टाउकोमा गोली लागि जटिल अवस्थामा नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएका चितवनका रामजी चेपाङको स्वास्थ्यमा सुधार आएको छ।
गजुरी हस्पिटल, धादिङबाट रिफर गरी असार १९ गते नर्भिक हस्पिटल पु याइएका ३६ वर्षीय चेपाङको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको उनको बरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो।
अस्पतालका अनुसार अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएका मस्तिकमा गोली लागेकै कारण निजले बारम्बार वान्ता गर्ने गरेका थिए भने, उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्था थियो।
नर्भिक अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टाउकोका खप्परको हड्डीहरु फुटेर मस्तिष्कको बाक्लो झिल्ली समेत फुटेको, खप्परका हड्डीहरुले मस्तिष्कलाई थिचेको र फुटेका हड्डीहरु एवम् गोलीका छर्राहरु मस्तिष्कको भित्री भागहरुमा पुगेर छरपष्ट रहेको अवस्थामा मस्तिष्कलाई थिचेर रहेको खप्परलाई उठाउँदै, मस्तिष्क भित्र रहेका गोलीका खोल तथा छर्राहरु हटाएर, मस्तिष्क बाहिर रहेको सुरक्षात्मक तहलाई सिलाउँदै खप्परलाई समेत सपोर्ट दिने गरी सफलम् शल्यक्रियात्मक उपचार गरियो।’
रामजीलाई असार १८ गते बुधवार साँझ ८ बजेतिर गोली हानिएको थियो भने असार १९ गते विहिबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा पुर्याइएको थियो।
सोही दिन उनको शल्यक्रिया सम्पन्न भएको हो। हाल उनी नर्भिकको सर्जिकल इन्टेन्सिभ केयर युनिटमा स्वास्थ्य लाभ गरिरहेका छन्। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई छिटै वार्डमा सारिदैछ।
निजलाई गोली लाग्ने वित्तिकै स्थानीय चेपाङ सामाजिक कार्यकर्ता विनोद चेपाङको सक्रियतामा सोही राति धादिङ स्थित गजुरी हस्पिटल पुर्याइएको थियो। गजुरी हस्पिटलमा रक्तस्राव रोक्न ब्याण्डेज लगाइए पश्चात्त अक्सिजनसहित उक्त हस्पिटलले विरामीलाई काठमाडौं रिफर गरेको थियो।

प्रतिक्रिया