लुम्बिनी


सुकुमवासी बस्तीमा मत माग्न पुगेका विश्वदीपले जब भने: म पनि लालपुर्जाविहीन नागरिक हुँ

सुकुमवासी बस्तीमा मत माग्न पुगेका विश्वदीपले जब भने: म पनि लालपुर्जाविहीन नागरिक हुँ

नेपालखबर
फागुन १२, २०८२ मंगलबार २१:२८, बुटवल

‘अघिपछि नेताहरू आउँदै आउँदैनन्। चुनावका बेला दिनदिनै भोट माग्न आउँछन्। आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्केर आउँदैनन्।’

स्थानीयले यस्तो गुनासो गरिरहेका बेला मंगलबार दिउँसो रुपन्देहीको सैनामैना-१ पेरिसडाँडा टोलमा टुपलुक्क पुगे रुपन्देही-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’। उनीसँगै पुगेका थिए- तारा चुनाव चिह्न अंकित झन्डा बोकेका सैनामैनाकै राजनीतिक अगुवाहरू पनि। भोट माग्न उनीहरू त्यहाँ पुगेका थिए।

सैनामैनाका बासिन्दा भने आफूले भोगचलन गरिरहेको घरजग्गाको लालपुर्जा पाउन नसकेकामा चिन्तित थिए।

त्यसो त नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका ‘विश्वदीप’ स्वयं त्यही पीडामा छन्। किनकि उनी पनि सैनामैनाकै बासिन्दा हुन्। 

बस्तीको चोकमा जम्मा भएका मतदाताले उनलाई समस्या सुनाउन थाले। सडकमा नाली व्यवस्थित नहुँदा वर्षाको समयमा वस्ती डुबानमा पर्ने गरेको, पक्की सडकको निर्माण र रोजगारीको समस्यासँगै उनीहरूले आफ्नै भूमिको अधिकारबाट वञ्चित भएर सुकुमवासी बन्नुपरेको नमिठो पीडा सुनाए।

यसपछि विश्वदीपले स्थानीय बासिन्दालाई सम्बोधन गर्दै भने, ‘मेरो घर पनि सैनामैना वनकट्टामै पर्छ। म स्वयं पनि लालापुर्जाविहीन नागरिक हुँ। आफ्नो घरको लालापुर्जा नहुँदाको पीडा मैले पनि भोगिरहेको छु।’

उम्मेदवार पाण्डेलाई नचिनेका केही स्थानीयले भने खासखुस गर्न थाले। उम्मेदवार पाण्डे सैनामैनाकै बासिन्दा हो भन्ने कुराले उनीहरूको ध्यान खिच्यो। 

पाण्डेले थपे, ‘आज बुटवललाई बाहिरबाट जति चिटिक्क र सुन्दर देखाए पनि हजारौँ नागरिकले भूमिमाथिको अधिकार प्राप्त गर्न सकेका छैनन्। त्यसैले यसपटक तारा चुनाव चिह्नमा मतदान गरेर मलाई संसद्‌मा पठाइदिनुहोस्। म तपाईंहरूकै प्रतिनिधि बनेर, लालापुर्जाविहीन सबै नागरिकको समस्या समाधान गर्न विशेष पहल गर्नेछु। र, सबैको लालपुर्जा व्यवस्थित रूपमा उपलब्ध गराउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनी बोलेर सक्दा नसक्दै स्थानीयले मत माग्न आएकाहरूसँग नै उम्मेदवार विश्वदीपको विगत बुझिसकेका थिए।

उनी स्व. भक्ति पाण्डेका छोरा हुन् भन्ने बुझेपछि खुलेर स्थानीयले भने, ‘आफ्नै सम्पत्ति भएर पनि सुकुमवासी भइयो। हामीलाई आश्वासन नदिनु, बरु पुर्जा दिलाउन पहल गर्नू। हाम्रो आशीर्वाद छ।’

तर यत्ति कुराले उम्मेदवार पाण्डेको मन खुस भएन। किनकि उनलाई चुनाव त लागेको थियो नै, त्यो भन्दा आफ्ना बुवा स्व. भक्ति पाण्डेले विगतको निर्वाचनमा देखेको सपना पूरा नभएमामा अफसोस पनि थियो।

उनले खुलेरै स्थानीयसँग भने, ‘निर्वाचनमा विजयी भएपछि मैले यो भूम‍ि र यहाँका बासिन्दालाई धोका दिने छैन। बुबाको सपना पूरा गर्छु। लालपुर्जा दिलाएरै छाड्ने छु।’

सैनामैना यस्तो बस्ती हो, जसको जगबिना बुटवलको विकास अधुरो र अपूरो हुन्छ। सैनामैनाका टोलटोलमा घरदैलो गरिरहेका नेकपाका उम्मेदवार पाण्डे अहिले यही कुरा स्थानीयलाई बताइरहेका छन्।

‘सैनामैनाको विकासले नै समग्र रुपन्देहीको विकासको ढोका खोल्न सक्दछ। त्यसैले यहाँका बासिन्दाको भूमिमाथिको पूर्ण अधिकार लालपुर्जाको ग्यारेन्टी गरिने छ,’ उनले भने।

सैनामैना नगरपालिकाका जनप्रतिनिधि भुवनबहादुर क्षेत्रीका अनुसार पालिकाभित्र १६ हजारभन्दा बढी अव्यवस्थित बसोबासी छन्। तीमध्ये वडा नं १ का एक सय ७३ वटा लालपुर्जा मात्र हालसम्म बाँडिएको छ। यस वडामा मात्रै झण्डै ४ हजार पाँच सयले राजस्व बुझाउने गर्दछन्। तर अधिकांश वडामा नापजाँच नै भएको छैन।

सैनामैनाका वडा नं २, ३, ४, र ७ मा नापी भएपनि केही ठाँउमा नापजाँच हुन बाँकी रहेको एवं अन्य वडामा नापी नै नभएको जनप्रतिनिधि क्षेत्रीले बताए। उनले कैयौँ वडामा पुरानो पुर्जावाला र ऐलानी जग्गा रहेको उल्लेख गरे।

उनले भने, ‘विगतदेखि अहिलेसम्म अव्यवस्थित बसोबासी र सुकुमवासीका पक्षमा कुनै पनि सरकारले काम गर्न सकेनन्। इच्छा शक्ति भए सैनामैनामा ६ देखि ८ महिनामै सबैलाई लालपुर्जा दिलाउन सकिन्छ।’

यद्यपि निर्वाचन क्षेत्र नं २ मा सैनामैनाका वडा नं १, २ , ३ र ४ मात्रै पर्दछन्।

अव्यवस्थित र सुकुमवासी समस्या सैनामैनाको मात्र  होइन, रुपन्देही क्षेत्र नं २ मा पर्ने बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा पनि छ।

निर्वाचनका बेला यी ठाँउका बासिन्दाले दैलोमै लालपुर्जा पाउने आश्वासन पाउँछन्। तर निर्वाचन जितेपछि नेताहरू फर्केर आउँदैनन्। 

उम्मेदवार विश्वदीपले भने आफूले चुनाव जितेमा बोलेको कुरा पूरा गर्ने दाबी गरे। 

भोट तान्न बोलेको त होइन नि भन्ने प्रश्नमा उनले भने, ‘मैले अहिले नै बोलेका कुरा नगरेर राजनीतिक भविष्य धरापमा पार्नु छैन। अरूले बोले, काम गरेनन्। मैले बोलेको पनि छु, काम पूरा गरेर पनि देखाउँछु। कानुनसम्मत हुने काम पनि नभइरहेको अवस्थालाई अन्त्य गर्न पहल लिन्छु।’

बुटवलको वडा नं ११ मा सबैभन्दा धेरै अव्यवस्थित र सुकुमवासी वस्ती छन्। त्यहाँका झन्डै १९ हजार मतदातामध्ये ५० प्रतिशत अव्यवस्थित बसोबासी छन्। त्यस्तै वडा नं. १, २, १८ र १९ पनि सुकुमवासी धेरै भएका वडा हुन्। त्यसबाहेक तिलोत्तमाको वडा नं १, २, ३, ४, ५, र ६ वडा पनि यही क्षेत्रमा पर्दछन् ।

तिलोत्तमामा पनि अव्यवस्थित र सुकुमवासी समस्या छ। वडा नं ३, ४ र ६ मा लालपुर्जा नपाएका बसोबासी बढी छन् भने अन्य वडामा पनि पुर्जाविहिन बासिन्दा छन्।

तिलोत्तमामा पनि अव्यवस्थित र सुकुमवासीको समस्या उस्तै छ। १ लाख ३५ हजार ५० मतदाता रहेको यो क्षेत्र सबैभन्दा बढी सुकुमवासी र अव्यवस्थित बसोबासी रहेको क्षेत्र हो

सुकुमवासी र भूमिहीन मतदाताले आउँदो २१ गते जसलाई मत दिन्छन्, त्यही उम्मेदवार विजयी हुने सम्भावना बढी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad