सिन्ह्वाका अनुसार आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो।
भेनेजुयलाका सूचना तथा सञ्चारमन्त्री जर्ज रोड्रिगेजले ट्वीटरमार्फत लेखेको सन्देशमा सरकार र प्रतिपक्षी दलले नर्वेको मध्यस्थतामा वार्ता गर्न सहमत भएको पुष्टि गरेका छन्।
“इतिहासले बोलिभरियन सरकारको स्मरण योग्य अडानलाई वार्ताको शिलशिलामा पहिचान गर्नेछ,” रोड्रिगेजले सरकार र प्रतिपक्षको वार्ताका लागि भएको सहमतिबारे नर्वेको प्रेस विज्ञप्तिसमेत राखेर ट्वीट गरेका छन्।
सञ्चारमन्त्री रोड्रिगेजले भने,“हामीलाई विश्वास छ राष्ट्रपति निकोलस मदुरोको शान्ति स्थापनार्थ प्रयास र राष्ट्रिय सहमतिले सफलता प्राप्त गर्नेछ।”
प्रतिपक्षी नेता हुवाँ गुआइदोले पनि एक प्रेस विज्ञप्ति जारी गरी प्रतिपक्षी दलले बार्बाडोसमा हुने वार्तामा सहभागिता जनाउने बताएका छन्।
“हाम्रो लक्ष्य देशमा व्याप्त राजनीतिक सङ्कटको निर्णायक समाधानमा सफलता पाउनु हो,” गुआइदोले ट्वीटमा उल्लेख गरेका छन्।
उनले थप भनेका छन्,‘प्रतिपक्षी समूहको लक्ष्य ‘हस्तक्षेपको अन्त्य, सङ्क्रमणकालीन सरकार र अन्तर्रा्ष्ट्रिय पर्यवेक्षणमा स्वच्छ तथा स्वतन्त्र निर्वाचन’ हो र यसैमा आफ्नो अडान राखिने छ।’
नर्वेले भनेको छ, “भेनेजुयला सङ्कटबारे हामी सम्बन्धित समूहका प्रतिनिधिसँग बार्बाडोसमा यही हप्ता भेट हुँदैछौँ । वार्ताले संवैधानिक समाधानका लागि सहमति निर्माण गर्नेछ ।” वार्ता निरन्तर र शीघ्र रहनेछ।”
भेनेजुयलाका प्रतिपक्षी नेता गुआइदोले निर्वाचित राष्ट्रपति मदुरोको सरकारलाई अमान्य घोषणा गर्दै आफुलाई भेनेजुयलाको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि र अमेरिकाले गुआइदोलाई मान्यता दिने निर्णयसँगै चर्किएको दुई पक्षबीचको राजनीतिक गतिरोधले यस बर्षको शुरूदेखिनै निकै गम्भीर मोड लिएको थियो।
दुई पक्षबीच वार्ताका लागि पहल गर्न सहमति निर्माणका लागि दुवै समूहतर्फका प्रतिनिधिबीच मे महिनाको मध्यतिर नर्वेको राजधानी ओस्लोमा प्रारम्भिक छलफल शुरूभएको थियो।

प्रतिक्रिया