समाज


जनकपुरबाट काठमाडौँ पैदल मार्चमा निस्के मिटरब्याज पीडित

जनकपुरबाट काठमाडौँ पैदल मार्चमा निस्के मिटरब्याज पीडित

नेपालखबर
असार २५, २०८३ बिहिबार १९:११, काठमाडौँ

मिटरब्याज पीडितले जनकपुर-काठमाडौँ पैदल मार्च सुरु गरेका छन्। मिटरब्याज विरुद्धको किसान मजदूर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट ‘पैदल न्याय मार्च’ सुरु गरेको हो। 

साहु-महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्याय खोज्दै पीडितले काठमाडौँसम्मको पैदल यात्रा तय गरेका हुन्। न्याय मार्चको उद्घाटन गर्दै मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलनका अध्यक्ष अवधेश कुशवाहले साहु-महाजनले नक्कली कागजातको सहारा लिई अदालती प्रक्रियामार्फत किसानलाई भूमिहीन बनाइरहेको बताए। 

फर्जी तमसुकमार्फत किसानको जग्गा हडप्ने र उनीहरूलाई आफ्नै भूमिबाट बेदखल गर्ने प्रक्रिया तिव्र पारिएको बताउँदै उनले त्यसका विरुद्ध न्यायका लागि मार्च सुरु गरिएको बताए। 

त्यस्तै, अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने वाचा गरे पनि अहिले त्यसबाट पछाडि हटेको आरोप लगाए। उनले सरकारले पीडितका समस्या समाधानमा कुनै चासो नदेखाएकाले जनकपुरधामबाट फेरि पैदल यात्रा सुरु गरिएको जानकारी दिए। 

यसपटकको न्याय मार्च काठमाडौँ पुगेर सिंहदरबार घेराउ गर्ने र सरकारलाई आफ्ना पीडा सुनाउने लक्ष्य रहेको नवीनले बताए।

न्याय मार्च सुरु गर्नुअघि पीडितले मशाल जुलुस प्रदर्शन गरेका थिए। उनीहरूले प्रतीकात्मक रूपमा फर्जी तमसुक जलाएर आन्दोलनको घोषणा गरेका थिए। 

पीडितहरूले साहु-महाजनको शोषणबाट मुक्ति र फर्जी तमसुक खारेजीको मागलाई मुख्य एजेन्डा बनाएका छन्। यसअघि पनि उनीहरूले दुई पटक काठमाडौँ पैदल मार्च गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad