समाज


चुनावी लफडाको केन्द्रबिन्दु दोलखामा एसएसपीको कमान्डमा छुट्टै बेस राखिने

९५ मध्ये ८० मतदान केन्द्र संवेदनशील
चुनावी लफडाको केन्द्रबिन्दु दोलखामा एसएसपीको कमान्डमा छुट्टै बेस राखिने

उजिर कार्की
माघ १४, २०८२ बुधबार २२:२६, काठमाडौँ

यसअघिका निर्वाचनमा बारम्बार लफडा हुने दोलखामा सुरक्षाको विशेष व्यवस्था गरिने भएको छ। बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक रेग्मीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुपसाद ढकालको नेतृत्वमा दोलखामा बेस स्थापना गर्ने बताए।

दोलखामा जिल्ला प्रहरी कार्यालयको कमान्ड भने डीएसपीले गर्छन्। निर्वाचनको आचारसंहिता सुरु हुने अन्तिम दिन मात्रै दोलखामा प्रहरी प्रमुख पनि हेरफेर गरिएको छ। 

दोलखामा डीएसपी मनोजकुमार लामालाई खटाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत लामालाई दोलखा सरुवा गरेर त्यहाँ कार्यरत ज्ञानकुमार महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ। 

‘दोलखाको चुनावी सुरक्षा अवस्थाबारे जानकार छु। त्यही अनुसार सुरक्षा योजना बनाइन्छ र निष्पक्ष, भयरहित वातावरणका लागि शान्ति सुरक्षाको व्यवस्था हुन्छ,’ डीआईजी रेग्मीले नेपालखबरसँग भने। 

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख समेत रहेका एसएसपी ढकालको नेतृत्वमा तीन जिल्ला हेर्ने गरी दोलखामा बेस रहने छ। दोलखा बेस बनाएर रहने टोलीले रामेछाप र सिन्धुलीलाई पनि थप मद्दत गर्नेछ। तर अन्य जिल्लामा केही लफडा परेर थप मद्दत आवश्यक परे मात्रै जाने गरी दोलखामा विशेष टोली राख्ने तयारी भएको हो। 

देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामा दोलखालाई राखिएको छ। दोलखामा ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये १५ वटा मतदान केन्द्र मात्रै सामान्य छन्। ५२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलका रुपमा लिइएको छ। २८ वटा मतदान केन्द्र संवेदनशील छन्। 

दोलखाका संवेदनशील हरेक मतदान केन्द्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्ने गरी सुरक्षा योजना बनाइएको छ। थप योजना बनाउन प्रदेशका सुरक्षा प्रमुखहरू पनि दोलखा जाने तयारीमा छन्। 

अहिलेको अवस्था अनुसार वर्गीकरण गरिएकाले सामान्य रहेका मतदान केन्द्रमा पनि सुरक्षा चुनौती बढे जिल्ला सुरक्षा समितिले थप सुरक्षा व्यवस्था गर्न सक्छ। दोलखामा १ लाख ७० हजार ३२१ मतदाता रहेका छन्। 

दोलाखामा यसपालि दलभन्दा बढी स्वतन्त्र उम्मेदवार छन्। १४ दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिँदा १९ जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। 

प्रमुख चार दलबाट एमालेका पार्वत गुरुङ, कांग्रेसका अजयबाबु सिवाकोटी, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल उम्मेदवार छन्। 

यीमध्ये सिवाकोटी नयाँ उम्मेदवार हुन्। पार्वत गुरुङ २०७० र २०७४ सालमा पनि निर्वाचित भएका थिए। विशाल खड्का २०७४ सालमा प्रदेश सांसद बनेका थिए। रास्वपाका खरेल गएको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए। 

२०७९ को निर्वाचनमा पनि दोलखामा लफडा भएको थियो। तामाकोसी र वैत्यश्वरका ४ वटा मतदान केन्द्रमा पुनः मतदान गरिएको थियो। त्यतिबेला दोलखामा पुनः मतदान हुँदा अहिले बागमती प्रदेश प्रहरी प्रमुख रहेका रेग्मीको टोली खटिएको थियो। 

हरेक निर्वाचनमा दोलखामा बुथ कब्जा गर्ने गरेको आरोप दलहरूले एकअर्कालाई लगाउने गरेका छन्। यस्तै पछिल्ला हरेक चुनावमा प्रहरीले गोली चलाउनु परेको छ। 

यसपालि प्रशासनले पहिल्यैबाट दलहरूसँग शान्ति सुरक्षाका विषयमा छलफल गरिरहेको र दलहरू शान्तिपूर्ण रुपमा चुनाव लड्न तयार रहेको नेपाली कांग्रेसका दोलखा सभापति बर्मा लामाले बताए। 

नेकपाका उम्मेदवार विशाल खड्काले पनि यसपटक दोलखाले पुरानो छाप मेट्ने र बुथ क्याप्चर गर्नेलाई निस्तेज पारेर यसपालि देखाउने दाबी गरे। एमाले उम्मेदवार पार्वत गुरुङले चुनावी रणनीति र योजनाको विषयमा छलफल गरिरहेको बताएका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad