प्रदेश नम्बर २ काे जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालाले दिएको गलत नतिजाले सर्लाहीमा कोरोना संक्रमणको जोखिम बढाएको पाइएको छ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणले बिहीबार कोरोना संक्रमण पुष्टि गरेका सर्लाहीका १४ वर्षीय किशोरलाई यसअघि प्रादेशिक अस्पतालको प्रयोगशालाले कोरोना नरहेको पुष्टि गरेको थियो।
जसले गर्दा सर्लाहीको धनकौलस्थित क्वारेन्टिनबाट उनलाई घर पठाइएको थियो।
‘घरमा बसेको सात दिनपछि जानकारी आयो कि ती किशोर कोरोना संक्रमित रहेछन्,’ शुक्रबार बिहान नेपालखबरसँग कुरा गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले गुनासो गरे, ‘त्यही रिपोर्टले सर्लाहीलाई खत्तम पार्याे।’
अझ ती किशोरलाई घरमै क्वारेन्टिनमा रहनू भनेकाले घरबाहिरका अन्य मानिससँग उनकाे सम्पर्क हुन नपाएको प्रमुख जिल्ला अधिकारी जिसीको भनाइ छ।
‘ती किशोर दिल्लीबाट आएलगत्तै हामीले घरमा नपठाई सीधै क्वारेन्टिनमा राख्यौं,’ टेलिफोनमा उनले भने, ‘तर जनकपुरकाे प्रादेशिक अस्पतालले कोरोना नेगेटिभ पुष्टिकाे रिपाेर्ट दिएपछि घर पठाएका हौं।’
उनका अनुसार ती किशोरको आरडीटी टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि थप परीक्षणका लागि उनको स्वाब जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो। त्यहाँ गरिएको परीक्षणले किशोरमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि गरेको थियो।
सर्लाही प्रमुख जिल्ला अधिकारी जिसी भन्छन्, ‘जनकपुरमा जाँच्दा रिपाेर्ट नेगेटिभ आएपछि फेरि परीक्षणको आवश्यकता किन पर्याे र काठमाडौं पठाइयो आदि इत्यादि कुराचाहिँ डाक्टरलाई सोध्नुस्।’
प्रमुख जिल्ला अधिकारी जिसीका अनुसार अहिले ती किशोरका परिवारका सबै ५ जनालाई क्वारेन्टिनमा राखिएको छ भने उनलाई साइकलमा चढाउने अर्का एक जनालाई पनि क्वारेन्टिनमा राखेर उच्च सतर्कता अपनाइएको छ।
‘उनको टोल पनि हामीले सिल गरिसकेका छौं,’ उनले भने, ‘र, उनीसँग भौतिक सम्पर्क कायम गरेकाहरूको खोजी व्यापक बनाएका छौं।’
संक्रमित ती किशोरलाई बिहीबार राति नै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उनले जानकारी दिए।
सर्लाहीमा अर्का एक जनामा आरडीटी पोजिटिभ, पीसीआर परीक्षण हुँदै
सर्लाहीमा अर्का एक जनामा र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको छ।
त्यसको निश्चित गर्न उनको स्वाब जनकपुर अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए। ती ५८ वर्षका व्यक्ति सर्लाहीको इश्वरपुरका रहेको उनले बताए।
आरडीटी पोजिटिभ हुनुको अर्थ के हो?
अहिले नेपालमा कोरोनाको परीक्षण दुई विधिबाट भइरहेको छ। एउटा र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) किटबाट अर्काे पीसीआर प्रविधिबाट।
आरडीटीबाट मानिसको रगतमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी शक्ति (एन्टिबडी) छ कि छैन भन्ने थाहा हुन्छ र यसको नजिता पनि १५-२० मिनेटमै आउँछ।
तर पीसीआर विधिबाट गरिने जाँचले चाहिँ मानिसको स्वाबमा सीधै भाइरस छ कि छैन भनेर हेर्ने गरिन्छ। र, यसको नतिजा आउन भने ६ घण्टादेखि ७२ घण्टासम्म लाग्न सक्ने प्रयोगशाला विज्ञ बताउँछन्।
चिकित्सकका अनुसार कोरोना भाइरसको संक्रमण भएको १ हप्ताजति पछि त्यसविरुद्ध लड्न मानिसको शरीरमा एन्टिबडी अर्थात् प्रतिरोधी शक्ति उत्पन्न हुन्छ। तर त्यो २१ दिनभन्दा बढीसम्म अर्थात् शरीरमा भाइरस निष्क्रिय भइसक्दा पनि देखिन्छ।
त्यसकारण अझै कोरोना सक्रिय छ कि छैन अर्थात् उसले रोग सार्न सक्छ कि सक्दैन भनेर निर्क्याेल गर्न स्वाबको पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। यो परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आयो भनेचाहिँ व्यक्ति संक्रमित नै रहेको ठहर्छ र उपचार गर्नुपर्ने हुन्छ।
तर पीसीआर रिपोर्ट नेगेटिभ आयो भने व्यक्तिलाई पहिले कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिन्छ।

प्रतिक्रिया