राहदानी विभागले विदेशमा बस्ने नेपालीलाई लक्षित गरी विभिन्न मुलुकमा घुम्ती सेवा दिँदै आएको छ। खासमा यो सेवा वैदेशिक रोजगारीमा रहेका नेपालीको सुविधाका लागि हो। कतिपय नेपालीलाई सुविधा होइन, तनाव थपिदिएको छ।
आफू बसेको देशैमा सेवा दिन आएको टोलीबाट राहदानी नवीकरण गराउँदा सुविधा पाउनुको साटो उल्टै तनाव आइलागेको छ, चरणबहादुर साउदलाई। अछाम घर भएका साउद हाल रोमानियामा बस्छन्। उनले आफ्नो पासपोर्टको मिति सकिन लागेपछि म्याद थपको लागि फारम भरे।
साउदले दस वर्षका लागि राहदानी नवीकरण गराउन गत चैत १४ (२०२५ मार्च २७) मा १२० युरो शुल्क पनि तिरे। तर म्याद भने १२ जुन २०२५ देखि ११ जुन २०३० सम्म गरी ५ वर्षको मात्र थप भयो।
जबकि, बालबालिकाबाहेक कसैको पनि पासपोर्टमा म्याद थप गर्दा ५ वर्षको हुँदैन। न्यूनतम अवधि नै १० वर्ष हुन्छ।
तर, साउदले दस वर्षकै लागि रकम तिरे पनि ५ वर्ष मात्र थपिएको राहदानी हात पर्दा उनी अहिले अलमलमा परेका छन्। साउदले जर्मनीको बर्लिनस्थित दूतावास (रोमानिया पनि कार्यक्षेत्र) मा सम्पर्क गरी आफ्ना कुरा पनि राखे। तर दूतावासका कर्मचारीले भने, ‘यस्तो त नहुनुपर्ने हो। अब हामीलाई भनेर हुँदैन। काठमाडौँस्थित राहदानी विभागमै कुरा गर्नुपर्छ।’
त्यसपछि साउदलाई थप तनाव भएको छ। रोमनियामा रहेका साउद साथीहरूसँग अब के गर्ने र कसो गर्ने भन्दै छन्।
यसै विषयमा नेपालखबरले राहदानी विभागका प्रवक्ता शत्रुध्वन पोखरेल भने कुनै नियतवश नभएर प्राविधिक त्रुटि भएको बताउँछन्। कहिलेकाहीँ लाखौँमा एक-दुई जनाको पासपोर्टमा यस्ता प्रकारका त्रुटि देखिने गरेको उनको भनाइ छ।
पोखरेल भन्छन्, ‘कहिलेकाहीँ पुरुष-महिलामा पनि गल्ती छापिने गर्छ। यो दर्लभ त्रुटि हो।’
साउदले फर्म भर्दा र शुल्क तिर्दा १० वर्षकै लागि विवरण तथा कागजात पेस गरेको तर प्राविधिक त्रुटि हुन गएको उनले बताए।
‘यस्तो गल्तीको विषयमा तत्कालै थाहा भए त्यहीँ नै सच्याउन सकिहालिन्थ्यो,’ पोखरेल भन्छन्, ‘तर, साउद हाल रोमनियामा भएकोले तत्कालै सच्याउन नमिले पनि चिन्ता मान्नुपर्दैन। भोलि कुनै तरिकाले हाम्रो दूतावासको टिम त्यहाँ गयो भने उहाँले अर्को १० वर्षे पासपोर्ट पाउनुहुन्छ।’
पोखरेलका अनुसार, यसलाई अफिसियल इररअन्तर्गत राखेर पासपोर्ट दिने गरिन्छ। तीन-चार वर्ष प्रयोग गरिसकेको खण्डमा चाहिँ ६-७ वर्षको मात्र म्याद थप हुन्छ।
पासपोर्टमा भएको मिति सकिएपछि समस्या हुने भएकाले तत्कालै सच्याउने प्रक्रियामा लाग्न उनको सुझाव छ। उनी भन्छन्, ‘अहिले नै एउटा निवेदन र फोटो पठाइदिनुभयो भने आवश्यक प्रक्रिया अघि बढाउँछौँ।’
गत चैतमा राहदानी विभाग र जर्मनीको बर्लिनस्थित दूतावासको संयुक्त टोलीले रोमानियामा घुम्ती शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा १ हजार ६०४ जना नेपालीले सेवा लिएका थिए।
Shares

प्रतिक्रिया