ad ad

समाज


राष्ट्रसंघका प्रमुख गुटेरेस भन्छन्ः सबै एक भएर कोरोनाविरुद्ध लड्नुपर्छ

राष्ट्रसंघका प्रमुख गुटेरेस भन्छन्ः सबै एक भएर कोरोनाविरुद्ध लड्नुपर्छ

नेपालखबर
चैत २९, २०७६ शनिबार १२:४४,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिँदा चीनको विदेशमन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले चीनमा कोरोना फैल्याएको अरोप लगाएका थिए।

हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको आग्रहपछि कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्न छाडेका छन्।

यद्यपी केही समय अगाडि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको वैठकमा अमेरिकाले परिषदको प्रतिवेदनमा ‘वुहान भाइरस’ शब्द राखिनुपर्ने माग गरेको थियो। कोरोना भाइरस चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलोपटक देखिएको थियो।

तर सुरक्षा परिषदका अन्य सदस्यले अमेरिकी प्रस्तावलाई अस्वीकार गरेका थिए।

सुरक्षा परिषदमा यसअघि अमेरिकाका प्रस्तावहरु सजिलै स्वीकृत हुन्थे। तर कोरोना भाइरसलाई वुहान भाइरस भन्न राष्ट्रसंघको सुरक्षा परिषद असमर्थ देखिएको छ।

कोरोना भाइरसलाई क्षेत्रीय र जातीय नाम दिन नहुने विश्वका सबै देशले बताइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका कोरोना भाइरस रोक्न सबैभन्दा सक्षम देश भएको बताउने गर्दथे।

तर यतिबेला अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित बनेको छ। हालसम्म अमेरिकामा ५ लाख ३१ हजार ७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ १८ हजार ७६१ को मृत्यु भइसकेको छ।

चीनमा भने ८१ हजार ९५३ जना कोरोना संक्रमित छन्। त्यहाँ ३३ सय ३९ जनाको मृत्यु भएको छ।

संक्रमित र मृतक दर अमेरिकाभन्दा ज्यादै न्युन भएपछि अमेरिकाले चीनको तथ्यांकमा प्रश्न समेत गर्न थालेको छ।

कोरोनाको उत्पत्तिस्थल चीनले भने विश्वका कयौं मुलुकहरुलाई कोरोना प्रकोपसँग जुध्न स्वास्थ्य सामग्री सहयोग गर्न थालेको छ। चीनले अमेरिकालाई पनि भेन्टिलेटर तथा मास्क सहयोग गरेको छ।

चीनले पछिल्लो समय स्वास्थ्य सामग्री निर्यात गरेर राम्रो व्यापार गरिरहेको हो।

यसबीचमा अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई चीन केन्द्रित भएको भनेर आरोप लगाएको थियो। तर विश्व स्वास्थ्य संगठनले अमेरिकी आरोपको खण्डन गरिसकेको छ।

डब्लूएचओले अमेरिकालाई कोरोना भाइरसको विषय राजनीतिक नबनाउन आग्रह गर्दै आफू साझा संस्था भएको बताएको थियो।

डब्लूएचओले चीनले कोरोना नियन्त्रणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आएको छ। चीनले पनि अमेरिकाविरुद्ध डब्लूएचओको प्रतिरक्षा गर्दै आएको छ। यता संयुक्त राष्ट्रसंघले पनि चिनियाँ कार्यको खुलेर तारिफ गरेको छ।

दिनदिनै अमेरिकामा कोरोना संक्रमित बढ्दै गएको समयमा चीनका डाक्टरहरुले अमेरिकी डाक्टरहरुलाई आफ्नो अनुभव सुनाउन थालेका छन्। चिनियाँ कोरोना अनुभव अमेरिकाका लागि पाठ हुने अमेरिकी चिकित्सकहरु बताउँछन्।

UN SG Antonio Guterres Appeals for a Year of Peace in 2017 | UNSCOL

एन्टोनियो गुटेरेस

यसैहप्ताको बिहिबार पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको वैठक बसेको थियो। सो क्रममा राष्ट्रसंघमा प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरसको विषयमा सुरक्षा परिषदका सदस्य राष्ट्र एक हुनुपर्नेमा जोड दिएका थिए।

यसअघिको वैठकमा अमेरिकाले वुहान भाइरस शब्द परिषदको प्रतिवेदनमा राखिनुपर्ने प्रस्ताव गरेको थियो।

गुटेरेसले भिडियो सम्मेलनका क्रममा बिहीबार भनेका थिए,‘जटिल समयमा हामीले एक भएर काम गरे यसले राम्रो परिणाम दिनेछ।’

उनले सबै मुलुक एक भएर कोरोना नियन्त्रण अभियानमा लाग्नुपर्ने बताएका थिए।

सो क्रममा अमेरिकाले चीनको तथ्यांक पारदर्शी हुनेपर्ने जोड दिएको थियो। चीनले भने आफूले विश्वलाई कोरोना भाइरसविरुद्धको अभियानमा सहयोग गर्न तयार भएको बताएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .