नेपाली सेनाले विभिन्न ठाउँमा लुटपाट र तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन थालेको छ।
सडकमा उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा भेटिएकालाई सेनाले घेरा हाली नियन्त्रणमा लिइरहेको छ।
काठमाडौँको बानेश्वरमा केही व्यक्ति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको कारबाहीमा संलग्न स्रोतले जनाएको छ। भक्तपुर दरबार क्षेत्रमा आगो लगाउन खोजिएपछि सेना पुगेर रोकेको छ।
यस्तै पोखराको सृजना चोकस्थित मेट्रो अस्पतालनजिकै आगजनी गरिएपछि तत्कालै सेनाको टोली तैनाथ भएको छ।
यता काठमाडौँमा ग्लोबल कलेजमा आगो नियन्त्रण गर्न र संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन पनि सेना खटिएको छ।
पशुपति क्षेत्रमा प्रवेश गर्न खोज्नेहरुलाई सेनाले रोकेको छ।
ललितपुरका सातदोबाटो, नख्खु, सानेपा, भैँसेपाटी र हात्तीवन क्षेत्रमा सेना तैनाथ भएको छ।
काठमाडौँका कीर्तिपुर, टोखा, बौद्ध, कोटेश्वर, कलंकी, कालीमाटी,
भक्तपुरका चाँगुनारायण, ठिमी लगायत क्षेत्रमा सेनाले कारबाही गरिरहेको छ।
विराटनगरमा आयल निगममा आगो लगाउने तयारी भइरहँदा सेनाले विफल पारिदिएको छ।
अहिले देशैभरका प्रमुख सहरमा सेना परिचालित भइसकेको छ।
नेपाली सेनाले उच्छृंखल गतिविधि भए खबर गर्न हेल्पलाइन नम्बर दिएको छ।
देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ।
आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न सेनाले अनुरोध गरेको छ। जसका लागि नेपाली सेनाको हेल्पलाइन नम्बर ०१-५९७९००० नम्बर दिएको छ।
अहिले धेरै ठाउँबाट आफ्नो क्षेत्रमा भइरहेका गतिविधिहरुबारे गुनासा र सूचना प्राप्त भइरहेका छन्।
Shares

प्रतिक्रिया