परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्।
मन्त्री राणाले भनिन्, ‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु। नेपालगञ्ज-दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ। यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभीटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु।’
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले राणालाई भेटेर सो आग्रह गरेको हो।
त्यस अवसरमा उनीहरूले ‘नेपालगञ्जलाई मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज-दिल्ली सिधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरे।
उनीहरुले सो विमानस्थलबाट प्रतिघन्टा ६०० यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधार निर्माण पनि भइसकेका जानकारी गराएका थिए।
Shares

प्रतिक्रिया