ad ad

समाज


अमेरिकाको कोरोना केन्द्र न्युयोर्कमा ८ नेपालीको मृत्यु

अमेरिकाको कोरोना केन्द्र न्युयोर्कमा ८ नेपालीको मृत्यु

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ३:५,

कोरोना भाइरस (कोभिड—१९) बाट सर्वाधिक प्रभावित अमेरिकी सहर न्युयोर्कमा फेरि एक जनाको मृत्यु भएको छ। न्युयोर्कको रिजउड बसोबास गर्दै आएका ६९ वर्षीय महेश अमात्यको स्थानीय जमाइका अस्पतालमा उपचार क्रममा निधन भएको रिजउड नेपाली समाजका उपाध्यक्ष तुलीराम आचार्यले पुष्टि गरे।

योसँगै न्युयोर्कमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ८ पुगेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार न्युयोर्कमा हाल २ लाख २६ हजार १९८ कोरोना संक्रमित छन्। १६ हजार १०६ जनाले ज्यान गुमाएका छन्। 

‘स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उहाँलाई न्युयोर्ककै अस्पताल भर्ना गरिएको थियो। त्यहीँ उहाँको निधन भएको हो’, उपाध्यक्ष आचार्यले नेपालखबरसँग भने। केही महिना अघि मात्र अमेरिका पुगेका उनका श्रीमती र ३ छोरा छन्। एक जना छोरो अमेरिकामै अध्ययन गरिरहेका छन्। उनको नेपाल ठेगाना काठमाडाैं हो।

गैरआवासीय नेपाली संघ, अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँका अनुसार अमात्यको अन्त्येष्टिका लागि आर्थिक सहयोग जुटाउने कार्य भइरहेको छ। ‘बिहीबार बिहान न्युयोर्कको जमैका अस्पतालमा ज्यान गुमाएका अमात्यको दाहसंस्कार र अन्य सहयोगका लागि रिजउड नेपाली समाजले आर्थिक संकलन अभियान सुरु गरेको छ’, उनले भने।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले गरेको अध्ययनअनुसार न्युयोर्कमा आम जनसम्पर्कमा रहेर काम गर्नेहरु कोरोनाबाट बढी जोखिममा छन्। उबर चलाउने एवं स्टोर फ्रन्टलाइनमा काम गर्ने नेपालीहरु बढी जोखिममा छन्।

हिजो न्युयोर्कका ४५ वर्षीय पवनकुमार मल्लको मृत्यु भएको थियो। यसअघि ५० वर्षीय अनिल लिम्बु, ४४ वर्षीय ङिमा टेम्बा शेर्पा, ४७ वर्षीय राजकुमार थापा, विष्णु राईको निधन भएको थियो। न्युयोर्कका स्थानीय संघसंस्थाको सूचनाअनुसार ४८ वर्षीय थोक्मे विष्ट तथा ४० वर्षीय सोनाम लामाको निधन पनि कोरोनाकै कारण भएको हो।

मृत्युको २० दिनपछि सनाखत
गैरआवासीय नेपाली संघ, अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँकाअनुसार कोरोनाका कारण न्युयोर्कमै विष्णु राईको निधन मार्च २७ मा  भएको हो। मृत्युको २० दिनपछि बुधबार बल्ल उनको सनाखत भएको छ। ‘संक्रमण भएको र अस्पताल भर्ना भएकोबारे कसैलाइ जानकारी नगराउँदा यस्ता घटना देखिएका छन्’, बानियाँ भन्छन्, ‘संक्रमण लुकाएर सुटुक्क अस्पताल जाँदा यस किसिमको परिणाम देखिएको हो।’

एनआरएनए स्वास्थ्य समितिले अमेरिकामा कोरोना संक्रमित नेपालीको तथ्यांक संकलन गरिरहेको छ। समितिका अनुसार कोरोना संक्रमणबारे भन्न नचाहने नेपालीहरु धेरै छन्। मान्छे मृत्यु भएको मेडिकल सार्टि्फिकेट अस्पतालले दिए पनि परिवार, नातेदारले त्यसलाई खुलाउन चाहँदैन। 'संक्रमित र असर परेकाहरूको तथ्यांक लिन व्यवहारिक रुपमा निकै अप्ठ्यारो पनि परेको छ', एनआरएनए महासचिव डा.हेमराज शर्मा भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .