‘मान्छे इमानका पक्का थिए; अझ सामाजिक थिए। बिचरा बितेछन्।’
फेसबुकमा कसैले पोस्ट्याएको टङ्क दाइको फोटोमाथि हार्दिक श्रद्धाञ्जलीका शब्दहरू देखेर मोबाइलमा फेसबुक चलाइरहेका मास्टर लामो सास तानेर फुस्फुसाए। एकछिन सोचमग्न भए। एकातिर उनको मृत्युको दुःखद खबर, अर्कातिर मलामी जान नसक्नुको पीडा! एकछिन माड्साबलाई असह्य भयो।
गाउँमा अरु मान्छे पनि मर्थे तर उनी यति पिरोलिएका हुँदैनथे। आज भने टङ्क दाइको मृत्युको खबरले उनी केही भावुक भए। शिक्षकको पेसागत तालिममा पन्ध्र दिनका लागि कलैयाको असारे गर्मीमा उसिनिएर बसेका उनी फुत्त गाउँ पुगेर मलामी जाने अवस्था पनि थिएन।
माड्साब गाउँमा मर्दापर्दा सामाजिक काममा अगाडि नै सर्थे। मृत्यु भएकाको मलामी जान र बिहे हुनेको जन्ती जान वा बेहुली पक्षको निमन्त्रणामा जान मास्टर पछि सर्थेनन्। कहिलेकाहीँ स्कुल टाइममा मलामीको लर्को खोलातिरको बाटो लाग्दा उनी खिन्न मान्थे; मलामी जान नसकेर। मर्नेहरूलाई शनिबार वा बिदाको दिन पारेर मरिदेऊ न त भन्न पनि नमिल्ने! बरु जन्ती नजाँदा ‘स्कुल बिदा थिएन त्यसैले मास्टर आएन’ भन्ने हुन्थ्यो।
स्कुल चलिरहँदा पढाउनु पर्ने कक्षा नै छोडेर मलामीमा सरिक पनि हुन नसकिने! यस्तो बेलामा चाहिँ मास्टर आफ्नै पेसासँग मुर्मुरिन्थे। तर स्कुल समयभन्दा बाहिरको समय, अझ बिहान बेलुकातिर वा बिदा भएका बेला परे गाउँटोलका जोकोही मर्दा पनि उनी मलामी गएकै हुन्थे। बरु बिहेको निम्तो मान्न जाने सवालमा उनी आवश्यक परेका ठाउँमा मात्र देखिन्थे।
आज भने टङ्क दाइको मलामी जान नपाउँदा चाहिँ उनले साह्रै नराम्रो माने। खासमा टङ्क दाइको विशेष परिचय नै असल मलामी हुनु थियो। गाउँका मानिस मर्दा सबैभन्दा खास्सा मलामी नै उनी थिए। माड्साबका नजरमा टङ्क दाइ थुप्रै मानवीय कमजोरीसहितका एक असल सामाजिक मनुवा थिए। टङ्क दाइका कमजोरी रक्सी पिउनु र तास खेल्नु थियो। यी दुईलाई उनको जीवनबाट अलग गरेर हेर्ने हो भने टङ्क दाइ मानव नभएर महामानव नै हुन्थे होला।
‘जो मान्छे जस्तो छ, उसलाई त्यही रूपमा स्वीकार गर्नु पनि त एउटा खुबी हो।’ धेरथोर दर्शनको अध्ययन गरेका मास्टरको यस्तै बुझाइ थियो। उनी सोच्थे, ‘सायद सर्वगुण सम्पन्न मानिसहरू संसारमा बिरलै होलान्। खोट खोज्दै हिँड्ने हो भने महामानव भनिएकाहरूको पनि बग्रेल्ती कमजोरी भेटिन्छन्। नकारात्मकता खोज्नेहरूले सुन्दरताको पगरी गुथेको चन्द्रमामा पनि कालो धब्बा देख्छन्। सकारात्मकता खोज्ने हो भने जस्तोसुकै मानिसमा पनि धेरथोर भेटिन्छ। मानिसलाई उसका केही कमजोरीको छिद्र खोतलेर राक्षसीकरण गर्नु वा केही राम्रा गुण देखेका भरमा देवत्वकरण गर्नु दुवै ठीक छैन। साँच्चै भन्ने हो, कुनै पनि मानिस शत प्रतिशत ठीक वा शत प्रतिशत बेठीक हुनै सक्दैन।’
माड्साबका नजरमा टङ्क दाइ कमजोरीसहितका असल मानिस थिए। ‘ओहो! गाउँका जो कोही मानिस मर्दा उसको घरसम्मै पुगेर लासलाई घाटसम्म पुर्याउने कामको अगुवाइ लिने, घाटमा बनाइने चिता तयार पार्ने र लास जलाउने काममा सरिक हुने टङ्क दाइको मलामी चाहिँ को–को गए होलान्?’ सोचाइमा डुबेका माड्साब झल्यास्स भए।
त्यति मात्र होइन, मलामी जाँदा निन्याउरो अनुहार लाएर बसेका मृतकका आफन्तदेखि मलामी गएका सबै मानिसलाई अनेक उट्पट्याङ गरेर हँसाइदिने खुबी टङ्क दाइमा थियो। लास जल्न थालेपछि खोलाका बगरमा बसेर गाउँ–समाजका अनेक सन्दर्भ, आफू सिकार खेल्न जंगल जाँदाका किस्साहरू, आफ्नो जागिरे जीवनका रमाइला घटनाहरू बडा रोचक ढङ्गले सुनाउँथे उनी। थोरै पढेलेखेका भए पनि प्रशस्त भाषिक बिम्बहरूको प्रयोग गर्ने उनी रक्सीलाई ‘उखु’ भन्थे।
मानिसहरूले परिवार नियोजन अर्थात् स्थायी बन्ध्याकरण गर्नुलाई ‘बँधिया गरेको’ भन्थे। अलिअलि तामाङ भाषा, अलिअलि मगर भाषा अनि आफ्नै पाराको पाल्सी भाषा बोलेर उनी रमाइला कुरा गर्थे। मानिसहरूको कमजोरीलाई घुमाउरो शैलीमा व्यङ्ग्य गरेर हाँसोको फोहोरा उडाइदिन्थे। कुनै मानिस हिँड्दा, खेल्दा लड्यो भने जिस्किएर ‘त्यहाँ भुइँ भत्केला, अलिक विचार पुर्या एर लड’ भनेर मान्छेको लडाइभन्दा पनि जमिन भत्कनेमा ध्यान गएको देखाएर हास्य सिर्जना गरिहाल्थे। उनको कुरा गराइनै रोचक, घोचक र हास्यपूर्ण हुन्थ्यो। साराका सारा मानिसलाई आफूतर्फ केन्द्रित गराई मज्जाले हाँस्ने पार्नु र सार्वजनिक जमघटलाई उल्लेख्य बनाउनु दाइको खुबी नै थियो।
हरेक जन्तीमा, हरेक मलामीमा, अन्य ग्रामीण जमघटमा मानिसहरूको आँखाले टङ्क दाइलाई खोजिहाल्थ्यो।
टङ्क दाइका विगत कोट्याउँदै जाँदा माड्साबले पुराना दिनहरू सम्झन थाले। वर्षौँअघि आफू एक–दुई कक्षातिरको विद्यार्थी हुँदाका बखत पहिलो चोटि यिनले टङ्क दाइलाई देखेका थिए। होचो–होचो कदकाठीका टङ्क दाइ उतिबेला प्रायः छत्रे टोपी लाउँथे; तर पछि त्यो टोपी लाउन छोडे। जाडोमा आर्मीको कम्ब्याट कलरको ठूलो ज्याकेट लाउने र गर्मीमा सामान्य गन्जी लाएरै गाउँ–टोलतिर टङ्क दाइ प्रकट हुन्थे। बालक दिमागले पहिलो चोटि देख्दा टङ्क दाइ आर्मी रहेछन् भन्ने उनलाई लागेको थियो। पछि बुझ्दै जाँदा उनी त एक सरकारी अड्डाको श्रेणीविहीन कर्मचारी रहेछन्। ड्युटीको समयमा कार्यालयमा रहे तापनि बिहान–बेलुका वा शनिबारका दिनतिर उनी गाउँ–टोलमै उपलब्ध हुन्थे।
दसैँमा देखाइने नाटक, गाउँमा हुने फुटबल टुर्नामेन्टमा उनी सबैभन्दा भरलाग्दा स्वयंसेवक हुन्थे। यस्ता जमघटमा टोले गुन्डा र फटाहा भँडुवाहरूले भाँडभैलो गरेर कार्यक्रम बिथोल्दिने भएकाले त्यस्तासँग मुकाबिला गर्न टङ्क दाइ तयारी अवस्थामा हुन्थे। होचो तर कराँतिलो शरीर परेका उनी एक–दुई जनालाई त फाँडेर हिँड्न सक्ने नै थिए उमेरमा। अझ गाउँमा दसैँको फूलपातीको एक दिनअघि रातको समयमा स्कुल चौरमा देखाइने नाटकको बेला दर्शकदीर्घामा बसेर स्वयंसेवक भई नाटक सफल पार्ने भूमिका उनकै हुन्थ्यो। अर्को गाउँबाट आएका फटाहा केटाहरू नाटक बिथोल्न होहल्ला मच्चाउँथे र झगडा सुरु गर्थे; त्यस्तासँग ‘वान म्यान आर्मी’ शैलीमा लडेर भए पनि नाटक बिथोलिनबाट रोक्थे। सानातिना झडप र पाक्कपुक्क परिरहन्थ्यो तर टङ्क दाइ रत्तिभर नडग्मगाई हनुमान बनेर नाटक सफल पारेरै छोड्थे।
‘मानिसहरूको स्वभाव र जीवन जिउने शैली पनि आ–आफ्नै तरिकाको हुने!’ टङ्क दाइलाई सम्झिएर मास्टर फेरि सोचमग्न भए। कोही मानिस किन यति धेरै सामाजिक हुन्छ? घरपरिवारसँग भन्दा पनि सार्वजनिक जीवन बाँच्नमा रमाउने, गाउँमा मर्दापर्दा सबैभन्दा पहिले पुगेर सहयोग गर्नुपर्ने! केटातर्फबाट बिहेको निम्तो आए जन्ती जान तयार, केटीतर्फबाट निम्तो आए भतेर पकाउनमा अगाडि सर्ने। मलामी जानु परे लास बोक्नदेखि चिता तयार पारेर जलाई सकेर मात्र फर्कनु पर्ने। अझ रातको समयमा किरियापुत्री रुँग्नलाई मान्छे मरेको घरमा भर रात तास खेलेर बिताइदिने! श्रीमती–छोराछोरी भन्दा पनि समाजकै पिरलो! सामाजिक दायित्व पूरा गर्दै जाँदा अफिसमा गयल परेको पनि मतलब नराख्ने! ‘हैन, यी दाइ कुन चाहिँ धातुले बनेका रहेछन्?’ प्रायः उनलाई धेरथोर बुझेकाहरू पनि यसै भन्थे।
उनी कसैलाई देखाउन यतिसम्मको सामाजिक भएका पनि होइनन्। न त समाजसेवा र मानवसेवाको ढोल पिटेर उनलाई कुनै लाभको पदमा पुग्नु थियो। न त राजनीतिको रोटी सेक्नु थियो। न त सेवा गरेको फोटो खिचाएर आत्मरतिमा रमाउनु थियो। उनलाई त मात्र थाहा थियो; मर्दापर्दा सहयोग गर्नुपर्छ। सामाजिक कर्तव्य पूरा गर्न पाउँदा प्रसन्न रहने, सदा सर्वदा हँसिलो, रसिलो, बोलाइलो, चड्किलो मानौँ सामाजिक दायित्व पूरा गर्नु मात्र उनको ठेक्का हो! टङ्क दाइ गीता पाठ गर्ने पण्डित त हुँदै होइनन् तर तिनको सेवाभावले उनी कुनै निष्काम सेवीझैँ प्रतीत हुन्थे।
समाजका लागि सहयोगी भए पनि आफ्नै स्वास्थ्य र शरीरका लागि भने टङ्क दाइ सहयोगी हुन सकेनन्। साँझ पर्नासाथ चुस्स दारु लाएर चुरोटको धुँवा उडाउँदै उनी मानिसहरूसँग रमाइला कुरा गर्नमा तल्लीन हुन्थे। दारु खाएर मातेर भाँडभैलो मच्चाउन भने उनले जानेनन्। अझ भन्नुपर्दा, जति नै दारु खाए पनि उनले टोल–छिमेक र सिङ्गो समाजलाई कहिल्यै गुनासो गर्ने ठाउँ दिएनन्। परिवार चलाउन खर्चिनु पर्ने उनको आम्दानीको ठूलो हिस्सा रक्सी र जुवातासमा उडाउँदा परिवारका सदस्यहरू चाहिँ पक्कै निराश थिए होलान्।
उनले सेवन गरेको रक्सीले समाजको सार्वजनिक शान्ति र अमन–चयनलाई भने कहिल्यै खलल पुर्याएन, बरु पचपन्न वर्ष लाग्दा नलाग्दै उनले आफ्नै पाचनतन्त्रको कलेजोमा खलल पुर्याए। कलेजो नराम्रोसँग बिच्कियो। ‘उप्रान्त तिमीले खाने जाँडलाई म पचाउन सक्दिनँ’ भन्दै धेरै पटक कलेजोले चेतावनी दियो। दाइ पटक–पटक अस्पताल गए, उपचार गराए, कलेजो पूर्णरूपमा निको हुन सकेन। यता नानीदेखि लागेको बानी किन पो छुट्थ्यो र? दाइले दारु छोडेनन् या भनौँ दारुले दाइलाई छोडेन। एक पटक त निक्कै नै बिरामी परेपछि काठमाडौंकै राम्रो भनिएको अस्पतालमा उपचार पनि गराएकै हुन् परिवारले। अपथ्य नशाले थङ्थिलो भएको कलेजो ध्वस्त भएछ। डाक्टरले अब बचाउन नसकिने र उपचारले खासै काम नगर्ने बताएर घर फर्काइदिएछ। अर्ध चेत अवस्थामा अस्पतालबाट घर फर्काइएका दाइ अब बाँच्दैनन् भनेर सबैले आशा मारेका थिए तर अचम्म, मेडिकल साइन्सलाई चुनौती दिँदै दाइ बौरिए।
अस्पतालले आश मारेर घर पठाइएका टङ्क दाइ बौरिएपछि माड्साब एक दिन उनलाई भेट्न पनि गएका थिए। अब चाहिँ टङ्क दाइले दारु खान छोडे रे भन्ने सुनेका थिए। क्रिकेट खेलको दोस्रो इनिङ सुरु भएजस्तै एक प्रकारले मृत्युलाई जितेर जीवनकै दोस्रो इनिङ दाइले सुरु गरेको मास्टरको बुझाइ थियो। त्यसैले त खुसी हुँदै बाँच्न सकेकोमा, अझ बौरिन सकेकोमा खुसियाली व्यक्त गर्न उनी टङ्क दाइलाई भेट्न पुगे। मास्टर दाइको आँगनमा पुग्दा दाइ टुक्रुक्क परेर दुई घुँडाका बीचमा हत्केला लुकाएर बसेका थिए। एकअर्कालाई देखेर दुवै मुस्कुराए र भलाकुसारी गर्न थाले। टुक्रुक्क बस्दा दुई घुँडाका बीचमा लुकेर बसेको हत्केलाबाट पत्पत धुँवा आउन थाल्यो। माड्साबले ‘ए दाइ त अगरबत्ती बालेर पूजापाठ गर्न पो लाग्या रहेछन्’ भनेर लख काटे तर होइन रहेछ, त्यो धुँवा त अगरबत्तीको नभई चुरोटको पो रहेछ। मृत्युलाई नजिकबाट छामेर फर्किँदा पनि दाइले चुरोटको व्यसन भने छोड्न सकेनन्।
बिरामी परेर लामो समय थलिएका टङ्क दाइ सकिनसकी चारपाइला हिँड्न सक्ने अवस्थामा आइपुगे। फेरि उनको पुरानै दैनिकी सुरु भयो; मरेकामा मलामी, परेकामा साथ–सहयोग। केही पछि दाइले जागिरबाट अवकाश लिए। शरीर पूरै निको भएकै थिएन; सायद कलेजो पलाउने क्रममा थियो। अचानक उनको गालाको छेउमा च्यापुतिर रहेको मासुको डल्लाले दुःख दिन थाल्यो। यो डल्लो टङ्क दाइको मुखाकृतिमा निक्कै अघिदेखि बिराजमान थियो। परिवारका सदस्य र साथीभाइले ‘शरीरका यस्ता अनावश्यक डल्लाडल्ली फ्याँक्नु पर्छ’ भन्ने सल्लाह दिन्थे तर जिद्दी स्वभावका उनले माने पो। बरु उल्टै हँस्यौली गर्दै भन्थे, ‘यो मेरो गालाको डल्लो कुनै ट्युमर–स्युमर होइन; यो त धनको पोको हो!’ उनले भन्ने गरेको त्यो धनको पोको साँच्चै धनको पोको नभई ज्यान लाने फोको बन्न पुग्यो।
कलेजोको रोगमाथि अर्को रोग थपियो– अन्तिम स्टेजको क्यान्सर। फेरि पनि बाँच्ने–बचाउने यत्नमा टङ्क दाइको उपचार सुरु भयो। नियमित चेकअप, किमो थेरापी, भरतपुर आउजाउ। दाइको स्वास्थ्यमा खासै सुधार भएन। बोली धोद्रो हुँदै गयो; शरीर गल्दै गयो। यस्तो अवस्थामा पनि उनको रमाइलो गर्नुपर्ने र रमाउनुपर्ने बानी गएन। भौतिक शरीरले विश्राम लिनुभन्दा केही दिनअघि गाउँकै मगर टोलमा खैँजडी भजन हेर्न दाइ आइपुगे। क्यान्सरले गलाएर जीर्ण भएको शरीरलाई जसोतसो घिसार्दै मगर टोलसम्म आएर रातभरि खैँजडी भजनको रमाइलो हेरेर आँखा झिमिक्क नपारी छर्लङ्ग रात कटाएका टङ्क दाइलाई देखेर मास्टरले अचम्म मान्दै भनेका थिए, ‘हैन दाइ! बिरामी मान्छे यसरी रातभरि जाग्राम नबसेको भए हुन्थ्यो!’
त्यसबेला तान्दै गरेको चुरोटको धुँवालाई आकाशतिर फ्याँक्दै उनले जवाफ दिएका थिए, ‘हेर कान्छा! खैँजडी भजन हेरिरहन पाए धेरै त होइन, म तीन रात चाहिँ जाग्राम नै बस्दिन्छु। फेरि कयौँ वर्षपछि बल्ल बल्ल हेर्न पाएको हो यस्तो कार्यक्रम; अब त गाउँमा खैँजडी भजन नै लाउन लगभग छोडिहाले।’ गाउँको एउटा संस्कृति लोप हुन लागेको चिन्ता उनमा थियो।
यसको केही समयपछि टङ्क दाइले भौतिक संसार त्यागे। झल्याकझुलुक देखिएका पछिल्ला भेटबाहेक सायद मास्टरले उनीसँग दोहोरो कुराकानीसहित भेटेको यो नै अन्तिम पटक थियो। त्यसबेला दाइले दारु छोडेको तीन वर्ष जति भइसकेको थियो। एक प्रकारले जिन्दगीको दोस्रो इनिङ सुरु गरेपछि उनले रक्सी छोडेका थिए तर चुरोट छोड्न सकेका थिएनन्।
हिजोआज साँझ–बिहान यसो टहल्न हिँड्दा माड्साब टङ्क दाइको आँगन नजिकैको सडकबाट गुज्रन्छन्। उनको आँखा अनायासै त्यही आँगन, त्यही ओस्रा, तिनै मुडा र कुर्सीहरूमा गएर ठोकिन्छ जहाँ बसेर टङ्क दाइ र उनी रसिला, हँसिला कुरा गर्थे। मास्टर सबैभन्दा बढी भावुक त त्यसबेला हुन्छन्, जतिबेला उनी मलामी गएका ठाउँमा टङ्क दाइलाई देख्दैनन्। गाउँको सबैभन्दा खास्सा मलामी! रोइरहेकालाई पनि मुस्कुराउने पार्ने! न्याउरो अनुहार लाएर बसेकालाई गाला च्यातिने गरी हसाउने! अनेक बिम्ब, अनेक उट्पट्याङ, रोचक र घोचक किस्साहरू भन्ने! थोरै पढेको तर धेरै बुझेको मान्छे!
‘साँच्चै टङ्क दाइ कस्ता मान्छे हुन्?’ अरबौँ वर्ष बुढो पृथ्वीमा जम्माजम्मी अन्ठाउन्न वर्षको आयु बिताएर पार्थिव बनेका टङ्क दाइको अनुहारलाई झलक्क सम्झिएर फेरि आफैँलाई प्रश्न गरे मास्टरले।
आफ्नै हृदयको अन्तःकरणबाट फटाफट जवाफ आउन थाल्यो, ‘टङ्क दाइ भिडभन्दा फरक मान्छे! मोबाइलले निम्त्याएको घोप्टे युगमा डिजिटल्ली समवेदना प्रकट गर्न छोडेर मान्छेको घरसम्मै पुगेर आफ्ना कर्मले समवेदना दिन सक्ने ‘मर्दाका मलामी, पर्दाका जन्ती’! हाँस्न बिर्सेका मान्छेलाई मसानघाटमै पनि हँसाउन सक्ने, व्यक्तिगत जीवन लथालिंगै होस्, सार्वजनिक जीवनमा उधुमै रमाउने आफ्नै पाराका आफ्नै तालका भिडभन्दा फरक मान्छे! पाठ्यपुस्तकले जीवनीमा व्यक्त नगर्ने तर जीवनीमा व्यक्त भएका मान्छेजत्तिकै स्वार्थभन्दा माथि उठेका साधारण भईकन पनि असाधारण मान्छे!’
Shares

प्रतिक्रिया