समाज


हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

नेपालखबर
भदौ १४, २०८२ शनिबार १०:४६, काठमाडौँ

गृहमन्त्री रमेश लेखक आज शनिबार सुरक्षा निकायको चिकित्सकको टोलीसहित हैजापीडित वीरगन्ज जाने भएका छन्। 

त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीका विषयमा छलफल र समन्वय गर्न गृहमन्त्री वीरगन्ज जाने भएका हुन्। 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगन्जमा आउने कार्यक्रम तय भएको जानकारी दिए। 

वीरगन्जमा हैजा फैलिए पनि अहिलेसम्म त्यसको कारण पत्ता लाग्न भने सकेको छैन।

गृह मन्त्रालयको सचिवालयका अनुसार गृहमन्त्री लेखकले आइतबार बिहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ।

वीरगन्ज जाने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले हैजापीडित बिरामीको उपचार लगायतमा सहजीकरण गर्नेछ।

यही भदौ ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगन्जमा फैलिएको हैजा नियनत्रणका साथै बिरामीको उपचारका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको थियो।

बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए।

वीरगन्जमा एक सातादेखि फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वीरगन्ज महानगरपालिकामा हैजाका कारण ६ सयभन्दा बढी बिरामी परेका छन्। 

हैजा संक्रमणले वीरगन्ज महानगरपालिका अस्तव्यस्त बनेको छ। लगातार पातलो दिसा हुने, बान्ता आउने, पेट दुख्ने, मिर्गौलामा समस्या देखिने र अर्धचेत हुने समस्या लिएर दैनिक ५० जना बिरामी नारायणी अस्पताल पुग्ने गरेका छन्। 

हैजा संक्रमणका कारण नारायणी अस्पताल बिरामीले भरिभराउ भएको छ। शय्या भरिएपछि भुइँमा राखेर उपचार गराउनुपरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad