समाज


एक वर्षमा २३ सय प्रहरीले छाडे जागिर, ३७ सय प्रहरीविरुद्ध उजुरी

एक वर्षमा २३ सय प्रहरीले छाडे जागिर, ३७ सय प्रहरीविरुद्ध उजुरी

उजिर कार्की
साउन ११, २०८२ आइतबार २०:५१, काठमाडौँ

नेपाल प्रहरीका २ हजार ३ सयभन्दा बढी प्रहरीले राजीनामा दिएका छन्। गएको आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ३ सय ६९ जना प्रहरी कर्मचारीहरूले राजीनामा दिएका हुन्। 

प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले सिनियर दर्जाका १९ जनाले राजीनामा दिएको बताए। यस्तै जुनियर अधिकृत ४ सय १ जना जागिर छाडेर जाँदा जवान र हवल्दार १ हजार ९ सय ४९ जनाले राजीनामा दिएका छन्। 

यस्तै अनिवार्य अवकाशमा ५२३ जना गएका छन्। 

गत आर्थिक वर्षमा २ हजार ७१७ जना प्रहरीमा भर्ना भएका छन्। जवान, सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा गरी त्यति नयाँ प्रहरी भर्ती भएका हुन्।

विभिन्न दर्जामा कार्यरत ७ हजार ४ सय जना प्रहरीलाई बढुवा गरिएको छ। गत वर्ष सहायक हवल्दारदेखि प्रहरी महानिरीक्षसम्म गरी उक्त संख्यामा बढुवा भएका हुन्। 

यो अवधिमा २१ हजार २२४ जना प्रहरी सरुवा भएको पनि प्रवक्ता घिमिरेले जानकारी दिए। 

नेपाल प्रहरीमा ७९ हजार ५४१ जनाको दरबन्दी रहेको छ। त्यसमध्ये हाल ९४.०५ प्रतिशत अर्थात् ७४ हजार ८०६ जना कार्यरत छन्। यसमध्ये पनि ६५ हजार ५२० जना पुरुष र ९ हजार २८६ जना महिला प्रहरी छन्। 

अहिले प्रहरीमा ४ हजार ७३५ जनाको दरबन्दी खाली छ। 

३७ सय बढी प्रहरीविरुद्ध उजुरी  
गएको आर्थिक वर्ष ३ हजार ७५३ जना प्रहरीविरुद्ध उजुरी परेको छ। हेलो सरकारदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत गरी १३ वटा माध्यमबाट प्रहरीविरुद्ध उजुरी दर्ता भएको केन्द्रीय प्रवक्ता घिमिरेले बताए। 

सबैभन्दा धेरै प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारमा उजुरी परेको छ। हेलो सरकारमा १९ सय ६ जनाविरुद्ध उजुरी परेको छ। त्यसमा ३१३ जनाविरुद्ध अझै अनुसन्धान भइरहेको छ। १५ सय ९३ जनाविरुद्धको उजुरीमा छानबिन गरेर निर्णय भइसकेको छ। 

विद्युतीय माध्यमबाट ४२७ वटा उजुरी परेका थिए। ८७ वटा उजुरीमा छानबिन भइरहेको र ३४० विरुद्ध कारबाही भइसकेको छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा १५१ वटा उजुरी प्रहरी कर्मचारीविरुद्ध परेका छन्। ४३ वटा उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ। १०८ वटामा निर्णय भइसकेको छ। 

गृह मन्त्रालयमा सिधै ३०४ वटा उजुरी प्रहरीविरुद्ध परेका छन्। ५६ वटामा अनुसन्धान भइरहँदा २४८ वटा उजुरी फछ्र्यौट भइसकेको छ। 

प्रहरीको टोल फ्री नम्बरमा १६५ वटा उजुरी परेका छन्। तीमध्ये ३५ वटा छानबिनकै क्रममा छन्। बाँकी १३० वटामा कारबाही प्रक्रिया टुंगिएको छ। 

पुलिस एप मार्फत १३६ वटा उजुरी परेकोमा १०७ वटामा कारबाही सकिँदा २९ वटामा अनुसन्धान भइरहेको छ।   

प्रहरी महानिरीक्षकको सचिवालयमा सिधै २२९ वटा उजुरी परेका छन्। ५८ वटामाथि छानबिन भइरहेको छ। १७१ वटा उजुरी भने छानबिन गरेर टुंगो लगाइसकिएको छ। प्रहरीका वेबसाइट, सामाजिक सञ्जाल, टेलिफोन र मोबाइल नम्बरमा पनि उजुरी परेका छन्। त्यसरी २०८ वटा उजुरी परेकोमा ३१ वटामाथि अझै छानबिन टुंगिएको छैन। 

राष्ट्रिय सतर्कता केन्द्रमा परेका ३ वटा उजुरीमा कारबाही भइसकेको छ। व्यक्तिमार्फत २० वटा उजुरी परेकामा ६ वटामा अझै छानबिन भइरहेको छ। हुलाकबाट पनि प्रहरीविरुद्धका १०९ वटा उजुरी परेका छन्। त्यसमा २८ वटाको अझै छानबिन सकिएको छैन। बाँकी ८१ वटामा छानबिन सकिएर दोषी पाइएकालाई कारबाही गरिएको र निर्दोष देखिए सफाइ दिएको प्रहरीको दाबी छ। हेलो गृह मार्फत ३० वटा उजुरी परेका छन्। ३ वटामा छानबिन चलिरहेको र २७ वटामा कारबाही भइसकेको छ। 

अन्य माध्यमबाट ६५ वटा उजुरी परेकोमा ११ वटा छानबिनको क्रममा रहेको र ५४ वटामा कारबाही भइसकेको छ। 

३ हजार ७५३ वटा उजुरी परेकामा ७ सय उजुरीमा अझै छानबिन भइरहेको छ। ३ हजार ५३ वटा उजुरी फछ्र्यौट भइसकेको छ। ८१ प्रतिशत उजुरी फछ्र्यौट भइसकेका छन्। 

सबैभन्दा बढी मुद्दा बैंकिङ कसुरका, ठगी र लागुऔषध पनि बढ्यो
गएको एक वर्षमा पनि सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमै दर्ता भएको प्रहरीले जानकारी दिएको छ। एक वर्षमा ५८ हजार ४७२ वटा उजुरी दर्ता भएको आइतबार प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। 

बैंकिङ कसुरमा १३ हजार ८३७ वटा मुद्दा दर्ता भएका छन्। यो भनेको गत आर्थिक वर्षमा भन्दा ४.३ प्रतिशतले बढी हो। 

यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका मुद्दा भने २० प्रतिशतभन्दा बढीले कम भएको छ। गएको आर्थिक वर्षमा ८ हजार ५१९ वटा मुद्दा दर्ता भएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०.८ प्रतिशतले कम हो। 

आत्महत्याका घटनामा पनि कमी आएको छ। अघिल्लो वर्षको तुलनामा २०८१/०८२ मा ४.८ प्रतिशतले घटेको र ६ हजार ८५२ जनाले आत्महत्या गरेका घटना दर्ता भएका छन्। 

लागुऔषधका मुद्दा १५.१ प्रतिशतले बढेर ५ हजार ६१ पुग्दा ठगी १८ प्रतिशतले बढेको छ। गएको वर्ष ठगीमा मुद्दा २ हजार २१८ वटा रहेका छन्। चोरी र जबर्जस्ती करणीका मुद्दामा कमी आएको छ। चोरी २.७ प्रतिशतले घट्दा जबर्जस्ती करणीका मुद्दामा १० प्रतिशतले कमी आएको  छ। चोरीका मुद्दा ३ हजार ६५६ र जबर्जस्ती करणीका मुद्दा २ हजार २५३ वटा छन्। 

सवारी ज्यान मुद्दा र ज्यान मार्ने उद्योगका मुद्दा बढेका छन्। सवारी ज्यानका १ हजार ९०९ वटा र ज्यान मार्ने उद्योगका १ हजार ८१ वटा मुद्दा देशभरका प्रहरी कार्यालयमा दर्ता भएका छन्। 

बहुविवाहका मुद्दामा १३ प्रतिशतले कमी आएको छ। गएको वर्ष ५६८ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्। 

यी १० वटा कसुरमा मात्रै ६२.६६ प्रतिशत मुद्दा दर्ता भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad