गण्डकी


फरक विचारको सम्मान र प्रश्नको निरन्तरताको एजेन्डासहित रास्वपा केन्द्रीय सदस्य बनेकी पवित्रा

फरक विचारको सम्मान र प्रश्नको निरन्तरताको एजेन्डासहित रास्वपा केन्द्रीय सदस्य बनेकी पवित्रा

नेपालखबर
असार ११, २०८३ बिहिबार २१:५२, काठमाडौँ

उज्ज्वल थापाले २०६९ साल जेठ १५ गते वैकल्पिक राजनीतिक शक्तिको परिकल्पनासहित विवेकशील पार्टी गठन गरे।

थापा अहिले यो धर्तीमा छैनन्। तर, उनले अगाडि सारेको वैकल्पिक राजनीकि शक्ति निर्माणको अभियानमा धेरै युवा र स्वतन्त्र व्यक्तिहरु जोडिए।

२०७१ साल जेठ २९ गते निर्वाचन आयोगमा दर्ता भएको यो दल २०७४ साउन ११ गते विवेकशील साझा बन्यो। रवीन्द्र मिश्र जोडिएपछि बनेको यो दल १ वर्ष पनि टिकेन। तर, उज्ज्वल थापाको अभियानमा जोडिएकाहरूले वैकल्पिक राजनीतिक शक्तिको अभियान छाडेनन्। र, त्यहीमध्येकी एक थिइन्, कास्कीकी पवित्रा थापा।

पोखराको बाटुलेचौरमा जन्मेकी पवित्रा पेशाले नर्स हुन्। बाटुलेचौरकै डा. सुवास बस्नेतसँग विवाहबन्धनमा बाँधिएकी पवित्रा पेशामा रहँदै चितवन पुगिन्।

चितवनमा रहँदा उनले चेपाङ समुदायले भोगेका दुःखहरू नजिकबाट नियालिन् र उनीहरुको सेवामा लाग्ने अठोट गरिन्। चेपाङ बालबालिकाको लागि होस्टल स्थापनामा उनको ठूलो योगदान छ।

सामाजिक काम गर्दै गर्दा वैकल्पिक राजनीतिक शक्तिसँग नजिकिएकी पवित्रा विवेकशील साझा पार्टीको १३० सदस्यीय केन्द्रीय समितिमा मात्र अटाइनन्, २०७४ सालको संघीय चुनावमा ‘तराजु’ चुनाव चिन्हको तर्फबाट समानुपातिका सांसद पनि रहिन्।

साहित्यकार माया एन्जेलोको ‘म असाधारण महिला हुँ, त्यो म हुँ’ भन्ने भावबाट आफू प्रेरित रहेको बताउँछिन्।

केन्द्रीय सदस्यको प्रत्यासी बन्दै गर्दा उनले भनेकी थिइन्, ‘राजनीतिले आम मानिसको जीवनमा तात्विक प्रभाव पार्दछ र नागरिकको जीवनस्तर बदलिनुपर्दछ भन्ने मान्यताका साथ एक दशकदेखि वैकल्पिक राजनीतिको अभियानमा सहभागी हुँदै आएकी छु। मेरो विचारमा हरेक महिला नेतृत्व सशक्तीकरण, आत्म र चेतनाको सौन्दर्यबाट राजनीतिक दलको र समाजको नेतृत्वको लागि तयार हुनुपर्दछ। जसरी रास्वपा मूलधार हो त्यसरी नै महिला नेतृत्व प्राथमिकता र विचार हो। महिला नेतृत्व अब नेपालको राजनीतिक धरातलमा विकल्प होइन यथार्थ हो।’

उनले रास्वपा प्रश्न गर्ने ठाउँबाट उत्तर दिने ठाउँमा पुगेको यथार्थता प्रस्तुत गर्दै पार्टीभित्र विचार र प्रश्नहरूको जीवन्तताको वकालत पनि गरेकी छन्।

उनले भनेकी छन्, ‘हामी प्रश्न उठाउने ठाउँबाट उत्तर दिने ठाउँमा पुगेका छौँ। यसका लागि हाम्रो इतिहास, हाम्रो दृष्टिकोण र हाम्रा वाचालाई जीवन्त राख्न पार्टीभित्र विचार र प्रश्नहरूको निरन्तरता जरुरी हुन्छ। फरक विचारहरूको सम्मान, स्वतन्त्रता र मूल्यको राजनीतिको रक्षा तथा सुसंस्कृत राजनीतिको पक्षमा दृढ़ संकल्पित छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad