कोरिया जाने कागजपत्र मिलाउन पोखराका घनश्याम सुवेदी आइतबार रात्रिबस चढेर काठमाडौँ आउँदै थिए। दोस्रो पटक कोरियाको तयारी गरेका घनश्याम बिहान काठमाडौँ पुगेर काम सक्ने योजना बुन्दै थिए। तर उनको कोरिया जाने सपना त्रिशूलीको किनारमा बिलायो।
सोमबार रातको साढे १ बजे उनी सहित ४४ जना सवार बस धादिङको बेनीघाट रोराङ–५, भैंसीगौँडास्थित पृथ्वी लोकमार्गमा सडकबाट २ सय मिटर तल त्रिशूली किनारमा खस्यो। बस दुर्घटनामा घनश्याम घाइते भएका थिए।
दुर्घटना भएको ५ घण्टापछि मात्र उनलाई प्रहरीले उद्धार गरी काठमाडौँ ट्रमा सेन्टर पुर्यायो। अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरे। टाउकोमा चोट लागेका उनले तत्काल उपचार पाएको भए बच्ने सम्भावना रहेको चिकित्सक बताउँछन्।
‘अस्पताल आइपुग्दा निकै ढिला भएका कारण उहाँलाई बचाउन सकिएन,’ ट्रमा सेन्टरका एक चिकित्सकले बताए।
घनश्याम २ छोरा–छोरी, श्रीमती र आमाबुबा सहित पोखरामा बस्दै आएका थिए। उनी ५ वर्ष कोरिया बसेर फर्केका थिए।
सोमबार राति धादिङको बेनीघाट रोराङ–५ मा पृथ्वी लोकमार्गमा सडकबाट २ सय मिटर तल त्रिशूली किनारमा खस्दा घनश्याम सहित १९ जनाले ज्यान गुमाए।
दुर्घटनामा तत्काल उपचार नपाएर ४३ वर्षीय लोप्साङ लामाको पनि ज्यान गयो। काठमाडौँ घर भएका लोप्साङ श्रीमतीसँग ल्होसार मनाउन पोखरा गएका थिए। घर फर्किंदा दुर्घटनामा उनको ज्यान गयो। सँगै रहेकी लोप्साङकी श्रीमती याङ्गीको हात भाँच्चिएको छ। ट्रमा अस्पतालमा उपचाररत याङ्गी तत्काल उपचार पाएको भए आफ्ना श्रीमान् बच्ने बताउँछिन्।
‘तत्काल उद्धार भएर अस्पताल लैजान सकेको भए मेरा श्रीमान् बाँच्थे। दुर्घटना भएको १ घण्टासम्म पनि कोही आएनन्। अस्पताल लैजान पाइएन,’ ट्रमा सेन्टरमा उपचाररत याङ्गी भन्छिन्, ‘उपचार नपाएर मेरो श्रीमान् मरे।’
उनले अन्य घाइतेहरूले छिटो अस्पताल लैजिदेऊ भन्दै सहयोग माग्दै रुन कराउन थालेको र केही समयमा बोल्दा–बोल्दै ज्यान गुमाएको बताइन्।
सडक दुर्घटनामा उद्धारमा ढिलाइ हुँदा धेरै जनाले सडकमै ज्यान गुमाउने गरेका छन्।
सडक दुर्घटनामा उद्धारसँगै उपचार पनि जोडिएको हुन्छ। दुर्घटनामा ज्यान गुमाउने अर्को कारण तत्काल उपचार नपाउनु पनि हो। घाइते भएकाहरूको तत्काल उपचार गर्न ट्रमा अस्पताल आवश्यक पर्छ। तर हाल देशभर एउटा मात्र ट्रमा सेन्टर छ। त्यो पनि काठमाडौँमा।
जसका कारण राजमार्गमा दुर्घटना भएका घाइतेलाई काठमाडौँ पुर्याउन नपुग्दै मृत्यु हुने गरेको छ।
सरकारले २०७६ सालमै सडक दुर्घटना तथा विपदमा परेकालाई विशेषज्ञसहितको उपचार गर्न ट्रमा सेन्टर खोल्ने निर्णय गरेको थियो। निर्णय भएको ७ वर्षसम्म पनि ट्रमा सेन्टर खोल्ने प्रक्रिया अघि बढेको छैन।

ट्रमा अस्पताल किन आवश्यक छ?
राष्ट्रिय ट्रमा सेन्टरका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रमोद जोशीका अनुसार सडक दुर्घटना, प्राकृतिक विपत्ति वा अन्य आकस्मिक कारणले गम्भीर चोटपटक लागेका बिरामीहरूको तुरुन्त उपचार गर्न ट्रमा अस्पताल आवश्यक पर्छ।
ट्रमा गम्भीर चोटपटक लागेका बिरामीहरूको विशेष र तत्कालीन उपचार दिने विशिष्टीकृत अस्पताल हो। यो सामान्य अस्पतालभन्दा फरक हुन्छ किनभने यहाँ दुर्घटना, चोटपटक, आगलागी, प्राकृतिक प्रकोप जस्ता कारणले ज्यान जोखिममा परेका व्यक्तिहरूको लागि मात्रै केन्द्रित सेवा हुन्छ।
यस्तो अस्पतालमा सबै रोगका चिकित्सक आवश्यक पर्छ। न्युरो, मुटु, कार्डियोथोरासिक, अर्थोपेडिक सर्जन, प्लास्टिक सर्जन, एनस्थेसिया, रेडियोलोजिस्टलगायतका चिकित्सकको टोली सधैँ तयारी अवस्थामा बस्नुपर्छ। ट्रमा अस्पतालमा शल्यक्रिया कक्ष, आईसीयू, भेन्टिलेटर कक्ष, सीटी स्क्यान, एमआरआई, एक्स–रे, ब्लड बैंकलगायतका सबै सेवा आवश्यक पर्छ। तर नेपालमा एउटामात्र अस्पताल भएकाले धेरै ट्रमा बिरामीले समयमा नै उपचार पाउँदैनन्। र, अकालमै मृत्यु हुने गरेको डा जोशी बताउँछन्।
उनी दुर्घटनाको जोखिम रहेका राजमार्गमा ट्रमा सेन्टर आवश्यक रहेको बताउँछन्।
‘राजमार्गमा ट्रमा सेन्टर खोल्दा सडक दुर्घटनामा घाइतेहरूको तत्काल ज्यान बचाउन सकिन्छ। सडक दुर्घटनामा धेरैको टाउकोमा चोट लाग्ने गरेको छ। दुर्घटनापछि पनि तत्काल उद्धार भएर अस्पताल पुर्याउन सकियो भने बचाउन पनि सकिन्छ,’ उनी थप्छन्, ‘ट्रमा सेन्टर चाहिन्छ भनेर नै ७ वर्षअघि निर्णय गरिएको थियो। तर अहिलेसम्म काम अघि बढेको छैन।’
डा जोशी तत्काल सातै प्रदेशमा ट्रमा सेन्टर खोल्न नसके राजमार्गका अस्पतालमा ट्रमा युनिट राख्नु पर्ने बताउँछन्।
उनी भन्छन्, ‘जनशक्ति र उपकरण सहित ट्रमा युनिट राख्न सकियो भने तत्काल जोखिम कम गराउन सकिन्छ। त्यसपछि घाइतेलाई अस्पताल पुर्याउन सकियो भने धेरैको ज्यान बच्छ।’
उनी राजमार्गमा भने ट्रमा सेन्टर नै चाहिने बताउँछन्। राजमार्गमा गम्भीर दुर्घटनाका बिरामी हुने हुँदा ट्रमा युनिटले सबैको उपचार गर्न नसकिने उनको भनाइ छ।
ट्रमा सेन्टर भनेको धेरैको बुझाइमा हाडजोर्नीको अस्पताल रहेको भन्दै डा जोशीले ट्रमा सेन्टरमा तत्काल सबै उपचार गर्न सक्ने दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने बताए।
‘ट्रमा सेन्टरमा हरेक किसिमको ट्रमालाई उपचार गर्न सक्ने जनशक्ति हुनुपर्छ। टाउकोमा गम्भीर चोट लागेको छ भने न्युरो सर्जन चाहिन्छ। छातीमा चोट लागेको छ भने कार्डियो–भास्कुलर तथा थोरासिक सर्जन चाहिन्छ। अर्थोपेडिक चाहिन्छ। उपकरणदेखि सबै जनशक्ति चाहिन्छ। त्यसकारण सबै प्रदेशमा विस्तार गर्न आवश्यक छ,’ उनले भने।
उद्धारकर्तालाई तालिमको अभाव
डा. जोशी दुर्घटनापछि उद्धार कसरी हुन्छ, त्यो सबैभन्दा महत्वपूर्ण हुने बताउँछन्।
दुर्घटनामा घाइते च्यापिएको, पुरिएको हुन सक्छ। त्यहाँबाट कसरी उद्धार हुन्छ, घाइतेलाई कसरी निकालिन्छ, ख्याल गर्नुपर्ने बताउँछन्। उद्धार गर्दा पनि ढाडमा चोट लागेको छ भने निकाल्दै तान्दै निकालियो भने घाइतेको मेरुदण्डमा असर पर्न सक्ने र त्यसले घाइतेको ज्यान बचे पनि अंगभंग हुन सक्ने उनले बताए। त्यस्तै, खुट्टामा चोट लागेको छ र उद्धार गर्दा मिलेन भने अत्यधिक रक्तश्राव भएर मृत्यु हुन्छ।
दोस्रोमा, अस्पताल पुर्याउने एकदमै महत्वपूर्ण हुन्छ। त्यसलाई ‘प्रि–हस्पिटल केयर’ भनिन्छ।
‘एम्बुलेन्समा राखिसकेको अवस्था र एम्बुलेन्समा राख्नुअघि कस्तो सुविधा दिन सक्छौँ, त्यसले पनि धेरै महत्व राख्छ। रक्तश्राव भइरहेको छ भने रक्तश्राव रोक्ने उपाय गर्नुपर्छ। अक्सिजन दिनेदेखि अस्पताल नपुग्दै अति आवश्यक प्रक्रिया गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि एम्बुलेन्स, उपकरण, औषधि र दक्ष जनशक्ति पनि चाहिन्छ।’
डा जोशी दुर्घटनापछि जीवन बचाउने र अपाङ्गता हुनबाट बचाउनेगरी सावधानी अपनाउनुपर्ने बताउँछन्।
ट्रमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्र मरासिनी अस्पताल आउनुभन्दा अघि बिरामी बचाउने तालिमको पनि अभाव रहेको बताउँछन्। दुर्घटनापछि बिरामीलाई तत्काल कसरी उद्धार गर्ने, अस्पताल पुर्याउनअघि के गर्ने भन्ने तालिमको आवश्यकता रहेको उनले बताए।
‘सडक दुर्घटनामा परेकाहरूको उद्धार गरिसकेपछि जीवन बचाउनु पर्छ। त्यसलाई ‘प्राइमरी लाइफ–सेभिङ’ भनिन्छ। त्यो तालिम दुर्घटनामा निकै महत्वपूर्ण हुन्छ। त्यसका लागि स्थानीय स्वास्थ्यकर्मीलाई, पारामेडिक्सलाई तालिम दिनुपर्छ,’ उनी थप्छन्, ‘सुरक्षाकर्मीदेखि एम्बुलेन्स चालकहरूलाई दुर्घटनापछि घाइतेलाई अस्पताल पुग्दासम्म कसरी बचाउने भनेर तालिम दिनु पर्ने हुन्छ।’
यस्तो तालिम प्राप्त जनशक्ति नभएको डा मरासिनी बताउँछन्। उनी ट्रमा सेन्टर बनाएर मात्र घाइतेको ज्यान बचाउन नसकिने तर्क गर्छन्।
‘अस्पतालमा पुर्याउनुभन्दा अघि प्रि–हस्पिटल केयर राम्रो हुनुपर्छ। त्यसैको अभावका कारण घाइतेहरूको अस्पताल नपुग्दै मृत्यु हुन्छ,’ उनले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी सरकारले सात प्रदेशमा ट्रमा सेन्टर बनाउने भनेर नीतिगत निर्णय गरेको बताउँछन्। उनले आर्थिक वर्ष २०७९/०८० मा बजेट नै विनियोजन भएको तर प्रक्रिया अघि नबढ्दा रकम फ्रिज भएको बताए।
‘प्रदेश सरकारले ट्रमा सेन्टर बनाउने जग्गा खोज्ने र केन्द्र सरकारले बनाउने भनी निर्णय भएको थियो। तर धेरै प्रदेशमा जग्गा खोजीको विषय विवादमा परेका कारण प्रक्रिया सुरु भएको छैन,’ उनले भने, ‘तीन वर्षदेखि विनियोजन भएको रकम फ्रिज भइरहेको छ।’
प्रवक्ता बुढाथोकीले नवलपरासीको देवचुलीमा र दाङको लमहीमा भने ट्रमा सेन्टर बनाउन भवन निर्माण सुरु भएको बताए।
उनले भरतपुर अस्पतालले २५ शय्याको ट्रमा युनिट सुरु गरेको जनाए। कोसी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा जग्गाको विवादका कारण प्रक्रिया अघि नबढेको प्रवक्ता बुढाथोकी बताउँछन्।
Shares

प्रतिक्रिया