि हुनुअघि घरबाटै अफिस धाउने गरेकी थिइन्। त्यसैले धेरै जना संशकित छन्। उनलाई हाल उपचारका लागि कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखिएको छ।
बुधबार बिहान इटहरीबाट फर्किएकी पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत नर्समा पनि संक्रमण भेटिएको थियो। काठमाडौं आएकै दिन स्वाब दिएर उनी भक्तपुरस्थित कोठामा गएकी थिइन्। संक्रमण देखिएपछि अहिले उनी बस्ने टोल र अस्पताल दुवैलाई सिल गरिएको छ।
यस्तै बुधबार साँझ वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालकी एक नर्समा पनि संक्रमण देखिएको छ। उनी कोरोना संक्रमितकै उपचारमा खटिएकी थिइन।
काम गरिरहकै स्वास्थ्यकर्मी संक्रमित हुँदा उनीहरुले अपनाएको सुरक्षाका उपायमाथि नै प्रश्न उठ्ने डा. रिजाल बताउँछन्।
‘कोभिडविरुद्धको लडाइँमा खट्नेहरुलाई हामीले पर्याप्त सुरक्षाका उपाय दिएर खटाउनुपर्छ,’ डा. रिजालले भने, ‘कार्यरत स्वास्थ्यकर्मी नै संक्रमित हुनु भनेको कि उहाँले सुरक्षित भएर काम गर्न सक्नु भएन नत्र संक्रमण समुदायमा ठूलो रुपमा फैलन थालिसकेको हुनसक्छ।’
फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरु पनि कोरोनाको चपेटामा आइसकेका छन्। एक महिना घर विदा बसेर ड्युटीमा फर्कने क्रममा गरिएको जाँचमा बुधबार भक्तपुरका एक सशस्त्र प्रहरीमा संक्रमण भेटिएको थियो।
यस्तै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार बुधबार साँझ जिल्लामा पुष्टि भएका नयाँ आठ जनामध्ये चार जना सुरक्षाकर्मी छन्। जसमा नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो। तीमध्ये एक प्रहरीका चालक छन्। चालक संक्रमित भएप्छि उनले दैनिक चलाउने गरेको सवारी साधनमा सवार अन्य प्रहरी त्रसित छन्।
बिहीबार बिहानै सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत प्रहरी पनि संक्रमण पुष्टि भएको थियो। उनी यसअघि पुष्टि भएकी चन्द्रागिरिकै एक महिलासँग कोहलपुरबाट सँगै यात्रा गरेर काठमाडौं आएका थिए। उनलाई हाल बलम्बुस्थित सशस्त्र प्रहरी बलको क्वारन्टिनमा राखिएको छ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीमाथिको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका मापदण्डहरु बनाएर देशभर सर्कुलर गरिएको छ।
‘काम गर्दा नेपाल सरकार र डब्लूएचओले बनाएको मापदण्ड आफू खटिएको स्थान र कार्यालयमा पालना गरी सुरक्षित रहन सबै कार्यालयलाई निर्देशन दिइएको छ,’ शाहीले भने, ‘नयाँ सरुवा भएर आएकालाई क्वारन्टिनमा राखेर मात्रै ड्युटीमा खटाउने व्यवस्था गरिएको छ। संक्रमित भइहाले प्रहरी अस्पतालमा २ सय बेड छुट्टाइएको छ।’
उनले सुरक्षाकर्मीको सुरक्षाका लागि मास्क र पञ्जाको व्यवस्था गरिएको र बढी नै संक्रमितसँगको सम्पर्कमा हुनेलाई पीपीईसम्मको व्यवस्था गरिएको जानकारी दिए।
यस्तै बुधबार नै कपिलवस्तुमा भेटिएका आठ संक्रमितमध्ये दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए। एक जना नगरपालिकाका सरसफाइकर्मी र अर्का नगरपालिकाकै कृषि शाखा प्रमुख रहेको नगर प्रमुख रजतप्रताप शाहले जानकारी दिए।
संक्रमण पुष्टि हुनुअघि उनीहरु राहत वितरण र भारतबाट आएकाको उद्धार कार्यमा सक्रिय रहेको तथा पालिकामा आउने जाने गरेकाले अरुलाई पनि संक्रमण फैलिएको सक्ने शाहले आशंका गरे।
बिहीबारसम्म संक्रमण पुष्टि भएका सञ्चारकर्मीमा वीरगञ्जका दुई जना र जनकपुरका एकजना छन्। मंगलबार पुष्टि भएका वीरगञ्जका पत्रकारहरु स्थानीय पत्रकार तिवारी यादवलाई प्रहरीले गरेको दुव्र्यवहारको विरोध कार्यक्रममा ३ दिनसम्म सहभागी थिए।
प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा पत्रकार महासंघको अगुवाइमा भएको उक्त आन्दोलमा संक्रमित पत्रकारसँगै दर्जनौं पत्रकारहरु जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए। उनीहरुले वीरगञ्जको घण्टाघर चोकमा धर्नासहितको प्रदर्शन समेत गरेका थिए।
सँगै आन्दोलन गरेका पत्रकारलाई संक्रमण भएपछि बुधबार अन्य पत्रकारहरुले नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि नमुना दिएका थिए। एक सय ४ जना पत्रकारसँगै संक्रमितको परिवारको सदस्यको नमुना संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए।
नेपाल पत्रकार महासंघले कोरोनाको उच्च जोखिमबीच पनि अग्रभागमा रहेर नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र भाइरसबाट प्रभावित बनेको भन्दै सबैको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया