ad ad

समाज


उपत्यकामा पशु पाल्ने शैली : बाच्छी जन्मिए संरक्षण, बाच्छो जन्मिए सडकमा

उपत्यकामा पशु पाल्ने शैली : बाच्छी जन्मिए संरक्षण, बाच्छो जन्मिए सडकमा

नेपालखबर
बैशाख १, २०७७ सोमबार १:३६,

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला उपत्यकामा छाडा छोडिएका गाई बाच्छालाई आश्रय दिने अभियान शुरु भएको छ।

पशुपति क्षेत्र विकास कोष, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका–८ स्थित गोठाटारको वाग्मती किनारको चौरमा संरक्षित गाई बाच्छा संरक्षण अभियानलगायत संस्थाको सहकार्यमा गाई बाच्छा संरक्षण गर्न लागिएको हो।

चैत २६ गतेदेखि शुरु भएको उपत्यकाका सडकमा छोडिएका गाई बाच्छा संरक्षण अभियानका क्रममा ७२ वटा गाईको उद्धार गरी संरक्षण गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

संरक्षण स्थलमा पहिले नै ७० वटा गाई बाच्छा थिए । उपत्यकाकै नगर क्षेत्रमा पालिएका गाई फार्ममा गाईको बाच्छा जन्मिए केही दिनमा पशुपति वरपरको क्षेत्रमा लगी छोड्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी उत्तम पुडासैनीले बताए।

पशुपालकले बाच्छी जन्मिए राख्ने बाच्छा जन्मिए केही महिनामै पशुपति एवं वाग्मती किनारमा छोडिन्छन्। यसबाट सडक दुर्घटनाका समस्यासमेत बढ्ने गरेको छ।

संविधानमा गाईलाई राष्ट्रिय जनावरका रूपमा उल्लेख गरिएको छ। वैदिक सनातन हिन्दू धर्मअनुसार गाईलाई गौमाताका रूपमा पुजिन्छ।

गाईको यही महत्वका कारण कोष र अभियानलगायत संस्थाको सहकार्यमा छाडा छोडी सडकमा अलपत्र गाई बाच्छा उद्धार अभियान शुरु भएको हो।

बन्दाबन्दी सकिएपछि यहाँ जम्मा भएका गाई बाच्छालाई गोठाटारिस्थत कोषको जग्गामा व्यवस्थित गरिने मौखिक सहमतिसमेत भएको छ। उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग पनि बन्दाबन्दी सकिएपछि छलफल गरेर छाडा गाई बाच्छा व्यवस्थित गर्न दबाब दिइने तयारी भइरहेको छ।

स्थानीय तहले आफ्नो क्षेत्रका गाई बाच्छा दर्ता गर्ने व्यवस्था गरेर छाडा छोडेको पाएमा सेवा सुविधा कटौती गर्नुपर्ने माग अभियानकर्मीले गरेका छन्। बन्दाबन्दीमा सडकमा छोडिएका छाडा गाई बाच्छाले खान नपाएका कारण पनि यस्तो अभियान शुरु गरिएको हो।

गत वर्ष जेठ १ गतेदेखि यहाँ गाई बाच्छा संरक्षण अभियान शुरु गरिएको हो। अभियानमा हाल आधा दर्जन अभियानकर्मी स्वयंसेवीरूपमा खट्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .