रोमानियाको राजधानी बुखारेस्टमा नेपालीहरूको राहदानी नवीकरणका लागि सञ्चालन गरिएको घुम्ती शिविर सम्पन्न भएको छ।
मार्च २६ बाट सुरु भएको घुम्ती शिविर आज (मार्च ३१) मा सम्पन्न भएको हो।
राहदानी विभाग, काठमाडौँको समन्वयमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले शिविर सञ्चालन गरेको हो।
घुम्ती शिविरमा १ हजार ६ सय ४ जना नेपालीले सेवा लिएको जर्मनीस्थित राजदूतावास, बर्लिनका नियोग उपप्रमुख सागरप्रसाद फुयालले जानकारी दिए।
उनले निर्धारित समयमा आज सफलतापूर्वक शिविर सम्पन्न भएको बताए।

शिविर सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने रोमानियाको नेपाली समाज, संघसंस्था, स्वयंसेवक, पत्रकार, कर्मचारी सबैलाई दूतावासको तर्फबाट उनले धन्यवाद पनि दिए।
आगामी दिनमा दूतावासको तर्फबाट रोमानियामा हुने कार्यक्रममा यस्तै सहयोगको अपेक्षा गरेको नियोग उपप्रमुख फुयालले बताए।
घुम्ती टोलीलाई रोमानियामा कृयाशील नेपाल तामाङ घेदुङ संघ, नेपाल मगर संघ, तमु समाज, नेपाल किरात समावेशी सेवा समाज, शेर्पा किदुग तथा फुर्साङ लामा, नरेश गिरी, युवराज लामिछाने लगायतले व्यवस्थापनमा सहयोग गरेका थिए।
नियोग उपप्रमुख फुयाल नेतृत्वको घुम्ती शिविर टोलीमा राहदानी विभाग काठमाडौंबाट आएका राजकुमार शाह, सुवास थापा तथा दूतावासका कर्मचारी प्रेम भण्डारी सहभागी थिए। टोलीले ६ दिनसम्म सेवाग्राहीलाई राहदानी नवीकरण तथा कन्सुलर सेवा प्रदान गरेको थियो।
यही टोलीले अप्रिल २ देखि ४ सम्म पोल्यान्डको राजधानी वारसामा शिविर सञ्चालन गर्नेछ। बर्लिनस्थित नेपाली राजदूतावासको रोमानियासहित पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलिसी) समेत देशहरूमा सेवा तथा कूटनीतिक क्षेत्र पर्छ।



Shares

प्रतिक्रिया